-Dilli Ram Timilsina

४६ पछि नेपालको बिकाशलाइ झटारो:स्याललाइ न्याना कपडा र बाँदर अधिकार

Hollywood Khabar January 05,2020 Comments

डिल्लीराम तिमिल्सिना/क्यानाडा/१/६/२०

पुष माघ महिनाको थुर-थुर काम्ने जाडो छ। एउटा विकासे बिदेशी गरिब देशको लागि बिकासको नाम जप्दै काठमाडौँ छिरेको छ। उसलाई काठमाडौँ भन्दा बाहिर गाउँमा गएर त्यहाँको बस्तुस्थिति बुझ्नको लागि एक युवाको साथ चाहिएको थियो।

एक त प्राय हँसमुख नेपाली त्यहि माथि गोरोछाला देखेपछि एक बेरोजगार युवा उसको पछि लाग्दै बोल्न आइपुग्छ। बेरोजगार युवाले आफुले पढेका छेउ देखि टुप्पो सम्मका कुराको बेलिबिस्तार गर्दै, आफु पनि सच्चा बिकासबादी हो भन्ने दलिल पेश गर्छ। बिदेसी मनुवा फुरुङ्ग हुँदै त्यो बेरोजगार युवाको पछि लाग्छ।

युवाले, गोरेलाई अरु गाउँमा भन्दा आफ्नै गाउँमा लैजाने सोच्छ।घरमा फोन गरेर उसले आफुले एउटा बिदेसी पाहुना लिएर आउंदै गरेको घर सफा राख्न, एउटा राम्रो फूलको माला उनेर राख्न भन्छ ।युवा जब गोरेलाई लिएर घरमा पुग्यो, घरमा स्वागत भयो, मिठो मसिनो खुवाए, सुत्ने बेलामा युवाले आफु त्यो गाउँको एक मात्र पढे लेखेको युवा समाज सेवी भएको दावा पेश गर्यो।आफु बाहेक गाउँका मानिसहरुलाई केहि थाहा नभएको दृष्टान्त पेश गर्दै बिस्वस्त पारे पछि सुत्ने तयारी भयो।

जाडोको समय, सामान्य घर र सामान्य ओछ्यान गाउँको बिशेसता भएको भन्दै गोरेलाई एउटा चौपयामा सुत्न दियो। गोरेलाई रातभर निन्द्रा पर्दैन, थोरै जाडो, थोरै विस्मय, अनि घरदेखि पर कराएको एउटा सामुहिक आहू, ह्वान, उन्हु, हुइन्या गोरेदाईलाइ चासो लाग्यो। गोरेले नजिकै सुतेको युवालाई सोधे, हे म्यान आर यु अवेकन? युवा जुर्मुराएर बोल्यो एस सर। गोरे दाइले सोधे होइन, यो रातमा नसुतेर ति जनावर किन रोएका?

शुरुमा अक्मकाएको युवाले केहि सोच्यो, के भन्ने होला? उसले परिस्थितिको फाइदा उठाउनु पर्छ केटा हो भन्ने समाजशास्त्र पढाउने गुरुको भनाइ सम्झियो। युवालाई उपाय फुर्यो, अस्तिदेखि कुइरेलाइ कुन उपाय रचेर बोरामा हाल्ने होला भनेर चिन्तित युवालाई राम्रो मसला मिल्यो। यु नो सर, व्हाई डोज ज्याकल आर विपिंग? कुइरेले अनबिग्यता जनायो। हेर्नुस महासय हामी घरमा छौँ, हामीसंग, कपडा, जकेट, टोपी, आगो, खानेकुरा सबै हुँदा त थरथर कामेर सुतेका छौं। बीचरा ति स्यालहरु यस्तो जाडोमा नरोएर के हास्न सक्लान त ? कुइरे ट्वाँ पर्यो ।

कुइरेको अनुहारको भाव पढ्दै युवाले गफ मार्दै गयो। कुइरेलाइ पनि नयाँ ज्ञान भयो ओहो यो त अनिमल राइटको लागि गजबको प्रोपोजल बन्ला। यस्तो राम्रो बिषयमा प्रोपोजल हाल्यो भनेत कति पैसा उठ्ला ?

कुइरेदाइले अनाडि भएर सोधे, हामी के गर्न सक्छौं त यी जनावरको लागि ? युवाले भन्यो जनावरको लागि न्यानो कपडा भन्ने प्रोजेक्ट चलाउनु पर्छ ताकि यी जनावरहरु जाडोले नरोउन। त्यो रात बिदेसी पाहुना र स्वदेसी युवाको उत्तम रात बन्यो किनकि दुवै जना लगभग बेरोजगार थिए फरक मात्र थियो देश, काल र परिस्थितिको।

कुइरेले प्रोपोजल्को अजेण्डा भेट्यो भने युवाले प्रोजेक्ट।बिहानपख स्थानीय चिया पसलमा चिया खाएर दुवै जना दङ्ग र फुरुङ्ग हुँदै साइट भिजिट भन्दै नजिकैको झाडी तर्फ निस्किए। स्यालको संख्या, स्थल र स्यालका केहि भेटिएका कंकाल,स्यालको आवाज रेकोर्ड गरेर कुइरेले प्रोपोजल्को खाका कोर्यो र युवालाई भन्यो, ल म उताबाट पैसा पठाउछु तिमीले यता जनावरको (स्याल) हकहितको लागि काम गर्नु।

कुइरेदाइले गाउँमा अरुसंग बोल्ने, सोध्ने र बुझ्ने चेस्टा गरेनन किनकि साथी युवाले गाउँमा उसको भाषा बोल्ने कोहि छैनन् भनिसकेको थियो, फेरी अरुसंग बोल्दा अनेक झमेला निस्कियो भने हातमा लागेको यस्तो राम्रो विकासे मसला बिग्रिएला भन्ने चिन्ता पनि लाग्यो। यसरि दुइ-पक्षिय बिकाशबादी सहमति पछि कुइरे कतीथ धनि राष्ट्र फर्कियो भने नेपाली युवा पनि कागजी प्रक्रियामा धनि आफ्नै भूमिमा अगाडी बढ्यो।

अहिले युवाको दैनिकी, उठबस र खानपान फेरिएको छ।देशमा हुने राजनैतिक परिबर्तनले पनि उसलाई खासै असर पर्दैन किनकि परिस्थिति हेरेर चुनाबमा उठ्ने हरेक उमेदवारलाई मुख बुजो लगाउने कनिका रुपमा चन्दा दिने प्रचलनमा आफुलाई समायोजन गरेकैछ। उसको गाउँको घर भत्काएर नयाँ चिटिक्क बनाएकोछ, घरमा पाहुना सुत्ने आरामदायी कोठा बनेको छ।

सुनिन्छ, युवाले राजधानीमा पनि घंडेरी जोडेको छ। युवा प्राय: काठमाडौँमा बस्छ, कहिले काँही उ फोटा खिच्न गाउँ जान्छ।स्यालको लागि किनेको ब्लान्केट, स्लीपिंग

ब्यागका फोटाहरु उनीहरुको वोएब साइटमा ज्याकल प्रोजेक्टमा शिर्षकमा बग्रेल्ती भेटिन्छन। केस स्टडी भन्दै स्याल मरेको, स्यालले कुखुरा चोरेको,स्याल बचाउन भनेर बनाएको भन्दै आफ्नै घरको वा बन्दै गरेका घर गोठ को फोटो खिच्न पछि नपरेका दृस्यहरु र बाबु आमा, भाई बहिनीका कपडालाइ स्यालको न्यानोको लागि भन्दै फोटोसप गरेका फोटा उसका आधुनिक कम्प्युटरमा भेटिन्छन।

गाउँलेहरु कोहि कुइरेको पैसाले चुलिएको भन्छन त कोइ खाए खाओस न बिदेसिको पैसा, हाम्रो बाउको के जान्छ, खुबी थियो खायो भन्ने गरेका छन्। आफ्ना छोराले प्रगति गरेको देखेर उसका बाबु आमा दङ्ग छन्। बेला बेलामा गाउँमा हुने विभिन्न सभा समारोहमा उसले गतिलो सहयोग पनि गर्छ, खादा,माला,ब्याज अनि प्रमाणपत्र उ सुत्ने कोठामा सजिएका छन्।

अहिले गाउँमा प्रोजेक्ट खोलेर आफुपनि माथ्लाघरे दाइ जस्तै धनि बन्ने भन्दै केहि पढेका युबाहरु झोले झुत्रे बिदेसीलाई आफ्नो घरमा स्वागत गर्न पछि पर्दैनन् तर बिचराहरु पदचाप भेट्न नसक्दा निरास छन् तर प्रयास भने जारी राखेका छन्।

बिकासबादी युवा बेला बेलामा काठमाडौँका तारे होटेलहरुमा हुने सेमिनारमा पनि भाग लिन्छ स्याल अधिकारकर्मीको रुपमा मौका मिल्यो भने पेपर प्रिजेन्ट पनि गर्दिन्छ, नत्र बिषयबस्तुमा बोल्न पछि पर्दैन र भन्छ, काठमाडौँ मात्र नेपाल होइन आफुलाई मात्र गाउँको बस्तुगत यथार्थ थाहा छ भन्न पछि पर्दैन, उपस्थित मनुवाहरू ताली ठोक्छन किनकि उनीहरुपनि एउटा न एउटा बादीको लोगो बोकेर बसेका जो छन्। आज युवा दङ्ग छ अनि केहि संकोचमा पनि, उसको कुइरे डोनोर कामको अनुगमन र मुल्यांकन गर्न नेपाल आएको छ, केहि वर्ष पहिलेको झुपडीजस्तो उसको घर आज, स्याल प्रोजेक्टले प्रभावले लगभग गाउँको महल बनेको छ ।

कुइरेलाइ यो पाली उसले रेड लेबल हुस्किले स्वागत गरेको छ, भने सांस्कृतिक नाच भन्दै गाउँका केहि युवा युवतीलाई पैसा दिएर साँझमा कुइरे संगै नाच्न पनि लगाएको थियो। सुत्ने खाट/ बिस्तारा आरामदायी छन्। केहि वर्ष पहिलेको धेरै स्याल कराउने बगर अनि झाडी अहिले लगभग मासिएको छ । स्याल कराउने झाडी रहेमा फेरी स्याल रुने र आफ्नो प्रोजेक्ट फेल हुने डरले युवाले नजिकैको बगर खरिद गरेर बालुवा र गिट्टी उधोग चलाउन भाडामा दिएको छ।

यो ठाउँका स्यालहरु चुप लगाउनको लागि धेरैजसो स्यालको बासस्थान मास्ने र स्याल खुसि भएर सुतेको देखाउन केहि महिना देखि उ झाडी फडान र स्याल भगाऊ अभियानमा थियो, गाउँमा रहेका केहि भुस्याहा कुकुरलाई कुखुराको हड्डी खुवाएर भए पनि उसले स्याल चुप लगाउने’ र प्रोजेक्ट सफल पर्ने काम तिब्र पारेको थियो रे । सकभर रातमा स्याल नकराउँन भन्ने उसको ध्यय छ । किनकि यो पाइलट प्रोजेक्ट सफल भएको र स्याल आराम संग सुतेकोले आवाज नआएको भन्ने पार्न उ ब्यस्त थियो, केहि दिन अघि सम्म ।

तैपनि बिहानीपख केहि स्याल कराएको आवाजले कुइरे झस्कियो।उसलाई आफ्नो प्रोजेक्ट असफल भएको हो भनेर डर लागेर युवालाई सोध्यो। स्याल भन्दा चतुर युवाले बोल्यो यु नो सर हवाई सम अफ डेम स्टिल विपिंग इभन इफ आइ डिस्स्ट्रिबुटेड

स्लीपिंग ब्याग एण्ड ब्लान्केट्स, बिकाज दे हाभ न्यु बेबीज यु नो, पोपुलेशन ग्रोथ। ओह या, कुइरेले बोल्यो, दिस टाइम वि नीड टु एक्स्टेण्ड दि नम्बर अफ बेनेफिसरिज। एस सर, एस सर। युवा खुसि भयो।

भोलिपल्ट कुइरे आफ्नो प्रोजेक्ट ९० % सफल भएको रिपोर्ट तयार पर्दै आफ्नो देश फर्कने तयारीमा लाग्यो। युवाले बिदाइ गर्ने समयमा भन्यो, महासय अब यो स्याल प्रोजेक्ट केहि बर्षमा रोक्नुपर्छ, किन ? गोरे दाइ बोले, युवाले बेलिबिस्तार लगाउंदै भन्यो हाम्रो प्रोजेक्टको प्रभावले अहिले गाउँमा स्याल रुदैनन, उनीहरुको बिकाश भैसक्यो ? अब हामीले हाम्रो आगामी प्रोजेक्ट केहि समय बाँदर अधिकारको लागि लाग्नुपर्ने भाको छ। म बाँदर बिकासको मंकी प्रोजेक्ट र अधिकारको बृस्तित योजना केहि महिनामा महासयलाई पठाउने छु। वाउ स्मार्ट गाइ भन्दै गोरेदाई स्याल प्रोजेक्टको प्रगति विवरण डोनर एजेन्सीलाई बुझाउन र नया मंकी प्रोजेक्टको कथा बनाउन आफ्नो राष्ट्र तर्फ लागे।

यता पशु अधिकार कर्मी बरिस्ठ समाज सेवी नेपाली युवा आफु स्याल प्रोजेक्टमा माहिर निस्केको र अब मंकी प्रोजेक्ट कसरी सफल बनाउने भन्दै बाँदर लोभ्याउने मिति गुज्रेका सहरका बिस्कुट, र पाउरोटी किनेर फोटो खिच्न र भिडिओ बनाउन बाँदरले दुख दिएका भनिएका गाउँमा डुल्दै छ ।

के गर्नु एता युवा प्रोजेक्ट लागु गर्दैछ उता गोरेदाई प्रोपोजल लेख्दै छन्। आखिर बिकाश गर्नु नै पर्यो होइन र हजुर?