-खानेपानी मन्त्रालयको वार्षिक समीक्षा बैठक सम्पन्न, मन्त्रालयको भौतिक प्रगति ८० प्रतिशत

खानेपानी मन्त्रालयको वार्षिक समीक्षा बैठक सम्पन्न, मन्त्रालयको भौतिक प्रगति ८० प्रतिशत

Hollywood Khabar August 01,2020 Comments

खानेपानी मन्त्रालय, काठमाडौं/८/२/२०

खानेपानी मन्त्रालय र मन्त्रालय मातहत रहेका विभिन्न निकायहरुले आर्थिक वर्ष २०७६-०७७ मा गरेका भौतिक तथा वित्तीय प्रगतिका बारे तेस्रो चौमासिक एवं वार्षिक समीक्षा बैठक सम्पन्न भएको छ ।

खानेपानी मन्त्री बिना मगरको अध्यक्षतामा सिंहदरबारमा आइतबार बसेको समीक्षा बैठकमा मन्त्रालय मातहत रहेका विभिन्न निकायहरुले गरेका भौतिक र वित्तीय प्रगतिका बारे जानकारी गराइएको थियो । बैठकमा राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रतिनिधिहरु समेत सहभागी थिए ।

समीक्षा बैठकमा खानेपानी मन्त्रालयको समग्र भौतिक प्रगति ८० प्रतिशत रहेको जानकारी सहसचिव अरुण सिंखडाले गराउनुभयो । मन्त्रालय अन्तर्गत गत आर्थिक वर्षमा १४ वटा आयोजना सम्पन्न भई १ लाख ९० हजार २ सय ९२ जनसंख्या उच्च तथा मध्यमस्तरको खानेपानी सेवाबाट लाभान्वित भएको सहसचिव सिंखडाले बताउनुभयो । त्यस्तै गत आर्थिक वर्षमा २ सय ४२ आयोजना सम्पन्न भई १ लाख ९४ हजार ४२३ जनसंख्या आधारभूतस्तरको खानेपानी सेवाबाट लाभान्वित भएको बताइएको छ ।

खानेपानी तथा ढल व्यवस्थापन विभागको आ. व. २०७६-०७७ मा समग्र भौतिक प्रगति ७३ र वित्तीय प्रगति ७८ प्रतिशत रहेको जानकारी गराईयो। खानेपानी विभाग अन्तर्गत रहेका खानेपानी सेवा विस्तार तथा पुनस्र्थापना कार्यक्रमको भौतिक प्रगति ८७ प्रतिशत, खानेपानी गुणस्तर सुधार कार्यक्रमको प्रगति ८९ प्रतिशत, तेस्रो साना सहरी खानेपानी आयोजनाको प्रगति ७६ प्रतिशत र सह लगानी खानेपानी तथा सरसफाइ आयोजनाको प्रगति ७३ प्रतिशत रहेको जानकारी महानिर्देशक सुनिलकुमार दासले दिनुभयो ।

त्यसैगरी राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको भौतिक प्रगति ९२ दशमलब ८८ प्रतिशत रहेको बैठकमा जानकारी गराईयो । मेलम्ची आयोजनाले गएको आर्थिक वर्षको अवधिमा हेडवक्र्स डाईभर्सन सुरुङ सञ्चालन गरिएको र समग्र हेडवक्र्सको काम ७० प्रतिशत सकिएको जनाएको छ ।

त्यस्तै गत आर्थिक वर्षको अवधिमा सबै अडिट तथा सुन्दरीजल पोर्टलमा समेत गरी ६ वटा गेट जडानको कार्य सम्पन्न भएको र सुन्दरीजल पोर्टलबाट पानी प्रशोधन केन्द्र सम्मको सप्लाई पाईप तथा बाग्मती नदी सम्मको वास आउट पाईप जडान कार्य सम्पन्न भएको आयोजनाका कार्यकारी निर्देशक तिरेश प्रसाद खत्रीले बताउनुभयो ।

आ. व. २०७६÷०७७ मा आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी) ले भौतिक प्रगति ६८ प्रतिशत हासिल गरेको बैठकमा जानकारी दिईयो । त्यस्तै काठमाडौं उपत्यका खानेपानी सुधार आयोजनाको भौतिक प्रगति ८२ प्रतिशत रहेको बताईयो ।

आर्थिक वर्ष २०७६÷०७७ मा ५४ वटा क्रमागत सहलगानीका आयोजनाहरु मध्ये ६ वटा सम्पन्न भई ४६ हजार ५ सय ३४ जनसंख्या लाभान्वित भएको, तेस्रो साना सहरी खानेपानी आयोजना अन्तर्गत २ वटा आयोजनाहरु सम्पन्न भई ५० हजार ५ सय ७० जनसंख्या लाभान्वित भएको र खानेपानी गुणस्तर सुधार कार्यक्रम अन्तर्गत निर्माणाधीन ६१ वटा आयोजनाहरुमध्ये ४ वटा सम्पन्न भई करिब ६१ हजार ७ सय ४३ जनसंख्या लाभान्वित भएको जानकारी मन्त्रालयका सहसचिव सिंखडाले दिनुभयो । त्यस्तै जलवायु अनुकुलित बृहत खानेपानी आयोजना अन्तर्गत २ वटा आयोजना सम्पन्न भई ३१ हजार ४ सय ४५ जनसंख्या लाभान्वित भएको खानेपानी विभागको भनाई छ ।

काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको भौतिक प्रगति ९८ प्रतिशत र वित्तीय प्रगति ९९ प्रतिशत रहेको छ । नेपाल खानेपानी संस्थानको भौतिक प्रगति ७९ प्रतिशत रहेको जानकारी गराईयो ।

मन्त्रालय मातहत रहेको ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति अन्तर्गत गत आर्थिक वर्षमा २ सय ३८ वटा आयोजना सम्पन्न भई एक लाख ६८ हजार ७ सय ४ जनसंख्या लाभान्वित भएको कार्यकारी निर्देशक चोकप्रसाद धितालले बताउनुभयो ।

समीक्षा बैठकलाई सम्बोधन गर्दै खानेपानी मन्त्री मगरले खानेपानी तथा सरसफाईको क्षेत्रमा दीर्घकालीन रोड म्याप तयार गरेर मन्त्रालय अघि बढेको बताउनुभयो । गत आर्थिक वर्षमा हामीले महत्वपूर्ण उपलब्धिहरु हासिल ग-यौं । उहाँले भन्नुभयो, यो चालु आर्थिक वर्ष हाम्रा लागि चुनौति र अवसरको हुनेछ । मन्त्री मगरले भन्नुभयो, मन्त्रालयको भौतिक प्रगति राम्रै छ । हामीले लक्ष्य पुरा गर्न अझै मेहनत गर्नुपर्ने हुन्छ । यसका लागि स्थानीय, प्रदेश र संघीय सरकारबीच समन्वय गर्नु जरुरी छ ।

बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य डा. दिलबहादुर गुरुङले पन्ध्रौं योजनाका लक्ष्यहरु हासिल गर्ने दिशामा अघि बढ्न मन्त्रालयका कर्मचारी एवं विभागीय प्रमुखहरुलाई निर्देशन दिनुभयो ।

खानेपानी मन्त्रालयका सचिव माधव बेल्बासेले गत आर्थिक वर्षमा राम्रो उपलब्धि हासिल गरेको बताउनुभयो । उहाँले सरकारले लिएको एक घर एक धाराको नीतिलाई कार्यान्वयन गर्न कटिबद्ध भएर मन्त्रालय अघि बढेको स्पष्ट पार्नुभयो ।