-फोटो:अध्यक्ष कुमार पन्तजीको फेसबुकबाट

NRNA:अध्यक्ष पन्तको आफ्नो २० कार्ययोजना छाडेर सम्पन्न महानगरमा चर्पी बनाउने योजना र म्यादीको ताली

Hollywood Khabar December 28,2019 Comments

कृष्ण के सी/अमेरिका/१२/२९/१९

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय परिषद (एनआरएनए आइसीसी) का अध्यक्ष कुमार पन्तले आफैले घोषणा गरेका २० कार्ययोजना भुलेर श्रोतले सम्पन्न काठमाण्डौ महानगरमा चर्पी बनाउने कुरा बैठकबाट पास गराएका छन्। अनि त्यो बैठकमा उपस्थित संघको श्रोत, प्रोजेक्टको उपादेयता, आवश्यकता र अन्य कुराको जानकारी नै नभएका बैठक सदस्यहरुले तालि बजाएका छन्।

एनआरएनएको अक्टुवर १७, २०१९ मा भएको निर्वाचनबाट कुमार पन्तको अध्यक्षतामा नयाँ नेतृत्व निर्वाचित भएको हो। यो पंक्तिकार अध्यक्ष पन्तसँग लामो समय देखि उनको निर्वाचन प्रचार, नीति-बिधि निर्माण र अन्य प्रक्रियामा समेत सहभागी थियो। यति मात्र होइन म आफू काठमाण्डौमा भएको सो निर्वाचनमा अध्यक्ष पन्तको नेटवर्क सदस्यहरुको चुनावी मुख्यालयमा काम गर्ने मध्ये एक व्यक्ति पनि हो। यो अर्थमा अध्यक्ष पन्तसँग मेरो नजिकको संबन्ध थियो र अझै पनि रहनेछ।

त्यसैले उनका गलत कुराको बिरोध र असल कुराको प्रशंसा गर्नु, आवश्यकता पर्दा राय-सल्लाह दिनु पनि मेरो कर्तब्य हो। तर लोभ-लाभ, तोक-आदेश अनि दुला-दराजबाट आएका फेसबुके समर्थक जत्था अर्थात संघमा म्यादीमा भर्ती भएका प्रहरीहरुको बुद्धि र विवेकले उनको नेतृत्वलाइ सुरक्षा दिने हो या कुन भड्खारोमा जाक्ने हो त्यो भने उनैले जानुन।

अध्यक्ष कुमार पन्तले एनआरएनए आइसीसीको नेतृत्व लिएको पनि २ महिना १५ दिन जति भयो। २४ महिनाको कार्यकालमा अब बाँकी २१ महिना छ। अध्यक्ष पन्तले चुनावका बखत प्रतिज्ञा गरेका २० कार्ययोजनाको सफल योजना गरेर कार्यान्वयन गर्नु नै उनको नेतृत्वको कर्तब्य हो। यसबाहेक दैनिक प्रशासन र पूर्व प्रोजेक्टहरुको सम्पन्न गर्नु पर्ने जिम्मेवारी पनि छन्। संघ र सिंगो गैरआवासीय नेपालीहरुका चलेका र हुँदै गरेका मुद्धाबारे काम गर्नु अर्को ठूलो जिम्मेवारी हो। यी कुरा हामी जस्ता सर्बसाधारण, ज्ञान र धन नभएका सोझा-सादा व्यक्तिहरुको बुझाइ हो।

तर त्यसै कुरालाई हामीले हलाल गरेको मासुको लादी पनि मिठो भन्ने नव-नियुक्त दुलाहा-दुलहीहरुले अध्यक्ष पन्तको बिषय र योजना, संघका कुरा, उनको चुनावी घोषणा, वर्तमान आवश्यकता जस्ता कुरा बुय्झ्दैनन। उनीहरुलाई त संस्थाको सामान्य मर्म पनि थाहा छैन। अरु त कुरै छाडौं आफ्नो मनोनित पद र संस्थाको नाम पनि फेसबुकमा सहि लेखेका छैनन्, उनीहरुले के गर्लान त ? यसबाट अध्यक्ष पन्त मात्र होइन भविष्यमा नेतृत्वमा जान चाहना गर्ने सबैको विश्वासमा ह्रास ल्याएको छ। उनीहरुप्रतिको विश्वासमा कालो बदलाको घेरा लागेको छ।

अब उनले निर्वाचनका बखत घोषणा गरेका २० कार्ययोजना छाडेर काठमाण्डौ जस्तो सबै श्रोत र अर्थले सम्पन्न महानगरमा चर्पी बनाउने प्रोजेक्ट किन निर्णय गराए त्यो कुरा रहश्यको छ। चर्पीको महत्व सबैले बुझेका छन्। त्यसको आवश्यकता हामीले भन्दा धेरै काठ्माण्डौका वासिन्दाले बुझेका छन्। जब उनीहरुले आफ्नै नगरपिता र नगरमातासंग आफ्नो कुरा राख्दैनन् भने हाम्रा अध्यक्ष पन्तलाई चर्पी मोह किन ?

उसै पनि संघ करोडौंमा घाटामा चलेको छ भनिएको छ। आन्तरिक रुपमा आर्थिक हिना-मिना भएको गन्ध आएको छ। त्यो स्थितिमा श्रोत न साधन एक्कै पटक योजना र कतै नभएको चर्पी नै बनाउनु पर्ने कुरा कताबाट आयो ? यहानेर अर्को प्रश्न उठ्छ, यदि चर्पी नै बनाउनु थियो भने काठ्माण्डौमा नै किन ? नेपालका धेरै जिल्लाका हाइस्कूल र उच्चमाविमा छात्राहरुको लागि छुट्टै चर्पी छैन। उनीहरु पिरियड भएको बेला चर्पी र स्यानिटरी प्याड नहुने जस्ता कारणले स्कूलमा नै नगएको कुरा हाम्रा सामू प्रष्ट छन। त्यतातिर अध्यक्ष पन्तको ध्यान किन पुगेन ? अथवा मनोनित म्यादी प्रहरीहरुले किन सुझाएनन ?

ल चर्पी पनि बनाइने भयो रे त्यो पनि मानियो। तर यसको आर्थिक श्रोत के हो ? उसै पनि टाट पल्टेको संघको खाता अनि धनाढ्य महानगरमा नै चर्पी किन बनाउने? लाप्राकका घरमा चर्पी नहुँदा आफै उपाध्यक्ष हुँदा नबोलेको व्यक्तिले अहिले आएर काठ्माण्डौमा चर्पी बनाउने कुरा प्रस्ताव गर्दा किन कसैले पनि एक प्रश्न गर्न किन नसकेका ?

कोषाध्यक्ष महेश श्रेष्ठले श्रोतको ग्यारेन्टी बिना कुनै पनि नयाँ प्रोजेक्ट नगर्ने घोषणा यहि पंक्तिकारसंग गरेका मात्र होइन घोषणामा नै बाताएका थिए। उनि कता हराए ? त्यति धेरै कार्यकारी सचिवालका पधाधिकारी, नव भर्ति गरिएका ज्ञात-अज्ञात विभिन्न बैथानिक र विशिष्ट पदाशिनहरु समेत गरेर करिव १०० को संख्यामा रहेका अन्तराष्ट्रिय परिषद सदस्य, ८०/८१ वटा एनसीसी, संघका कर्मचारी, संचारकर्मी लगायत नेपालीहरुको विश्व समुदाय किन मौन ?

हाम्रो नेपाली समुदायमा एउटा गतल सोच र प्राक्टिस छ। आफूले सघाएका व्यक्तिको गलत कुराको पनि समर्थन गर्ने र अरुले गरेको सहि कुराको पनि बिरोध गर्ने। हाम्राको त पादै पनि बास्नादार भन्ने सोच र हामीले हलाल गरेका गुट र समर्थकहरुको मासु मात्र होइन लादी पनि मिठो भन्ने चलन छ। यसैले गर्दा न नेपाल देश माथि गयो न अन्य समुदाय नै। यहि कारणले गर्दा यो संघ पनि विस्तारै दल-दलमा फस्दै गएको छ। अनि संस्थापक अध्यक्ष डा उपेन्द्र महतो एउटा मात्र होइन त्यो लहर बढ्दै जानेछ।

तर म आफू एउटा गौरवशाली अमेरिकन नागरिक भएको हुनाले अमेरिकी केहि फरक अभिष्ट राख्दछु। राजनीतिमा फ्लोर क्रस गरेर कारण सहित संसद र सिनेटमा समेत मत दिने सिनेटर, कंग्रेस म्यान तथा ओम्यानहरुको राजनीति नबुझे पनि अलि-अलि हेरेको व्यक्ति हुँ। मलाइ सहिलाइ सहि र गलतलाइ गलत भन्न ठीक लाग्छ। आफूले सघाएको भन्दैमा अध्यक्ष पन्तको पादै बास्नादार र उनले गरेका हलाल मासु मात्र होइन लादी पनि मिठो भनेर चाटुकारी गर्न सक्दिन। यस्तो त हिम्मत नहुने दुला-दाराजबाट आउने ज्ञात-अज्ञातहरुको फेसबुके चाटुकारीता हो। एउटा स्वाभिमानी व्यक्तिको हृदयले यसो गर्न कदापी दिंदैन।

यहाँ तपाइँहरुको स्मरण गराउन उनका २० कार्ययोजना फेरि पनि पोष्ट गरिएको छ:

१.दश (१०) अर्बको सामूहिक लगानी कोष

२.विज्ञ सम्मेलनका निष्कर्ष कार्यान्वयन र निरन्तरता

३.नेपालमा पर्यटन क्षेत्रमा लगानी, नेपाल भ्रमण वर्ष २०२०

४.भिजन २०२० ले कल्पना गरेको एनआरएनए फाउन्ण्डेशन

५.वैदेशिक रोजगारीमा श्वेतपत्र र नेपाल सरकारसँगको समन्वय

६.वैदेशिक रोजगारीमा जानुअघि नै सीपयुक्त बनाई अन्तर्राष्ट्रिय श्रमबजारमा नेपाली जनशक्तिको सेवा सुविधा र मर्यादा अभिवृद्धिका प्रभावकारी कार्यक्रम नेपाल सरकारसँगको समन्वयमा कार्यान्वयन

७. विदेशमा नेपालीको उद्धार र राहतका लागि वैदेशिक रोजगार राहत कोष वृद्धि

८. गैरआवासीय नेपाली नागरिकता

९. विदेशमा रहेका नेपालीको मतदानको अधिकार सम्बन्धी व्यवस्था

१०. गैरआवासीय नेपाली संघमा आबद्ध हुन न्यूनतम शुल्क वा निःशुल्क सदस्यता पञ्जीकरण

११. नयाँ पुस्ताका गैरआवासीय नेपालीलाई संघका गतिविधिमा आकर्षित गर्दै स्वदेशसँगको सम्बन्धलाई कसिलो बनाउन विशेष ध्यान

१२. संघमा महिलाको उपस्थिति, सहभागिता र नेतृत्वलाई व्यापक र सशक्त बनाउन विशेष अभियान सञ्चालन

१३. संघको विधि, विधान र संस्थागत प्रक्रिया, सचिवायलको प्रभावकारिता र क्रियाशीलतामा ध्यान

१४. गैरआवासीय नेपालीको नेतृत्व चयनका क्रममा अनलाइन भोटिङ प्रणाली

१६. भिजन २०२० को प्रस्ताव कार्यान्वयन

१७. चालू परियोजनाको निरन्तरता, समापन र हस्तान्तरणलाई उच्च प्राथमिकता

१८. संघले आफ्नो मूल्य, मान्यता र परिकल्पनामा रहेर अगाडि बढाउन खोजेका परियोजनामा हाम्रो मात्र स्रोत-साधनले नपुग्ने भएमा अन्तर्राष्ट्रिय संघसंस्थाहरुसँग सहकार्य

१९. समान हक, हित र अधिकारका लागि संघर्षरत भूतपूर्व ब्रिटिस गोर्खाहरुको मागको पक्षमा उभिने

२०. गैरआवासीय नेपालीका समस्या, चासो र सरोकारलाई उच्चस्तरबाट सम्बोधन गर्न नेपालको राजनीतिक नेतृत्वसँग नियमित सम्पर्क र प्रभावकारी समन्वयका निम्ति स्थायी संयन्त्र स्थापना