अभिमन्यू दिपक 

लघुकथा च्याटबक्स !

Hollywood Khabar July 24,2020 Comments

खै ! जिन्दगी र समयको कुरो पनि बुझेर बुझी नसक्नु रै'छ । समय भन्दा बलवान कोहि हुन्न भन्ने कहावतलाई सायदै कसैले ईन्कार गर्न सक्ला । र होईन भन्ने आँट पनि कसैले नगर्ला । जहाँ समयले जुराउँछ समयले जम्काभेट गराउँछ र समयले मिलाउँछ दुई मनमुटुलाई सायदै कसैले त्यो समयको चङ्गुलबाट उम्कन सक्ला भन्ने लाग्छ । लाग्छ समयले मिलाएका मनमुटुहरु आफ्नो ईच्छा र मनोमानीमा केहि गर्न सक्दैनन्। क्षणिक रुपमा एक अर्कालाई घुर्की लाउनु आधिपत्य जमाउन खोज्नु हक जताउन खोज्नु र नक्कल पारेरै भएनि ठस्किने मस्किने त चलिरहन्छ नै जिन्दगीको यात्रामा । 

खै किन किन ? मनमुटु रित्तो रित्तो भएझैं आभाष हुदैछ ! एउटा मनमुटु बेतुकको तराना र अनुमानमा शङ्का आक्रोस र त्रासका त्रिपुर निर्माण गर्छ भने अर्को मन मुटु निरीह निस्तेज र निकम्मा झै जिवन माटोमा विलयको प्रतिक्षा बाहेक अरु उसका लागि  केहि हुन्न ।उनलाई जतिखेर'नि उसको आवाजमा रमाउन मन लाग्छ । उसलाई नि उनको हसाई बोलाईमा भुल्न मन लाग्छ । तर पनि उनीहरु दुबै एउटा सामाजिक परिबन्धमा छन्। उ उनलाई अगाध माया गर्छ उनकै खुशीमा रमाउँछ, उनको फुरफुरमा आफु फुरुङ्ग हुन्छ , उनलाई पीडा हुँदा उ छटपटाउँछ,उनी दुखित हुँदा उसको संसार अँध्यारो हुन्छ । हरेक दिन उसलाई उनको बोलीको अम्मल लागेको छ उनलाई फोन नगरी बस्नै सक्दैन । उनी पनि उसको बोलीकी अम्मली छिन उनलाई कहिलेकहि फोन गर्न समय अनुकुलता नमिल्दा उनको पारो १०४ डिग्री फरेनहाईटमा पुग्थ्यो कम्पारो तातेर।"मैले आफ्नो मान्छेसंग कम्फर्टेवल्ली कुरा गर्न'नि नपाउने।त्यहि हो माया?"­ बेला बखत घुर्की लाउँछिन उनी।अनि च्याटबक्समा अनेकौं लल्लरी गाउँछिन, मायालु लवजमा ठुसठुस गरेको सङ्केत गर्छिन्,उसंग भेट्न नपाएको र एकाकार हुन नपाएको गुनासो पोख्छिन्,उसको सामिप्यता खोजेको कुरा गर्छिन् र व्यवहारका दुख सुख ऋणधनका कुरा गर्छिन्।मानौं च्याटबक्स नै उनको दुख बिसाउने चौतारो हो। गुनासो पोख्ने गुनासो पेटिका हो । र च्याटबक्स आफ्नो मान्छेसंग लाडप्यार जताउने मायालुपाराले लुटुपुटिने प्रियतमको न्यानो काख र न्यानो अङ्गालो हो।उसलाई केहि फर्माईस गर्न होस या ईच्छा व्यक्त गर्न,गुनासो पोख्न हस या माया गर्न च्याटबक्स नै सहारा भएको छ उनका लागि। 

च्याट गर्दागर्दा जोडिएको उनीहरुको मायाप्रिती च्याटबक्सले जोगाईराखेको छ।मानौं च्याटबक्स उनीहरु दुईको मुटुको धडकन हो ।दुई शरिरको प्राण पखेरु हो । च्याटबक्समै उनीहरुका भावना अविरल ईन्दावती झै बग्छन् , माया प्रेम एकअर्कामा समर्पण हुन्छन्,उनीहरुका सुख दुख पीडा खुशी उन्माद सबै बाँडीन्छन् अनि गुनासा र आशा पनि बाँडी चुँडी गर्छन्। एक अर्कालाई सल्लाह सुझाव मार्गदर्शन पनि च्याटबक्समै हुन्छ उनीहरुबिच।त्यसैले च्याटबक्स उनीहरुको जीवनको एउटा पाटो हो र च्याटबक्समै  उनीहरुकाका खुशीहरु समेटिएका हुन्छन् । निदाउनु अघि होस वा दिन शुरु हुनु अघि च्याटबक्सले नै उनीहरुलाई मिलाउँछ, गफ्याउँछ र खुशीखुशी एकअर्कालाई उर्जादिदै दैनिकी अघि बढाउँछ।