-मन्त्री अरुण नेपालद्वारा ललितपुरको चापागाउँमा बुलुपार्कको उद्घाटन

मन्त्री अरुण नेपालद्वारा ललितपुरको चापागाउँमा बुलुपार्कको उद्घाटन

Hollywood Khabar July 24,2020 Comments

सन्तोष दहाल, ललितपुर/७/२५/२०

वाग्मती प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालले गोदावरी नगरपालिका ११ चापागाउँ स्थित बुलु (मेखल्चा) मा नवनिर्मित पार्कको उद्घाटन गरेका छन्।

आर्थिक वर्ष २०७६/०७७ मा वाग्मती प्रदेशका सांसद चेतनाथ संजेलको संसद विकास कोष, डिभिजन वन कार्यालय ललितपुर,भू तथा जलाधार संरक्षण कार्यालय ललितपुर तथा गोदावरी नगरपालिका ११ नं वडा कार्यालयको आर्थिक सहयोगमा निर्मित पार्कको शनिबार मन्त्री नेपालको उपस्थितिमा उद्घाटन गरिएको हो।

चापागाउँको सांस्कृतिक र ऐतिहासिक सभ्यता वोकेको बुलुको यस मेखल्चाको ७ रोपनी जग्गा प्रयोगविहीन लामो समयदेखि भएर फोहोर फाल्ने ठाउँको रुपमा प्रयोग हुँदै आईरहेको थियो। आन्तरिक पर्यटन प्रवर्धन र विकासको लागि सम्भावना रहेको यस ठाउँलाई सदुपयोग गर्ने उद्देश्यका साथ स्थानीय समाजसेवी युवाहरु भाग्यराम महर्जन, रविन्द्र महर्जन लगायतको ताकेता तथा प्रदेश सांसद चेतनाथ सञ्जेलको पहलमा गत आर्थिक वर्षमा उक्त बालमैत्री बुलु पार्कको काम अगाडी बढाईएको थियो। पार्कको डिजाईन इन्जिनियर बद्री महर्जनले गरेका हुन्।

पार्कको उद्घाटन गर्दै मन्त्री अरुण नेपालले आन्तरिक पर्यटन प्रवर्धन र विकासका लागि यस्ता पार्क तथा उद्यानले महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सघाउ पुग्ने भन्दै यस पार्क निर्माण गर्न पहल तथा सहयोग गर्ने सबै सरोकारवालाहरुलाई धन्यवाद ज्ञापन गरे। बढ्दो जनसंख्या बृद्धि संगै काठमाडौँ उपत्यका लगायत घना बस्तीहरुमा घर निर्माण बढ्दै जाँदा यस्ता खाली ठाउँको अभाव हुँदै गएको र आराम गर्न, थकाइ मार्न, मन शान्त पार्नको लागि यस्ता पार्क निर्माण गर्ने ठाउँहरुको अभाव हँदै गईरहेको अवस्थामा बुलुमा रहेको खाली जग्गाको सदुपयोग र व्यवस्थापन गर्दै राम्रो पार्क निर्माण गरेकोमा आफूलाई खुसी लागेको मन्त्री नेपालले बताए। साथै उनले आगामी दिनहरुमा यसको वृद्धिविकास तथा अन्य योजनाहरुको लागि प्रदेश सरकारको तर्फबाट सक्दो सहयोग गर्न हरदम तयार रहेको बताए।

प्रदेश सांसद चेतनाथ संजेलले छोटो समयमा नै आकर्षक र सुन्दर पार्क निर्माण गरे उपभोक्ता समिति तथा सहयोगी स्थानीयवासीप्रती कृतज्ञता ज्ञापन गर्दै चापागाउँको पर्यटन विकासको लागि यस पार्कले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । साथै यो संगै वडा नं १० को भांगावनको शिरमा हनुमानाको मुर्ति, पार्क निर्माण गर्ने लक्ष्यका साथ टाहाखेलबाट आधा बाटोसम्म सिंढी निर्माण गरिसकिएको र मुर्ति राख्ने स्थानमा खानेपानी पनि पुर्याईसकिएकोले यी दुई योजनालाई थप विकास गर्नका लागि प्रदेश सरकारको थप सहयोगको अपेक्षा रहेको बताए।

उद्घाटन कार्यक्रममा गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले बुलु पार्क गोदावरी नगरपालिकाभरिकै नमुना पार्कको रुपमा निर्माण भएको भन्दै सबै वडाहरुमा यस्तै पार्क निर्माण गर्ने नगरपालिकाको योजना अनुरुप चालु आर्थिक वर्षको लागि ७५ लाख बजेट विनियोजन गरिसकिएको जानकारी गराए।