-नेपाल रेडक्रस सोसाइटीको तदर्थ समिति र गतिबिधिबारे विज्ञप्ति

नेपाल रेडक्रस सोसाइटीको तदर्थ समिति र गतिबिधिबारे विज्ञप्ति

Hollywood Khabar August 14,2020 Comments

विज्ञप्ति नं १- २०७७/२०७८

प्रकाशित मिति:३० श्रावण २०७७

प्रेस विज्ञप्ति

काठमाडौँ ।

नेपाल सरकार (मन्त्रीपरिषद्) को २०७७ साउन १२ गतेको निर्णयानुसार समाजकल्याण ऐन, २०४९ को दफा २० को उपदफा (२) बमोजिम यस नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय तदर्थ समिति गठन गरी जिम्मेवारी प्रदान गरिएकोमा नेपाल सरकारलाई हार्दिक धन्यबाद दिन्छौँ ।

यो तदर्थ समिति सरकारले दिएको जिम्मेवारी पूरा गर्न र संस्थाका गतिविधिमा पारदर्शिता, जवाफदेहिता, सहभागिता, स्वयंसेवी भावना तथा व्यवहारलाई सुनिश्चित गर्दै संस्थाको सुशासनलाई प्रबर्धन गर्न प्रतिबद्धता ब्यक्त गर्दछ ।

संस्थाको बैधानिकता कायम राखिरहन दर्ता नवीकरण, मौजुदा विधानमा सुधार, रेडक्रस कानुन निर्माण तथा बैधानिक निर्वाचन हाम्रा उच्च प्राथमिकता हुन् ।

गठन भएको पहिलो १५ दिनमा यस समितिले दुई पटक वैठक गरी उच्च प्राथमिकता क्षेत्रमा तत्कालै कार्य सुरु गर्न संस्थाका अध्यक्ष, पदाधिकारी र सदस्यहरुमाझ जिम्मेवारी बाँडफाड गरिएको छ। यसका साथै, संस्थाको दीर्घकालीन सुधार सुरु गर्न गत साउन २५ र २६ गते बसेको यस समितिको पूर्ण बैठकमा संस्थाको सेवा, कार्यक्रम तथा समग्र अवस्था लगायतका विषयमा गम्भीर समीक्षा गरी सुधारात्मक कदमहरू साथसाथै लैजाने मार्गचित्रको मस्यौदा कोरिएकोे जानकारी गराउँदछौँ ।

यस मार्गचित्र बमोजिम आँखा अस्पतालहरु, रक्तसञ्चार सेवा, एम्बुलेन्स सेवा, विपद प्रतिकार्यका साथै राहत सामग्रीको भण्डारण र वितरणका क्षेत्रमा ठोस सुधारात्मक कदमहरु चालिने छन्। आर्थिक मितव्यिता, स्रोत साधनको समुचित प्रयोग, सम्पत्तिहरुको अभिलेखन, सुरक्षा र परिचालन, जनशक्तिको उचित व्यवस्थापन, संस्थागत संरचनाको पुनराबलोकन, विकास योजना निर्माणका साथै नेपाल सरकार, रेडक्रसको अन्तर्राष्ट्रिय महासंघ, विभिन्न अध्ययन टोली तथा लेखा परीक्षकहरुबाट अध्ययन पश्चात दिइएका सुझावहरुको समीक्षा र कार्यान्वयनजस्ता विषयहरु पनि मार्गचित्रमा समावेश गरी अघि वढ्ने निर्णय गरिएको छ ।

हाम्रा यी प्रतिबद्धताहरु नेपाल रेडक्रसले विगतका विपद्हरूको अवस्था, द्वन्द्व र आन्तरिक संघर्षको समयमा गरेको सेवाबाट प्राप्त गरेको साखलाई कायम गर्न, नेपाल रेडक्रसको स्वयंसेवी पहिचानलाई स्थापित गर्न, पारदर्शिता र सुशासनको प्रत्याभूति दिन तथा मानवीय सेवाको लागि राष्ट्रिय अन्तर्राष्ट्रिय सम्बन्ध तथा साझेदारीलाई बढाउनेतर्फ सहयोगी हुनेछन् ।

प्राथमिकता क्षेत्रमा परेका विषयहरूमा समय तोकेरै आगामी ३ महिनाको लागि विस्तृत कार्ययोजना बनाउन र रेडक्रसका सबै निकाय तथा रेडक्रसप्रेमी आम समुदाय समक्ष सार्वजनिक गर्न अपरिहार्य रहेको हामीले महसुस गरेका छौँ। यसका लागि विभिन्न क्षेत्रको थप अध्ययन गर्न ९ (नौ) वटा कार्यदलहरू बनाइएको छ ।

बन्दाबन्दीको परिस्थितिमा पनि यथासम्भव भौतिक वा विद्युतीय सञ्जालको सहयोगमा छलफल तीब्र बनाइने छ र तोकिएको समयभित्र स्पष्ट नतीजा आउने गरी कार्य अगाडि बढाइने छ ।

अन्त्यमा, संस्थाको समग्र सेवा, आर्थिक, प्रशासनिक र वैधानिक अवस्थाबारे आम जनसमुदायमा जानकारी गराउने उद्देश्यले आगामी केही दिन भित्रै श्वेतपत्र सार्वजनिक गरिने जानकारी गराउँदै मानवीय क्षेत्रमा सरकारको सहयोगी भूमिकामा रही अगाडि बढ्न लागेको हाम्रो प्रयासमा नेपाल सरकार, आम नेपाली, दाता, साझेदार निकाय, सञ्चार जगत, रेडक्रस अभियानका अङ्गहरु लगायत सबै पक्षको सहयोग हुने विश्वास पनि व्यक्त गर्दछौँ ।

जय रेडक्रस

पीताम्बर अर्याल

महामन्त्री