-Ram Prasad Niraula

नेपाली किसान

Hollywood Khabar July 23,2020 Comments

-रामप्रसाद निरौला, सुकेधारा, काठमाडौॅं जुलाई २४, २०२०

अग्ला डाॅंडा, समथर कतै लेकबेंसी भएको
खोलानाला, अटुट झरना, शैलमाला रहेको
खोल्सापाखा, बगर वनका दृश्य घुम्छन् विचित्र
नेपालीको मनभरि यता बग्छ मायाॅं पवित्र ।१।

यो माटामा विविध बिरुवा, बोट राम्रा लगाऔॅं
हावापानी मलजल मिलोस्, कोपिला ती जगाऔॅं
खेतीपाती लहलह बनोस् दिव्य सौन्दर्य छाओस्
देख्दै हाम्रा कृषक जनमा शान्ति समृद्धि आओस् ।२।

पानी दर्की जलथल हुॅंदै फेरि आषाढ आओस्
खोलानाला बढिकन कुलो गड्गडाएर जाओस्
जिस्की जिस्की लहर लहरै फेरि रोपार आऊन्
मेलो सारी परपर हुॅंदै बाउसे मुस्कुराऊन् ।३।

खेताला ती मिलजुल गरी पुग्दछन् फाॅंटफाॅंट
मायाॅंपिर्ती सरस दिलका बग्दछन् गीतबाट
रोप्दै जान्छन् छुपुछुपु उता बीउ आली मिलाई
बाजा बज्छन् झनझन कतै रम्य बेठी लगाई ।४।

जोत्दै, खन्दै सिमसिम झरी , घाम चर्को सहन्छन्
खेती सम्झी कृषक जहिल्यै व्यस्तव्यस्तै रहन्छन्
आएका छन् प्रविधि अहिले जान्न खोज्छन् किसान
छैनन् त्यस्ता अवसर कुनै सिक्न ती सीप ज्ञान ।५।

औधी राम्रो सरल छ सधैं जिन्दगीको कमाइ
हाॅंसीखेली अविदित खुसी सिर्जिॅंदा छन् रमाई
छैनन् केही मनभरि कतै धृष्टता, दुष्ट भाव
श्रद्धा राख्छन् सबसित बडो स्नेह औदार्य भाव ।६।

हाम्रा योद्धा नवयुवक यी जान खोज्छन् विदेश
हेर्दा हेर्दै प्रतिदिन यता क्षीण बन्दै छ देश
खोज्दा खोज्दै सुख र सुबिधा, जिन्दगी अल्झिएको
हामी देख्छौॅं, विवश कति ता दु:खमा बल्झिएको ।७।

मायाॅं मारी नहिॅंड अब ता देश निस्तब्ध पारी
बाॅंझो बन्छन् वरिपरि सबै उर्वरा खेतबारी
छोराछोरी अलग बनिॅंदा पीर बल्झेर भारी
आमा रुन्छिन् प्रतिपल यता सम्झिॅंदै आंसु झारी ।८।

हामी आफैं प्रगति पथमा जुट्नुपर्नेछ आज
चाॅंडै राम्रो विकसित बनोस् सभ्य हाम्रो समाज
छैनन् केही गतिविधि यहाॅं राज्यको छैन ध्यान
को देख्ला खै ? कृषक जनको देशमा योगदान !९!

रंगीचंगी किरण बटुली स्वर्ण आभा छरेर
धर्ती बन्छिन् सफल जहिल्यै उब्जनी त्यो भरेर
अर्पे आफ्नो श्रम र पसिना हुन्न के यो धरामा ?
बाला झुल्छन् लहलह यतै खेतका यी गरामा ।१०।