-Pusp Thapa

नेपालको पहिचान र पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस

Hollywood Khabar January 10,2020 Comments

पुष्प थापा/जर्मनी/१/११/२०

हामी नेपाली स्वदेश तथा विदेश संसारको जुन सुकै कुनामा रहे पनि हाम्रो देश नेपाल र नेपाली पहिचानबाट परिभाषित र परिचित हुने गर्दछौ। यसकारण सम्पूर्ण नेपालीहरुको आवाज सधै नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधनीताको एबम राष्ट्रिय एकताको पक्षमा एकताबद्ध हुने गर्दछ।

राष्ट्र भक्ति र देशप्रेमी सबै नेपालीहरुको एकताका सुत्रधार तथा बिशाल नेपालको निर्माणकर्ता पृथ्वी नारायण शाहको प्रेरणाको संदेशले स्वाभिमानी बिर गोरखाली सम्पुर्ण नेपालीहरुको उत्साह र उमंगको साथ राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्ती मनाइन्छ। हरेक बर्ष पौष २७ गते राष्ट्रिय एकताको गौरवको रुपमा पृथ्वी नारायण शाहको स्मरणमा श्रद्धा सुमन अर्पण गर्दैगर्दा राष्ट्रिय एकताको अझ धेरै उर्जाशिल शक्ति प्रदान गरेको छ।

विश्व महान चित्रमा नेपालको अस्तित्व र संसारभरी नेपालीहरुको महत्वलाई उच्च सम्मान र सहअस्तित्व कायम गराउने राष्ट्र निर्माता पृथ्वी नारायण शाह नै हुन। यदि नेपाल देश नभएको भए हामी अहिले नेपाली पहिचानले परिचित हुन सक्ने थिएनौ।

त्येसैले हरेक बर्ष पौष २७ गते पृथ्वी नारायण शाहको जन्मजयन्ति तथा राष्ट्रिय एकता दिवस हर्षोल्लास पूर्वक मनाइन्छ, मनाउनु पनि जरुरी छ। यो दिन पृथ्वी जयन्ति मात्र नभई सिंगो राष्ट्रको राष्ट्रिय एकता दिवस तथा नेपालको पहिचान अनि नेपालीपनाको बिगुल फुकिएको दिनको रुपमा पनि स्मरण गरिन्छ। पृथ्वी नारायण शाहले सम्पुर्ण नेपालीहरुलाई औंला माथि उठाएर राष्ट्रिय एकताको संदेश दिएको सालिक तथा तस्बिरले आम नेपालीहरुलाई हरेक पल एकताको शिक्षा दिई रहेको छ।

यस्ता तेजस्वी राष्ट्र निर्माता पृथ्वी नारायण शाह विक्रम सम्वत् १७७९ पौष २७ मा गोरखाका राजा पिता राजा नरभुपाल शाह र माता कौशल्यावति देवीको कोखबाट प्रथम पुत्रको रुपमा जन्म भएको थियो। नेपालको एकीकरणको क्रममा स-साना राज्य रजौटामा बाँडिएको बाईसे तथा चौबिसे राज्यहरुलाई आधूनिक नेपालको खाकामा एकत्रित गरी बिशाल नेपालको राष्ट्र निर्माण गर्ने पृथ्वी नारायण शाह नै थिए। त्यसैले पृथ्वी नारायण शाहको सम्झनामा हरेक साल संसार भरका नेपालीहरुले पृथ्वी जयन्ति तथा राष्ट्रिय एकता दिवस मनाउने गर्दछन।

राष्ट्र निर्माता पृथ्वी नारायण शाह विक्रम संवत् १७९९ साल चैत्र २५ गते, रामनवमीका दिन २० बर्षको उमेरमा गोर्खामा राज्यरोहण गरेका थिए। पृथ्वी नारायण शाहको समयमा लिखित कानुनी व्यवस्था नभए पनि प्रचलन र परम्परा तथा मानवीय संवेदनाका आधारमा राज्य सत्ता चल्ने गरेको ईतिहासकारहरुले बताउने गर्दछन।

अहिले जस्तै मौलिक अधिकारको अवधारणा र कुनै संगठित शैक्षिक संरचनाहरु भएको पाईदैन। तर पनि त्यस समयमा ज्ञान अनुसार धर्म, कर्मकाण्ड तथा सामाजिक मान-सम्मान र सामुदायिक शिष्टाचारका आधारमा राम्रो-नराम्रो छुट्टौने गरिन्थियो। तर अहिले प्रजातान्त्रिक समाजबादको बिकास भएको पाईदैन। यो केवल पुरातनवादी सोच थियो।

औपचारिक रुपमा अर्थशास्त्रको ज्ञान नभए पनि पृथ्वी नारायण शाहको चत्तुराई, कुशल नेतृत्वको कारणले राजनीतिक रूपमा त्यो अत्यन्त स्थिर राज्य ब्यबस्था थियो। गोर्खा राज्य आर्थिक रुपमा सम्पन्न नभएको कारणले छिमेकी राज्यहरुसित लड्न सक्ने क्षमता पनि थिएन। तर संसार साम्राज्यवादीहरुको बिस्तारवादको चपेटामा परि सकेको थियो। त्यो समय पृथ्वी नारायण शाहलाई एउटा ठुलो चुनौतीपुर्ण प्रश्न र नेपालको एकीकरण गर्ने महत्वकांक्षी अवसर पनि थियो।

विक्रम संवत् १८०० मा गोर्खाका राजा पृथ्वीनारायण शाहले नुवाकोटको युद्धमा पराजयको सामना गर्नु परेकाले आवश्यक हातहतियारहरु संकलनार्थ वनारस पुगे। पिता नरभूपालको पुण्य प्राप्त गरून् भनी काशीको यात्रा गरी आफ्नो भारद्वाज गोत्रबाट काश्यप गोत्रमा परिवर्तन गरे। सोहि बेलामा तिर्थगर्न भनी गएका जाजरकोटका राजा हरी शाहसंग उनले राज्यविस्तार गर्दा गोरखा र जाजरकोटले एक अर्कालाई वाधा र कुभलो नचिताउने कुराबारे सन्धि गरे।

बनारसको भ्रमण गरेको अवस्थामा विश्वनाथको मंदिर मुसलमान सम्राट औरंगजेवले भत्काएपछि भग्नावशेषको अवस्थामा नैं थियो। त्यसले पृथ्वी नारायण शाह धेरै चित्तित थिए। उता बृटिश साम्राज्य इष्ट इण्डिया कम्पनीले भारतका विभिन्न राज्यमा सनातन धर्म र संस्कृतिको नास गराएर इसाई धर्म लाद्न हिन्दुहरुलाई आक्रमण गर्ने, मार्ने, मंदिर भत्काउने, धम्क्याउने अग्रेजले अनेकौ अत्याचारहरु गरेको पनि देखे। त्यसपछि हिवत खण्ड क्षेत्रलाई जोगाउन पृथ्वी नारायण शाहले हिमखण्डका हिन्दुराज्यहरुलाई एकीकरण गर्ने जातृत भएका थिए। नेपालको एकीकरण गर्ने उदेश्यबाट नैं प्रेरित भई पृथ्वी नारायण शाहले बनारसबाट हातहतियार बनाउने कारखानाको निरीक्षण गरी हातहतियार बनाउने र मर्मत गर्ने मुसलमान कालीगढ, केही हातहतियार र मुसनमान योद्धाहरु समेत गोरखामा ल्याएका थिए भन्ने ईतिहासमा पढन पाईन्छ।

पृथ्वी नारायण शाहले नुवाकोटको पहिलो पराजित पछि दोस्रो पटक विसं १८०१ मा कालु पाण्डेको सेनापतित्वमा करिव हजार जना फौजले नुवाकोट माथि हमला गरी नुवाकोट विजय प्राप्त गरे। नुवाकोट गोरखालीहरुको कब्जामा भएकाले नुवाकोटका सिपाहीहरु भागि वेलकोटमा अड्डा जमाई बसेकाले कालु पाण्डेको तत्काल हमला नगर्ने सल्लाहलाई उपेक्षा गरी पृथ्वी नारायण शाहले वेलकोटमा हमला गरे।

पृथ्वी नारायण शाहको काठमाडौँ उपत्यका र पूर्वी क्षेत्र विजय गर्ने इच्छा रहेकाले आफ्ना प्रवल विरोधी शक्ति लमजुङका राजा रिपुमर्दन शाहसंग विस १७९९ मा एक मैत्रीपूर्ण संघि गरेको पनि ईतिहासकारहरुको भनाई छ। उक्त सन्धि अनुसार दुवै राज्यवीच मैत्री सम्बन्ध कायम गर्ने कास्कीको अर्घा माथि कब्जा गर्न सफल भएमा त्यहाको काठ कास्कीलाई दिने आदि शर्तनामामा उल्लेख थियो।

नेपालको एकीकरण गर्न पृथ्वी नारायण शाह काठमाण्डौ र गोरखा विचमा पर्ने नुवाकोट भू-भागलाई जितेर काठमाडौमा प्रवेस गरेका थिए। काठ्माण्डाैको चन्द्रागीरी डाँडाबाट जब काठमाण्डौलाई नियालेका थिए, त्यस क्षणमा काठ्माण्डाैको सौन्दर्यताले पृथ्वी नारायण शाहलाई लालाहित बनाएको थियो।

रणनीतिका कौशल र कुशल नेतृत्व भएका पृथ्वी नारायण शाहले ईन्द्रजात्राको दिन काठ्माण्डौ माथि बिजय हासिल गरे। कुशल रणनिती लगाएर क्रमशः ललितपुर, भक्तपुर, किर्तिपुर अनि अन्य भू-भागहरु जितेका हुन।

पृथ्वी नारारायण शाहले भुरे टाकुरे बाईसे चौबिसे राज्य तथा क्षेत्रहरुलाई एकीकरण गरी पुरै नेपालको राजवंशिय राज्यमा रूपान्तरण गरिदिए। यसरी उनले आधुनिक नेपालको जग बसालेका थिए।

पृथ्वी नारायण शाहले सुरू गरेको एकिकरण अभियान बढ्दै गएर नेपाल राज्यको सिमाना पूर्वमा टिष्टा नदी, दक्षिणमा मगध र पश्चिममा सतलज नदी सम्म विस्तार भयो। पछि नेपाल अंग्रेज युद्धपछि सुगौली सन्धि सम्म यो भू-भाग नेपाल अधिनस्थ थियो।

नेपाल बिश्वको प्राचीनतम मुलुक मध्ये एक भएकोले हामी सम्पूर्ण नेपालीहरु गौरव महशुस गर्दछौ। नेपाल उपत्यका ऐतिहासिक कालदेखि नै हिमवत् खण्डमा अलग सांस्कृतिक पहिचानयुक्त रहँदै आएको छ।

इसापछिको तेस्रो शताब्दीसँगै लिखित इतिहासमा पाइएदेखि लगातार काठमाडौँ समग्र हिमवत् खण्डको सांस्कृतिक राजधानी रहँदै आएको हो। तत्कालिन समयका अति प्रभावशाली लिच्छवि राजाहरूको पतन पछि क्रमशः विभिन्न सानाठूला राज्यहरु बन्दै र भत्कँदै पनि गए।

पृथ्वी नारायण शाहले काठमाडौँलाई राजनीतिक राजधानी बनाई यहाको कला, संस्कृतिको इज्जत-आमद, वैभव र उच्चतम् मर्यादालाई आत्मसात् गरेको पाईन्छ। हिन्दु र बौद्धको प्राचिन सभ्यतालाई समानान्तर बिकास गरी आपसी सद्भाव बढाउन पृथ्वी नारायण शाहको आधुनिक तथा बहुआयामिक र राजनीतिक दुरदर्शि एवं दिर्घाकालिन एकीकरणले राजा पृथ्वी नारायण शाह महत्त्वाकांक्षा मात्र थिएन। तत्कालीन अवस्थाका वस्तुगत परिस्थितिहरूलाई पनि विद्यमान गर्न सक्ने दुरदर्शी परिपक्का राजा थिए पृथ्वी नारायण।

तत्कालिन बेलायती प्रधानमन्त्री रबर्ट वालपोल धेरै महत्वकांक्षी साम्राज्यवादी स्वभावका थिए। बेलायतको बढ्दो सैन्यशक्तिले सर्वत्र त्रासित बनाएको थियो। रुसका राजा (जार) पिटर द ग्रेटले राज्यमा ठूलो भूमिका पाएको कुरा अर्थोडक्स चर्चको सुधार गर्न थालेका थिए।

तथापि त्यो समय रुस र पर्सियाबीच युद्ध सुरु भइसकेको थियो। अफगानहरूले त्यस बेलाको शक्तिशाली राष्ट्र इरानलाई जितिसकेका थिए। चीनका कांशी बादशाह भर्खर बितेका थिए। बिश्वको यस्तो राजनीतिक परिस्थितिमा पृथ्वी नारायण शाहको उदय भएको थियो।

अंग्रेज र स्पेनीहरूबीचको युद्ध अर्को ठूलो घटना थियो। पृथ्वी नारायण शाह किशोर उमेरमा हुदा रुस र टर्कीबीच चारवर्षे घमासान युद्ध सुरु भइसकेको थियो।

चीनका प्रभावशाली सिङलङ बादशाहको राज्य विस्तारको कार्यक्रम धेरै बलियो थियो। यता हिन्दुस्थानमा मुगलहरूको बिजोगले राज्यहरु टुक्रा-टुक्रा हुँदैथिए। पर्सियाका नादिर शाहको आक्रमणबाट मोहम्मद शाह निकै पीडित थिए। युरोपमा प्रोटेस्टेन्ट र क्याथोलिकबीच पटक-पटक युद्ध भए जस्तै हिन्दुस्तानमा पनि मुस्लिम र हिन्दु राज्यहरूबीच भिड्न सुरु गरिसकेका थिए। चतुर अंग्रेज तथा फ्रान्सेलीहरू हिन्दुस्थान माथि आधिपत्य स्थापित गर्ने तयारीमा जुटिसकेका खेलमा अग्रेज महाचतुर देखिए।

राष्ट्र निर्मता पृथ्वी नारायण नयाँ नेपाली मुलुकका एकीकरणकर्ता मात्र नभई आफ्नै नेतृत्वमा जिन्दगीको अन्तिम महत्वपुर्ण लडाइँ समेत सन् १७७३ मा लडेको रेकर्ड देखिन्छ। करिब ४६ वर्षको उमेरमा काठमाडौँमा राजधानी सारेपछि पृथ्वी नारायण शाहमा देखिएको राजनीतिक कौशलले उनको परिपक्वता दर्साउँछ।

उनले दिएका दिव्यपदेश र उनका बारेमा लेखिएका ग्रन्थहरूले यसबारे प्रकाश पार्छन्। उनले पुनःएकीकृत नेपाललाई पाको राजनेताका रूपमा बहुजाति र बहुभाषी सम्पूर्ण नेपालीहरुको नेपाल एउटा साझा फूलबारीका रूपमा देख्न चाहे।

हिमवत् खण्डको असंलग्न परराष्ट्र नीतिको सूत्रधार उनै भए। उपनिवेशवाद विरुद्ध राष्ट्रिय सुरक्षाको अवधारणा उनी मार्फत नै आयो। एकीकरणमा परेका अधिकांश भुरे-टाकुरे राज्यलाई उनले स्वशासन दिए। आफ्नो र अन्य क्षेत्रका फौजलाई नेपाली फौजमा परिणत गरी राष्ट्रिय सेनाको निर्माण एउटा ठूलो प्रयोगको उपलब्धि थियो।

आन्तरिक पुँजी निर्माणका लागि उद्योग र वाणिज्य क्षेत्रमा उनीद्वारा प्रतिपादित नीतिहरू आज पनि त्यत्तिकै सान्दार्भिक र महत्त्वपूर्ण छन्। नव एकीकृत देशको सामूहिक क्षमतामै त्यसपछिका उत्तर तथा दक्षिण दुवैतर्फ नेपालले पटक-पटक लडाइँ लडेको थियो। यी लडाइँले नै नेपाललाई सम्पूर्ण रूपमा एक ढिक्का पारेको थियो। सबै जातजाती धर्म र क्षेत्रलाई साथमा लिएर नेपाली पहिचान र नेपाली राष्ट्रवादको शिल्पकार पृथ्वी नारायण शाहले नै हुन् भन्नेमा कुनै विवाद नै छैन।

सन् १८५८ देखि १९४७ का बीच उपनिवेश उन्मुख अंग्रेजहरूले यस क्षेत्रका धेरैजसो राज्यलाई आफ्नो नियन्त्रणमा लिए। उपनिवेश नै नभने पनि अग्रेजको डरले करिब ५ सय ६२ वटा बाइसी-चौबीसी राज्यहरुले अंग्रेजलाई कूत बुझाउँथे। यो परिस्थितिलाई अध्यायन गर्ने हो भने पृथ्वी नारायणले निर्माण गरेको नेपालले आफ्नो स्वतन्त्रता मात्र कायम राखेन, यसले बृटिस साम्राज्य र शक्तिशाली चिनियाँहरूसँग जटिल कूटनीति लडाईलाई समेत बिजय हासिल गरेको देखिन्छ।

पृथ्वी नारायण शाहको व्यक्तिगत योग्यता, क्षमता, कार्यकुशलता र चरित्र माथि नै धेरै तर्कबितर्क, टिकाटिप्पणी र विरोधी पनि गर्नेहरु समाजमा कहिले काही कतै देखिन्छ कतिपयले पृथ्वी नारायण शाहलाई साम्राज्यवादको नाईके र विस्तारवादी निरङ्कुश शासक भनेका छन्। कतिपयले एकलौटि हिन्दु धर्मलाई जनतामा लाद्ने क्रुर शासक पनि भनेको कहिले काही यताकता उक्कल झुक्कल आउने गर्दछ।

त्यस्तै जातीय शासनलाई उनले भताभुंग पारेको पनि कतिपयको आरोप छ। उनको पालादेखि नै विभिन्न जनजातिले राज्य गुमाएको पनि भनिएको छ। एकीकरणको लडाइँ बर्बरतापूर्ण थियो भन्ने मान्यता पनि व्यक्त गरेको देखिन्छ।

अग्रेजले प्रकाशित गरेका सामग्रीका आधारमा हेर्दा पृथ्वी नारायणले नेपाललाई असली हिन्दुस्थान बनाउन खोजेको आरोप लगाइएको छ। यी सबै आरोपका बारेमा आ-आफ्ना विभिन्न दृष्टिकोण हुन सक्छन्। यदि पृथ्वी नारायण शाहको नेपाललाई एकीकरण गर्ने महत्वकांक्षी अभिलाषा नभएको भए अहिलेको बिशाल आधुनिक नेपालको परिकल्पना सम्म हुन् सक्ने थिएन।

पृथ्वी नारायण शाहले नेपाललाई कतै जातीय आडम्बरी र हिन्दुराज्य शासन ब्यबस्था बनाउन खोजेको इतिहासले देखाउँदैन। उनले कसैसँग जातीय लडाइँ लडेका पनि थिएनन्। राष्ट्र एकीकरणको वृत्तान्तमा आस्था र विश्वासका कुरा राष्ट्र निर्माणमा धेरै महत्त्वपूर्ण हुन्छन्। इतिहासलाई काल्पनिक आधारमा मूल्यांकन गर्न खोज्नु हुँदैन।

नेपाल र सम्पूर्ण नेपालीहरुका गौरवका प्रतिक नै पृथ्वी नारायण शाह हुन। यदि पृथ्वी नारायण शाहको जन्म र उनको महत्वकांक्षी एकीकरणको अभिलाषा नभएको भए आजको नेपाल सम्भव हुने थिएन। आजको बिशाल नेपाल देश नभएको भए नेपाली पहिचानले बिश्व मान चित्रमा अंकित हुन् सक्ने थिएन।

देश र जनता तथा समय परिस्थितिको माग तथा आवश्यकता अनुसार देशको शासन व्यवस्था, राजनीतिक प्रणाली तथा राज्य-व्यवस्था जन चाहना अनुसार परिपर्तन हुन् सक्ने थिएन।

नेपाल र नेपाली जनताले पृथ्वी नारायण शाहको जन्म जयन्तिलाई स्मरण गर्दै राष्ट्रिय एकता दिवसका रूपमा मनाउनु राष्ट्रप्रेमी देश भक्तिको ईमान्दारिता तथा नेपालको ईतिहासको महत्व र सहअस्तित्व मान सम्मान र मर्यादालाइ स्विकार्नुको साथमा सुन्दर शान्त र समृद्ध नेपाल र शुखी नेपालीको परिकल्पनाको निर्माणका लागि एउटा बलियो पूर्वाधार निर्माण गर्न सक्ने गौरवशाली राज्यको गर्व भएको अनुभूति हुन्छ।

(लेखक थापा एनआरएनए अन्तराष्ट्रिय परिषदका पुर्व सल्लाहकार हुन)