-सैनिक आचार संहिता सप्ताह भौतिक दुरी कायम गर्दै विशेष समारोहका बीच समापन

सैनिक आचार संहिता सप्ताह भौतिक दुरी कायम गर्दै विशेष समारोहका बीच समापन

Hollywood Khabar July 22,2020 Comments

श्रावण 0१ गतेदेखि संचालन भएको दोस्रो सैनिक आचार संहिता २०७७ सप्ताहको २०७७ श्रावण ०८ गते समापन गरिएको छ।

बलाधिकृत रथी प्रभुराम शर्माले एक विशेष समारोहका बीच जङ्गी अड्डास्थित त्रिभुवन आर्मी अफिसर्स क्लबको सभामण्डप हलमा समापन गर्नुभएको हो। सो संबन्धि जानकारी नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाले प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ।

सप्ताहको समापन गर्नुहुँदै बलाधिकृत रथी शर्माले संविधान प्रदत्त जिम्मेवारीलाई निसङ्कोच बहन गर्नको निमित्त कटिवद्ध नेपाली सेनाको सबैभन्दा सुक्ष्म इकाईको रुपमा रहेको व्यक्तिले आफू स्वयंलाई नैतिकवान, चरित्रवान, पेशेवर र उर्जाशिल बनाउनु पर्ने बताउनु भएको थियो। उहाँले कार्य सम्पादनको सिलशिलामा आउन सक्ने दुविधाहरुलाई निराकरण गर्न सबैले आफ्नो मन, वचन र कर्मलाई शुद्ध बनाउन अपरिहार्य रहेको उल्लेख गर्दै सेवामा रहँदा मात्र नभई सेवा निवृत्त भएपछि पनि सकलदर्जाले सैनिक मर्यादा पालना गर्नुपर्ने विषयमा जोड दिनुभएको थियो ।

सप्ताहव्यापी उक्त कार्यक्रममा कोभिड-१९ को सम्भावित जोखिमलाई मध्यनजर गरी भौतिक दुरी कायम राखी सञ्चालन गरिएको थियो भने कार्यक्रमलाई नेपाली सेनाका सबै युनिटहरुमा अवलोकन गर्न मिल्ने गरि Live Multicast समेत गरिएको थियो। उक्त कार्यक्रममा नेपाली सेनाका सकलदर्जाले विभिन्न परिस्थितीमा आफ्नो भूमिका र जिम्मेवारीहरुलाई संयमताका साथ सुझबुझपूर्ण तवरले सम्पादन गर्न आवश्यक विषयवस्तु समावेश गरिएको थियो। कार्यक्रममा प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा लगायत रथीवृन्द, अधिकृत, पदिक तथा अन्यदर्जाको उपस्थिती रहेको थियो ।

यो कार्यक्रम संचालनबाट नेपाली सेनामा कार्यरत सकलदर्जा बीच विश्वासको वातावरण सिर्जना भई थप अनुशासित, नैतिकवान र व्यवसायिक फौजको रुपमा स्थापित हुने विश्वास नेपाली सेनाले लिएको छ।