- १३ औं दक्षिण एसियाली खेलकुद (साग)

आज १३ औं दक्षिण एसियाली खेलकुद (साग) को औपचारिक उद्घाटन हुदै

Hollywood Khabar November 29,2019 Comments

१५ मंसिर, काठमाडौं ।१३ औं दक्षिण एसियाली खेलकुद (साग) को औपचारिक उद्घाटन आज हुदैछ ।राष्ट्रपति विद्यादेवी भण्डारीले अपराह्न ५ बजे दशरथ रंगशालामा औपचारिक उद्घाटन  गर्दैछन ।राष्ट्रपति भण्डारीले उद्घाटन गर्ने समारोह ३ घण्टा १४ मिनेट सञ्चालन हुनेछ ।उद्घाटनसत्रमा सहभागी सातवटै देशले मार्चपास गर्ने,सबै राष्ट्रले आफ्दो देशको कला, संस्कृति र पहिचान झल्कने प्रस्तुतिसमेत दिने कार्यक्रम रहेको छ। प्रतियोगितामा सहभागी सातै देशका राष्ट्रिय झण्डोत्तोलन कार्यक्रम शनिबारै सम्पन्न भइसकेको छ ।उद्घाटनमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, विद्यार्थी र विभिन्न जातजातिका झाँकी गरी १५ हजारभन्दा बढी उपस्थित हुने समारोह आयोजक समितिले जनाएको छ ।
 
उद्घाटन समारोहमा मुकुन्द शर्माको रचना, प्रकाश गुरुङको संगीतमा आनन्द कार्की, कुन्ती मोक्तान, इन्दिरा जोशी र सत्यराज आचार्यलगायतको गायन टोलीले सार्क गीत गाउने छन् ।सन् १९९४ मा नेपालबाटै शुरु भएको सागको आठौं संस्करण नेपालले १९९९ मा आयोजना गरेको थियो ।नेपालमा तेस्रो पटक साग आयोजना भएको हो ।१३ औं सागमा नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्का, माल्दिभ्स र भुटानका करिब ३ हजार खेलाडीले २६ खेलमा ३१७ स्वर्ण, ३१७ रजत र ४८१ कास्यका लागि प्रतिस्पर्धा गर्नेछन् । यस्तै सागका लागि करिब २ हजार अफिसियल समेत खटिनेछन् ।
 
सागको उद्घाटनमा मार्चपासमा नेपालको झण्डा ओलम्पियन भारोत्तोलक कमलबहादुर अधिकारीले बोक्नेछन् । उनले सन् २००६ मा भएको दशौं सागमा स्वर्ण पदक समेत जितेका थिए । यस्तै सागमा चार पटक स्वर्ण जितेका तेक्वान्दोका दीपक विष्टले ओलम्पिक दीप प्रज्ज्वलन गर्नेछन् ।१३ औं सागअन्तर्गत काठमाडौं, पोखरा र जनकपुरमा खेलहरू हुनेछन् । ८ खेल पोखरा र १ खेल जनकपुर र बाँकी खेल काठमाडौंमा हुनेछ ।भलिबलका खेलहरु जारी छ भने आज देखि खोखो र ब्याडमिन्टनका प्रतिस्पर्धासमेत सुरु हुनेछ । तेक्वान्दोको उद्घाटन आजै भए पनि खेलहरु भने भोलिबाट हुनेछन् ।