निर्वाचन आयोगद्वारा भदौ २२ सम्म दल छनोट गर्ने समयसीमा

एमाले र जसपा छाडेर नयाँ पार्टीमा जान चाहनेले भदौ २२ सम्म सनाखत गरिसक्नुपर्ने

Hollywood Khabar August 28,2021 Comments

नेकपा एमाले परित्याग गरेर माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा लाग्न चाहने प्रदेश सभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिहरुले आगामी भदौ २२ गते बेलुका ५ बजेसम्म निर्वाचन कार्यालयबाट सनाखत गरिसक्नुपर्ने हद म्याद तोकिएको छ ।

त्यसै गरी जसपा परित्याग गरेर महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीमा जान चाहने प्रदेश सांसद र स्थानीय जनप्रतिनिधिले पनि भदौ २२ गतेसम्म सनाखत गरिसक्नुपर्ने भएको छ ।

निर्वाचन आयोगका पदाधिकारीहरूको आइतबार सम्पन्न बैठकले नयाँ दाल रोज्ने जनप्रतिनिधिहरूका लागि भदौ २२ गते बेलुका ५ बजेसम्मको हदम्याद तोकेको हो । यसअघि सनाखतमा छुटेका संघीय संसदका सांसदहरुले भने अब दल बदल गर्न पाउने छैनन् ।

तर, अध्यादेश अनुसार प्रदेश सांसद र स्थानीय जनप्रतिनिधिहरुले भने नयाँ दल दर्ता प्रक्रिया शुरु भएको मितिले २१ दिनभित्र नयाँ दल रोज्न पाउँछन् । आयोगले त्यो २१ दिनको डेडलाइन २०७८ भदौ २ गते देखि २२ गते बेलुका पाँच बजेसम्मलाई तोकेको छ ।