-ललितपुर जिल्लाभित्रका चार वटा ए डिभिजन फुटबल क्लबलाई आर्थिक सहयोग

ए डिभिजनका ४ वटा फुटबल क्लबलाई ललितपुर महानगरको आर्थिक सहयोग

Hollywood Khabar March 20,2019 Comments

ललितपुर/७ चैत, ललितपुर महानगरपालिकाले ललितपुर जिल्लाभित्रका चार वटा ‘ए’ डिभिजन फुटबल क्लबलाई आर्थिक सहयोग उपलब्ध गराएको छ । महानगरको दोस्रो नगरसभाको निर्णय भए अनुसारको रकम लिन बाँकी रहेका ४ वटा ‘ए’ डिभिजन फुटबल क्लबहरुलाई विहिबार उक्त रकमको चेक हस्तान्तरण गरिएको हो ।

महानगरपालिका एक कार्यक्रम गरी मेयर चिरीबाबु महर्जनले क्लबका अध्यक्षहरुलाई आर्थिक सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् ।

महानगरले ‘ए’ डिभिजनमा रहेका फ्रेण्डस्, जावलाखेल, च्यासल र ब्रिगेड व्वाइज क्लबलाई विहिबार रकम हस्तान्तरण गरेको हो । महानगरपालिकाले यस अघि नै जिल्लाभित्रका ए डिभिजन रहेको थ्री स्टार क्लबसहित बी, र सी डिभिजनमा रहेका क्लबहरुलाई रकम प्रदान गरिसकेको छ ।

महानगरले यस आर्थिक वर्षमा पाँच वटा ‘ए’ डिभिजन क्लबहरु फ्रेन्ड्स, ब्रिगेड ब्वाइज, जावलाखेल र च्यासल युथ क्लबलाई वार्षिक रु चार लाखका दरले आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको थियो ।

रकम हस्तान्तरण गर्दै ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले बार्षिक बजेट पुस्तिकामा समावेश गरेर सबै खेलकुद क्लबहरुलाई दिइने रकमको दरबन्दी कायम गर्ने वताए। मेयर महर्जनले भने,‘स्थानीयस्तरमा राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरु उत्पादनका लागि महानगरले भरपूर सहयोग गर्नेछ, हामी सबै खेलको विकासका लागि एउटा मापदण्ड बनाएर सहयोग गर्छौ।’
त्यस्तै उपमेयर गीता सत्यालले जनप्रतिनिधि नभएको अवस्थामा पनि खेलकुद क्लबहरुले पाउने आर्थिक सहयोगको सुनिश्चितता गरिने वताइन्। उनले भनिन्,‘ विगतमा १९ वर्ष जनप्रतिनिधि नहुँदा खेलकुद क्षेत्रलाई मुल्याँङ्कन गरेर रकम दिने परम्परा बसेको थिएन, अब हामी त्यसलाई व्यवस्थित बनाएर विवरण गर्ने वातावरण बनाउँछौं।’

त्यस्तै सामाजिक विकास समितिका संयोजक दिनेश कार्कीले स्थानीयस्तरमा राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरुलाई प्रोत्साहन गर्नका लागि महानगरले आर्थिक सहयोग उपलब्ध गराएको बताए।

त्यसैगरी महानगरको दोस्रो नगरसभाले ‘बी’ डिभिजनमा रहेका जिल्लाभित्रका क्लबलाई वार्षिक रु तीन लाख र ‘सी’ डिभिजन क्लबलाई वार्षिक रु दुई लाख उपलब्ध गराउने निर्णय गरेको थियो । सो अनुरुप सबै क्लबहरुले आर्थिक सहायता पाइसकेका छन् ।

महानगरभित्रका ‘ए’ डिभिजन क्लबहरुले राष्ट्रियस्तरको कुनै पनि प्रतियोगिता जीत हासिल गरेमा उपाधिपिच्छे रु चार लाख रुपैयाँ उपलब्ध गराउने निर्णय समेत महानगरको दोस्रो नगरसभाबाट पारित भइसकेको छ । सोही अनुरुप गत वर्ष सात वटा प्रतियोगिताको उपाधि जितेर जिल्लाको गरिमा बढाउने काम गरेको भन्दै थ्रीस्टार क्लबले रु २८ लाख आर्थिक सहयोग समेत यसअघि नै प्राप्त गरिसकेको छ ।