६० वर्ष माथिकालाई एनटिसीको निःशुल्क सिम दिइने

६० वर्ष माथिकालाई एनटिसीको निःशुल्क सिम दिइने

Hollywood Khabar September 30,2021 Comments

अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा नेपाल टेलिकमले ६० वर्ष माथिका ज्येष्ठ नागरिकहरुलाई सिमकार्ड निःशुल्क दिने भएको छ । निःशुल्क सिमकार्ड यही असोज २५ गतेसम्म मात्र पाइने छ । यो सिममा १० रुपैयाँ मात्र ब्यालेन्स हुनेछ । ४० मिनेटसम्म कुरा गर्ने, २० वटा एसएमएस पठाउने र ६० एमबी डाटा प्रयोग गर्न सकिने सुविधा छ । 

तर यी सबै सुविधा एक महिनाभित्र प्रयोग गरिसक्नुपर्छ ।संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वभर अक्टोबर एक तारिखमा अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइन्छ । सन् २००१ देखि हरेक वर्ष ज्येष्ठ नागरिकको सम्मानमा यो दिवस मनाउने गरिन्छ । यस वर्षको ज्येष्ठ नागरिक दिवसको नारा ‘सबै उमेर समूहका लागि विद्युतीय प्रविधिको प्रयोगमा समानता’ तय गरिएको छ ।

ज्येष्ठ नागरिकहरुको सम्मानमा सरकारले मासिक चार हजार रुपैयाँ भत्ता उपलब्ध गराउँदै आएको छ । तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको पालामा ज्येष्ठ नागरिकहरुलाई मासिक एक सय रुपैयाँ दिएर यसको सुरुवात गरिएको थियो । सरकारले ज्येष्ठ नागरिकहरुको स्वास्थ्य उपचारमा सहुलियत, गाडी भाडामा ५० प्रतिशत छुट, सरकारी कार्यालयमा लाइन लाग्न नपर्ने लगायतका सुविधा दिंदै आएको छ ।