छैठौं अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको समुद्घाटन

प्रधानसेनापति थापाबाट छैठौं अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको समुद्घाटन

Hollywood Khabar November 20,2018 Comments

नेपाली सेनाको आयोजना तथा राष्ट्रिय खेलकुद परिषद र अखिल नेपाल फुटबल सङ्घको प्रविधिक सहयोगमा सञ्चालन भएको प्रधानसेनापति छैठौं अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता समुद्घाटन भएको छ।

२०७५ मंसिर ०५ गते प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले जंगी अड्डास्थित फुटबल मैदानमा एक बिशेष समारोहका बीच सो खेलको समुद्घाटन गर्नुभएको हो। प्रधानसेनापति छैठौं अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता २०७५ मा विभागिय टिमहरु लगायत प्रथम पटक ७ प्रदेशका महिला फुटबल टिमहरु र मित्रराष्ट्र भारतको महिला फुटबल टिम २ गरी जम्मा १२ टिमको सहभागिता रहेको छ।

२०७० सालबाट शुरु भएको उक्त प्रतियोगितमा पुरस्कार राशी क्रमश: प्रथमलाई रु. ३,००,०००, द्वितियलाई रु. १,५०,००० र तृतियलाई रु. ५०,००० नगत पुरस्कारका साथै उत्कष्ट खेलाडीलाई यामाहा कम्पनिको स्कुटर समेत रहेको छ ।

जङ्गी अड्डास्थित खेल मैदानमा प्रदेश नं.१ र प्रदेश नं.७ वीच भएको खेलमा प्रदेश नं.७ ले १ को विरुद्ध २ गोल हानि विजयी भएको छ भने सैनिक शारीरिक तालिम केन्द्र लगनखेलस्थित खेल मैदानमा प्रदेश नं.३ र प्रदेश नं.४ वीच भएको खेलमा प्रदेश नं.३ ले १ को विरुद्ध ४ गोल हानी विजयी भएको छ ।

आज भएको खेलहरुमा प्रदेश नं.३ की मनिषा थापा मगर र प्रदेश नं.७ की अञ्जली चन्द प्लेयर अफ दि म्याच घोषित भएका थिए । प्लेयर अफ दि म्याच अञ्जली चन्दलाई प्रधानसेनापति थापाले पुरस्कार समेत वितरण गर्नु भएको थियो। मंसिर १२ गतेसम्म संचालन हुने उक्त प्रतियोगिताका सबै खेलहरु नक आउटका आधारमा खेलाइने छ।

समुद्घाटन कार्यक्रममा नेपाली सेनाका पूर्व प्रधानसेनापति, राष्ट्रिय खेलकुद परिषदका अध्यक्ष, अखिल नेपाल फुटबल सङ्घको अध्यक्ष, नेपाल ओलम्पिक कमिटिका अध्यक्ष, नेपाली सेनाका वहालवाला तथा अवकास प्राप्त रथीवृन्द, अन्य सुरक्षा निकायका पदाधिकारीहरु, नेपालस्थित विदेशी सैनिक सहचारीहरु, नेपाली सेनाका अधिकृतहरु, सञ्चारकर्मीलगायत खेलप्रेमी दर्शकहरुको समेत उल्लेख्य उपस्थिती रहेको कुरा सेनाले बिज्ञप्तिमा जनाएको छ।