अमेरिकाले पूर्ण मात्रा खोप लगाएका यात्रुलाई प्रवेश खुला गर्ने

अमेरिकाले पूर्ण मात्रा खोप लगाएका यात्रुलाई प्रवेश खुला गर्ने

Hollywood Khabar September 20,2021 Comments

बीबीसी । अमेरिकाले कोरोना भाइरस यात्रा प्रतिबन्धलाई खुकुलो पार्दै यूके, युरोपियन युनियन र अन्य राष्ट्रका यात्रुलाई अमेरिका प्रवेश पुनः खुला गर्ने भएको छ । पूर्ण मात्रा खोप लगाएका विदेशी यात्रुलाई आउँदो नोभेम्बरदेखि अमेरिकामा प्रवेश गर्न अनुमति दिइनेछ ।
 
अमेरिकाले गत वर्षदेखि कडा प्रतिबन्धहरू लगाएको छ । यो कदमले युरोपियन साझेदारहरूको एउटा प्रमुख मागको जवाफ दिएको छ । अब प्रतिबन्धका कारण छुट्टिएका परिवारहरू र साथीहरू पुनःमिलन हुन सक्नेछन् । ह्वाइट हाउसका कोभिड–१९ संयोजक जेफ जिएन्टस्ले सोमबार नयाँ नियमको घोषणा गरेका हुन् । उनले यो नियम देशमा भन्दा पनि व्यक्तिमा आधारित भएको बताए । त्यसैले यो बलियो प्रणाली भएको उनको भनाइ छ । “एकदमै महत्त्वपूर्ण कुरा विदेशी नागरिकले अमेरिका उड्न पूर्ण मात्रा खोप लगाउनु आवश्यक छ”, उनले भने ।
 
अमेरिकाले सुरुमा २०२० को सुरुतिर चिनियाँ यात्रुमाथि यात्रा प्रतिबन्ध लगाएको थियो । पछि अन्य देशहरूमा विस्तार गरेको थियो ।  नयाँ नियमअनुसार विदेशी यात्रुले अमेरिका उड्नुअघि खोप लगाएको प्रमाण देखाउनुपर्नेछ । खोपको पूर्ण मात्रा लिएका यात्रु क्वारेन्टाइनमा बस्नुपर्ने छैन । कुन खोप लगाएको हुनुपर्ने भन्ने बारेमा भने स्पष्ट पारिएको छैन ।