काठमाडौं उपत्यकामा असोज २० देखि खाद्यका खसीबोका बिक्री हुने

काठमाडौं उपत्यकामा असोज २० देखि खाद्यका खसीबोका बिक्री हुने

Hollywood Khabar October 03,2021 Comments

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आउँदो असोज २० देखि खसीबोकाको बिक्री वितरण सुरु गर्ने भएको छ । कम्पनीले यस वर्षको दसैँका लागि २ हजार खसीबोका काठमाडौंमा ल्याउने तयारी गरेको छ । गत वर्ष एक हजारवटा खसीबोका र एक हजार वटा च्याङ्ग्रा बिक्री गरेको कम्पनीले यस वर्ष दुई हजारवटा खसीबोकामात्रै बिक्री वितरण गर्न लागेको हो । 

कम्पनीले बजार मूल्य नियन्त्रणका लागि भन्दै हरेक वर्षको दसैँमा खसीबोका र च्याङग्रा बिक्री गर्दै आएको छ । तर, यस वर्ष च्याङ्ग्रा नपाइएको र पाइएको पनि मूल्य अत्याधिक बढेको भन्दै कम्पनीले च्याङ्ग्रा बिक्री वितरण नगर्ने बताएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी वाग्मती प्रदेश कार्यालयकी सूचना अधिकृत सर्मिला न्यौपानेले घटस्थापनाको भोलिपल्टदेखि अर्थात् असोज २२ गतेदेखि राजधानीमा खसीबोका बिक्री वितरण सुरु गर्ने जानकारी दिइन् । कम्पनीले दाङको तुलसीपुरबाट ८ सय वटा र हेटौडाबाट १२ सय वटा खसीबोका ल्याउने तयारी गरेको पनि उनले बताइन् ।

कम्पनीले विगतमा निजि क्षेत्रले बेच्ने बजार मूल्यभन्दा प्रति किलो १० रुपैयाँ मूल्य घटाएर खसि बोका बिक्री गर्ने सूचना अधिकृत न्यौपानले जानकारी दिइन् । कम्पनीले माग धान्नभन्दा पनि बजार मूल्य नियन्त्रणका लागि विगतमा झैँ यसपटक पनि खसीबोका बिक्री गर्न लागेको बताएएको छ । दसैँका बेला काठमाडौं उपत्यकामा खसीबोकाको ११ लाख किलोभन्दा बढी मासु खपत हुने अनुमान छ । चाडपर्वमा उपभोक्तालाई राहत दिनका लागि कम्पनीले सहुलियत पसल पनि सञ्चालनमा ल्याएको छ ।