बाढीपहिराबाट हुने क्षति न्यूनीकरण गर्न मुख्यमन्त्री आचार्यको निर्देशन

बाढीपहिराबाट हुने क्षति न्यूनीकरण गर्न मुख्यमन्त्री आचार्यको निर्देशन

Hollywood Khabar August 29,2021 Comments

प्रदेश नं १ का मुख्यमन्त्री एवं आन्तरिक मामिला तथा कानूनमन्त्री भीमप्रसाद आचार्यले  विगत केही दिनदेखि भइरहेको अत्यधिक वर्षाका कारण हुनसक्ने बाढी पहिरो, डुबान र कटान नियन्त्रण गरी क्षति न्यूनीकरण गर्न सुरक्षा निकायहरुलाई  निर्देशन दिएका छन् । 
 
आन्तरिक मामिला तथा कानून मन्त्रालयलद्वारा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको उच्चस्तरीय विपद् व्यवस्थापन समितिको बैठकमा मुख्यमन्त्री आचार्यले १४ जिल्लामै सबै सुरक्षा निकायहरुलाई उच्च सतर्कता राख्न र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा समन्वय गरी सूचना सम्प्रेषण गर्ने निकाय गठन गर्न निर्देशन दिए ।
 
उनले कोशी नदीबाट उदयपुरको बेलका नगरपालिका–२, ३ र ८ तथा सुनसरीको बराह नगरपालिका–६ गरैया टापुमा हुनसक्ने कटान नियन्त्रण गर्न सुरक्षाकर्मीहरु परिचालन गर्न पनि आग्रह गरे । आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव राजेन्द्र पौडेलले कोशी कटानको स्थितिबारे जानकारी गराउनुभएको थियो । सो कार्यक्रममा मन्त्रीहरु, प्रमुख सचिव र सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो । -रासस