कांग्रेस सामाजिक आन्दोलन हो भने पार्टिमा नयाँ नेतृत्व जन्मिनुपर्छ

कांग्रेस सामाजिक आन्दोलन हो भने पार्टिमा नयाँ नेतृत्व जन्मिनुपर्छ

Hollywood Khabar September 16,2021 Comments

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन नजिकिएसँगै अब अधिबेशन हुन बाकी रहेका पालिका, प्रदेश, क्षेत्र र जिल्ला अधिवेशनको लागी उम्मेदवारी घोषणा गर्ने क्रम देशभर सुरु भएको छ । सोही अनुरुप कांग्रेसले सिन्धुलीको सबै ७९ वडामा वडाअधिवेशन सम्पन्न गरेसँगै अब हुने अधिबेशनको लागी विभिन्न क्षेत्र तथा पदमा आकांक्षी रहेका उम्मेदवारले आफ्नो उम्मेदवारी घोषणा गर्न थालेका छन । सिन्धुली लगाएत धेरै जिल्लामा वडा अधिबेशन सम्पन्न भैसकेको भएपनी देशका केही जिल्लाहरुमा क्रियाशिल सदस्यको समेत टुंगो लाग्न नसक्दा वडा अधिबेशन समेत भएको छैन । जसले गर्दा अब बाकी रहेको पालिका देखी जिल्ला तह सम्मको अधिबेशन निर्धारित समयमै सम्पन्न हुन्छ नै भनेर एकिन गर्न गाह्रो छ । यद्यपि जिल्ला तहमा हुने नेपाली काङ्ग्रेसको १४ औं अधिबेशनको लागी सभापती उम्मेदवारको बिषयलाइ लिएर अहिले सिन्धुलीको लोकतान्त्रिक चौक, ढुङ्ग्रेबास, शिवनगर लगायतका चिया पसल तथा चौकहरुमा विभिन्न अड्कलबाजीहरु गर्न थालिएको छ । त्यसो त वडाबाट क्षेत्रीय प्रतिनिधि भएर आउने प्रतिनिधिहरुको जमात अहिले युवा केन्द्रित छ । यो पुस्ताको प्रतिनिधिहरुले काङ्ग्रेसको नेतृत्वमा अब युवा प्रतिनिधित्व हुनुपर्छ भन्ने स्पष्ट संकेत देखाइरहेका छन । युवाको जोसिलो साथ, हौषला र प्रोत्साहनले आफू नेपाली काङ्ग्रेस सिन्धुलीको पार्टी सभापतिको उम्मेदवार रहेको बताउदै आउनुभएका उपेन्द्र कुमार पोखरेलसंग गरिएको कुराकानीको केही सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

तपाईं कांग्रेस सिन्धुलीको सभापतीको उम्मेदवार दुई/दुई पटक महाधिवेशनको समयतालिका फेरबदल भैसक्यो अब तोकिएको समयमा महाधिवेशन हुन्छ नै भन्ने तपाईंलाई लाग्छ ?

नेपालको सन्दर्भमा लोकतन्त्रको पर्याय हो कांग्रेस । हामिले प्रजातान्त्रीक पद्धतिलाई अबलम्बन गर्न सकेनौँ भने सिंगो सिष्टम प्रति नकारात्मक प्रभाव पर्छ । संगसंगै के छ भने नेपालको संवैधानिक व्यवस्था अनुसार हामीले भदौ भित्रमा महाविधेशन गरिसक्नु पर्ने छ । यद्यपी समस्याहरु धेरै छन्, कोभिडले असहज परिस्थति निर्माण भएको छ । तर, कांग्रेसले महाधिवेशन गर्नु पर्ने बाध्यतासंगै यसलाई अवसरका रुपमा पनि कांग्रेसले प्रयोग गर्नसक्नुपर्छ । त्यो प्रयास पार्टीले गरिरहेको छ । सिन्धुलीमा पनि यो प्रयास सुरु भएको छ । सम्भवत अब महाधिवेशनको मिति निर्धारण गरिएको समय भन्दा पछि सर्दैन । तोकिएको समयमा नै सम्पन्न हुन्छ ।

कांग्रेसको अधिवेशनबाट सिन्धुली कांग्रेस र कांग्रेसीले गरेको अपेक्षा के हो तपाइँको बिचारमा ?  

अधिवेशन कुनै एउटा व्यक्तिले नेतृत्व अवसर पाउने, कुनै समूहले नेतृत्व पाउने भन्ने हैन । कांग्रेस एउटा पार्टीका रुपमा मात्रै नबुझ्दा पनि हुन्छ । कांग्रेस मुभमेन्ट पनि हो । कांग्रेस समाजवादी आन्दोलन पनि हो । कांग्रेस राष्ट्रिय जागरणको आन्दोलन पनि हो । यसर्थ कांग्रेसको काँधमा धेरै जिम्मेवारी छन् । ईतिहासलाई हेर्ने हो भने सिन्धुली कांग्रेसको ईतिहास साह्रै प्रतिष्ठापूर्ण छ, यद्यपी धेरै पात्रहरुका बारेमा धेरैलाई थाहा नहुन पनि सक्छ । कांग्रेस स्थापनाका लागि धेरै नेताहरुको धेरै ठूलो परिश्रम छ । सामाजिक आन्दोलन प्रतिको विश्वास पनि थियो उहाँहरुमा । प्राप्तीका लागि उहाँहरुले आन्दोलन थाल्नु भएको थिएन, उहाँहरु परिवर्तनका लागि आउनु भएको थियो । पार्टी स्थापनादेखि कांग्रेस सिन्धुलीमा धेरै जेनेरेशन जन्मिएका छन । ति जेनेरेशनले कांग्रेसको साख जोगाएर यहाँ सम्म पार्टी पार्टिको रुपमा यहाँ छ । मैले यो दोषारोपणका लागि बोलिरहेको छैन । तर पनि हिजोको त्यो कांग्रेसको नेतृत्वको गौरव र अहिलेको नेतृत्वलाई तुलना गर्दा, अहिले भएका गतिविधीहरुको कुरा गरौँ, सामाजिक आन्दोलनको अवस्थाका बारेमा कुरा गरौँ। २००७ देखि ०१७ को कांग्रेसको कालखण्ड र २७ देखि ६२ सम्मको काल खण्ड हेर्ने बेलामा पछिल्लो कालखण्ड निराशाजनक छ । यहिँनेर हो मेरो प्रश्न। फलतः त्यो कांग्रेसको नेतृत्वले छोडेको प्रभाव पुनः स्थापनाका लागि अधिवेशनले भूमिका खेल्नु पर्छ, हामी सबैको अपेक्षा यहि हो ।

कांग्रेसको जिम्मेवारीलाई यो महाधिवेशनले सम्बोधन गर्ने आधार चाहिँ के हो ?  

नेतृत्वका आपसी समझदारीका विषय के थिए ? कुन प्रयत्नका माध्यमबाट २००७ देखि ०१७ सम्म त्यो नेतृत्व सफल भयो ? ०२७ पछि किन कमजोरी भयो ? यदि त्यो आवश्यक हो भने हामीले प्रयास गर्ने कि नगर्ने ? ७ देखि १७ सम्म आइपुग्दा देशमा कांग्रेस बाहेकको अर्को शक्ति थिएन । सारा सबैको नेतृत्व कांग्रेसमा थियो । बीचमा समस्या भयो । ०२७ पछि पुनः ट्र्याकमा आयो । तर, हिजोको त्यो अवस्था र भित्र हुने गरेका सहमति, सहकार्यका उदाहरण छन्, तिनले प्राप्ती पनि दिएका छन् । अहिले सिन्धुलीको समग्र मोर्चा अझ भनौ देश संघीय संरचनामा गइसकेपछी स्थापना भएका पालिका, वडा, प्रदेश र संघमा कांग्रेसको प्रतिनिधित्व निराशाजनक छ । त्यस कारण ऐतिहासिक ओज कायम गर्ने हो भने सिन्धुली कांग्रेसमा युवा नेतृत्वको उदय हुन जरुरी छ

तपाईं त सिन्धुली कांग्रेसको पुर्व पार्टी सचिव पनि हुनुहुन्थ्यो समितीको पदाधिकारीमा बसेर लामो समय काम गरिसक्नु भएको छ खासमा अहिले भएको पार्टिमा समस्या चाही के हो ?

सुरुमा त कांग्रेस भित्रको प्रवेश कसरी भयो भन्ने हो ? मनदेखि कि बुद्धिबाट । अहिले पछिल्लो अवस्थामा हामी राजनीतिसंग लाभ लिने अवस्थामा छौँ । तर, कांग्रेसभित्रको एकता कायम गर्ने बेला हजारौँको प्रयासबाट सम्भव हुने हो, नेतृत्व एकजनाले गर्ने हो । सिन्धुलीकै मात्र कुरा नगरेर समग्र कांग्रेसको कुरा गरौं न के सबै जिल्ला सभापतिहरु मन्त्री हुनु भयो ? माननीय हुनु भयो ? मेयर हुनु भयो ? नेतृत्वकर्ताले सहयोग गर्ने साथीहरुको अनुहार आफ्नो अनुहारबाट प्रतिबिम्व गर्ने, कामबाट व्यक्त गर्ने हुनु पर्थ्यो तर त्यो भएन । अब ढिला भैसकेको छ । अहिले पनि हामी आत्म केन्द्रित भएर, आफूलाई केन्द्र बिन्दुमा राखेर संगठनबाट प्राप्तीको मात्रै कुरा गर्यौँ भने हामीले अरुलाई अवसर दिने त टाढाको कुरा, हामीले पनि कुनै जनताबाट अवसर पाउने अवस्थामा रहने छैनौँ, म ठोकुवा गरेर भन्न सक्छु । त्यहि भएर पार्टिमा पछिल्लो गतिविधी, सहकार्य, एकताको बाटो खोल्ने परिस्थितिको निर्माणमा हामी जुट्नुपर्छ हुनुपर्छ ।

कांग्रेसको यो रोगमा के यस १४ औं महाविधेशनले मल्हमको काम गर्न सक्ला त ?  

सक्छ । त्यो हिम्मत हामीले गरिरहेका छौं । हामी त नाफा, घाटा भित्रको खेल भित्रका खेलाडीहरु हौँ तर पार्टिको हरेक आन्दोलनमा सरिक, पार्टिलाइ अफ्टेरो पर्दा दु:खका सारथीहरु, हामी भन्दा पछिल्लो पुस्तामा बिचार र आस्थाको आधारमा पार्टिमा लाग्नुभएका युवा सर्कल उहाँहरु बोल्ने बेला हो यो । उहाँहरुलाई म भन्न चाहान्छु साथीहरु बोलौँ । जो साथीहरु कांग्रेस कमजोर भएको अवस्थाले चिन्तीत हुनुहुन्छ, उहाँहरु बोल्नु पर्छ । कुनै व्यक्तिका पछाडी लागेर हैन, एक्लै हिँडेर मुक्ती पाउनु हुन्न भनेर साथीहरुले भन्नु पर्छ । अर्घेल्याईँ जसबाट भएको हो, त्यो पनि भन्नु पर्छ । बिगत हेरौं कांग्रेस कमजोर भएको अवस्थामा शेरबहादुर देउवाको प्रधानमन्त्री हुने कुर्सी मात्रै गएको थिएन, रामचन्द्र पौडेलको प्रधानमन्त्री बन्ने सम्भावना मात्रै तुहिएको थिएन । नेताहरुको मन्त्री हुने सम्भावना मात्रै गएको थिएन । यहाँ त कांग्रेसमा मत हाल्ने मतदाताहरुको शान गुमेको छ । पधेँरामा जाने बेलामा कांग्रेसलाई मत हाल्ने दिदीबहिनीहरु नबोलेर लाईन कुरेर पछाडी बस्नु पर्ने अवस्था छ । चिया खाने ठाउँमा छाती खुला पारेर बोल्ने अवस्था छैन । के कांग्रेस कुनै एउटा स्वार्थ समूहको मात्रै पार्टी हो ? कांग्रेस मन्त्री, सांसद, केन्द्रीय सदस्य, प्रधानमन्त्री, पदाधिकारी बन्नेहरुको लागी मात्रै पार्टी हो ? यदि कांग्रेस सामाजिक आन्दोलन हो भने आम कांग्रेस कार्यकर्ताहरुले पार्टिमा नयाँ नेतृत्व जन्माउन आबस्यक छ ।यसको लागी कृपया साथिहरु तपाइहरु बोलिदिनुस ।

अबसरको ढोका त तपाइँमा पनि खुल्ला थियो । तपाईलाई कमलामाइ नगरपलिकाको मेयरको उम्मेदवार पार्टिले नै बनाएको होईन र ? तपाईं पराजित हुनुभएको कि पार्टी पराजित भएको ?

कांग्रेस पराजित हुँदा जजसले पीडा भोग्नु भएको छ उपेन्द्र पोखरेल त्यसैको उपज हो । कसैलाई लाग्ला मैले उपेन्द्र पोखरेललाई मेयरमा हराए । तर उहाँहरु आज पार्टिमा आफ्नो हैसियत खोजिरहनु भएको छ । आफ्नो स्थान त्यो पनि सम्मानित स्थान खोजिरहनु भएको छ । उहाँहरुले बुझ्नु पर्छ पार्टिको उम्मेदवार थियो उपेन्द्र पोखरेल न कि उपेन्द्र पोखरेलको उम्मेदवार पार्टी । जहाँ हामी नेतृत्वका लागी चुकेका छौ, पछाडी परेका छौ उहाँहरुले बोल्नुस् । यदि एकता भएन भने हार्ने हामि मात्रै हैन, पार्टिले पनि हार्छौँ भन्नुस् ।  

यसमा दोष पार्टिको नेतृत्वमा हो कि पार्टीको हरेक पंक्तीमा क्रियाशिल कांग्रेसीको समस्या हो ?  

यसमा दुईवटा कुरा छ । गाउँमा काम गर्ने कार्यकर्ताको यसमा दोष छैन, प्राप्तीका लागि लडेका कार्यकर्ताहरु बीचको समस्या हो यो । हामी प्राप्त गरेका बीचको समस्या हो यो । हामीले प्राप्त गर्ने कुरा केन्द्रीय नेतृत्वसंग भनसुन गरेर पाउन सक्छौँ । त्यो बेला हामीले भन्यौँ ? न्यायका आधारमा अवसर देउ भनेर नेतृत्वलाई भन्यौँ ? मैले आफूलाई म मात्रै भन्दै गर्दा अरुलाई निषेध गरेँ त मैले । कति जना जिल्ला सभापतिले टिकट पाए ? कति जना क्षेत्रीय सभापतिले पाए ? केन्द्रको नेतृत्वलाई पकडेर अवसर प्राप्त हुन्छ भने किन हामीले कांग्रेसीको मन जित्नु पर्यो ? यो प्रबृत्ति दुरुत्साहित हुनु पर्छ, यसले कांग्रेसलाई नोक्सानी गरेको छ । प्राप्त गर्नेहरुले आत्म समिक्षा गर्नु पर्यो अब । मैले प्राप्त गर्ने बेलामा म भन्दा क्षमतावान साथीहरु माथि अन्याय भयो ? प्रजातन्त्र माथि प्रहार भयो ? भन्ने प्रश्न आफूले आफूलाई किन सोध्न नसक्ने ? कांग्रेसमा कुनै एक नेताको प्रिय बनेपछि सबै पुग्छ र पाईन्छ भन्ने कुरा स्थापित भयो भने संगठन कसले गर्छ ? काठमाडौँको सभापति मन्त्री बन्न हुने, काभ्रेको सभापति मन्त्री बन्न हुने तर सिन्धुली कांग्रेसको सभापति मन्त्री बन्न नहुने ? यदि यहाँ पनि हामी भित्र सहकार्य भएको भए सहज हुन्थ्यो होला नि । अब विगतलाई समिक्षा गर्दै एकताका लागि सिन्धुली कांग्रेसमा साहस जन्मिनु पर्छ । हिजो कांग्रेस भित्र भएका जिम्मेवारी हामीले किन नलिने ? त्यो जिम्मेवारी आएको छ । कसैलाई संगठन भन्दा पार्टी प्रमुखको ईच्छा जागेको होला, तर कमजोर पार्टीको प्रमुख हुनुको के अर्थ ?  

तपाइँ सिन्धुली कांग्रेसको सभापतिको उम्मेदवार तपाइँ नेतृत्वमा आउदै गर्दा यहाँका कांग्रेसीले के अपेक्षा गर्ने ?

हेर्नुस, वर्तमान कमजोर भयो भने भविष्य कमजोर हुन्छ, त्यो सबैले बुझेको अवस्था हो । त्यो प्रयास परिणामले देखाउन जरुरी छ । देखाउनका लागि मात्रै प्रयास हुनु भएन । परिणाममुखी बनाउने हो भने, हामी ईमानदार हुनु पर्यो । हदभित्र बस्न तयार छौँ भनेर हामी एक भएर लाग्नु पर्यो । हामी नेतृत्व बीचमै ईमान्दारिता खोजौ, म १४ औं अधिवेशनमा सभापति पदको प्रत्यासी छु । मलाई यो बेला लागेको छ, कि म नेतृत्वमा आएँ भने धेरै कुरा गर्न सक्छु । तर मलाई अहिले कांग्रेसको नेतृत्वको बीचमा सहकार्य नहुने हो भने कुनै एउटा व्यक्तिले नसक्दो रहेछ भन्ने कुरा मैले मात्रै होइन सबै आकाङ्क्षिले बुझ्नु पर्छ । तर म आफैमा कमजोर भएर यो भनिरहेको छैन, म सबै कांग्रेसको नेतृत्व र कार्यकर्तालाई बिश्वास दिलाउन चाहान्छु, त्यो सुधार्न सकिन्छ । यो सहाकार्य र एकताकै माध्यमबाट सकिन्छ । बिना सहकार्य, निषेधबाट किमार्थ सकिन्न । यसबाट कुनै पनि साथी सुरक्षित रहन सक्दैनन् पनि । यसकारण सहकार्यको प्रयास भएको छ । आफूलाई केन्द्रमा हैन, संगठनलाई केन्द्रमा राखेर अघि बढौँ । को सभापति बन्ने ? माननीय को ? यो प्रमुख कुरा हैन, कुन तरिकाबाट बन्ने ? भन्ने प्रमुख कुरा हो ।  

स्थानीय चुनावको नजिकै महाधिवेशन सम्पन्न हुदैछ, के यो महाधिवेशनले चुनावलाई असर पार्ला ?  

अवसरबाट हरेकलाई सन्तुलित बनाउने हो भने धेरै अवसर छ । धेरै सम्भावनाहरुलाई स्थापित गर्न सक्छौँ, वडा हार्ने कांग्रेस, गाउँपालिका हार्ने कांग्रेस हुन्न अब । वडादेखि सबै जित्ने कांग्रेस, मुलुकलाई समृद्ध बनाउने कांग्रेस बनाउनु पर्छ अन्तिम र पहिलो भनेकै एकता नै हो । यो बिना सम्भव छैन । पार्टीमा हुने गतिविधीलाई ईमानदार तरिकाले गरौँ । कसैले कसैलाई निषेध नहुने अवस्थाको निर्माण गर्नु पर्छ । मेरो उन्नती अरु साथीहरुको समाप्तीमा छ भन्ने सोचबाट मुक्त होऔँ, मेरो उन्नती अरुको उन्नतीमा मात्रै छ भन्ने सोच्ने हो भने कांग्रेस जहिल्यै सबल र सक्षम सामाजिक आन्दोलनका रुपमा उभिईरहने छ ।