कांग्रेसले थप ७ जिल्लामा गर्‍यो वडा अधिवेशन

कांग्रेसले थप ७ जिल्लामा गर्‍यो वडा अधिवेशन

Hollywood Khabar September 20,2021 Comments

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशन अन्र्तगत मंगलबार वडा अधिवेशन हुन बाँकी २० जिल्लामध्ये ७ जिल्लाको वडा अधिवेशन भएको छ । मंगलबार काठमाडौ, मोरङ, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, कपिलवस्तु, बर्दिया र बाजुरा जिल्लामा वडा अधिवेशन भएको निर्वाचन समितिले जनाएको छ ।

मंगलबार वडा अधिवेशन भएका जिल्लाहरुमा अधिकांश वडाहरुमा सर्वसम्मत र केहि वडामा निर्वाचनमार्फत नेतृत्व चयन भएको छ । केन्द्रीय निर्वाचन समितिले क्रियाशील सदस्यता विवाद हुन नसकेका २० जिल्लाको वडा अधिवेशन एकैपटक मंगलबार गर्ने गरी भदौ २५ गते संशोधित कार्यतालिका ल्याएको थियो ।

तर, १३ जिल्लाको क्रियाशील सदस्यता विवाद समाधान हुन नसकेपछि ती जिल्लामा कार्यतालिका अनुसार मंगलबार वडाअधिवेशन हुन सकेन । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला नेतृत्वको क्रियाशील सदस्यता विवाद समाधान समितिले गत आईतबार १३ जिल्लाको सदस्यता विवाद समाधान भएको जनाएको थियो । तर, समितिले क्रियाशील सदस्यताको सूची केन्द्रीय निर्वाचन समितिलाई बुझाउन नसकेपछि १३ जिल्लाको क्रियाशील सदस्यको सूची सार्वजनिक हुन सकेको छैन् ।

निर्वाचन समितिले बाँकी १३ जिल्लाको क्रियाशील सदस्यताको सूची प्राप्त हुनासाथ वडा अधिवेशन गर्ने जनाएको छ । भदौ १८ गतेदेखि सुरु भएको वडा अधिवेशन कार्यतालिका अनुसार ५७ जिल्लाको वडा अधिवेशन सम्पन्न भईसकेको छ । अन्य ७ जिल्लाको वडा अधिवेशन मंगलबार भएपनि प्रदेश नम्बर २ का आठ जिल्लासहित सुर्खेत,डोल्पा,रसुवा,रुपन्देही र कैलालीको वडा अधिवेशन सुरु हुन सकेको छैन् । महाधिवेशनको कार्यतालिका अनुसार असोज ९ गते गाउँ–नगर अधिवेशन हुँदैछ ।

यस्तै, असोज १२ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन, असोज १५ गते एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन र असोज १८ गते दुई वा दुईभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन गर्ने निर्वाचन कार्यतालिका छ । यसैगरी कार्तिक १०, ११ र १२ गते प्रदेश अधिवेशन र मंसिर ९ देखि १३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने तय गरिएको छ ।