नुवाकोटमा निर्माणाधीन केन्द्रीय कारागारको ८९ प्रतिशत निर्माण सम्पन्न

नुवाकोटमा निर्माणाधीन केन्द्रीय कारागारको ८९ प्रतिशत निर्माण सम्पन्न

Hollywood Khabar September 29,2021 Comments

गमला लामा,  विदुर नगरपालिका–६ खम्बाली क्याम्पमा निर्माणाधीन केन्द्रीय कारागारको भौतिक संरचना निर्माणको ८९ प्रतिशत काम सकिएको छ । सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय धादिङमार्फत करिब ४२ करोड रुपैयाँको लागतमा केन्द्रीय कारागारको संरचना निर्माण भइरहेको छ । हालसम्म ६८ प्रतिशत अर्थात २९ करोड रुपैयाँ निकासा भइसकेको छ । दैनिक रुपमा १ सय ५० भन्दा बढी कामदारले काम गरिरहेको जिल्ला कारागार नुवाकोटका प्रमुख वाग्लेले जानकारी दिए ।

कारागारमा निर्माण हुने ५ वटा सेक्सन मध्ये एउटा सेक्सनको काम अन्तिम चरणमा पुगेको छ । उक्त सेक्सनमा १३ सय ७० जना कैदीबन्दी अट्ने क्षमता छ । अहिलेकै रफ्तारमा निर्माण कार्य हुने हो भने माघ फागुनसम्ममा १३ सय ७० जना कैदीबन्दीलाई नै राख्न सकिन्छ । कामको रफ्तार बढाउनलाई दवाव दिनको लागि पनि तिहार लगत्तै ५ सय कैदीबन्दी राखिने जिल्ला कारागार नुवाकोटका प्रमुख दुर्गा वाग्लेले जानकारी दिए ।
कारागार निर्माणका लागि खम्बाक्याम्पमा रहेको करिब ५ सय ३४ रोपनी सरकारी जग्गा कारागार व्यवस्थापन विभागको नाममा स्वामित्व हस्तान्तरण भइसकेको छ । उक्त निर्माण कार्य लामा–‘रमण जेबी कन्ट्रक्सन’ मार्फत भइरहेको छ । विदुर नगरपालिकाबाट उत्पादित फोहोर खम्बाक्याम्पमा नै व्यवस्थापन गर्ने गरिएको छ । जसले गर्दा त्यहाँ कार्यरत मजदुरहरुलाई समस्या भइरहेको छ ।

केन्द्रीय कारागारमा तिहार लगत्तै कैदीबन्दी राख्ने भएकाले फोहोरको कारण उनीहरुमा पनि समस्या निम्तने सक्ने भएकोले फोहोर व्यवस्थापन केन्द्र अन्यत्र सार्नलाई नगरपालिकालाई आग्रह गरिएको उनले बताए । वि.सं २०७० चैत २० को मन्त्रिपरिषद्को बैठकले काठमाडौंस्थित केन्द्रीय कारागारलाई नुवाकोटमा 
 स्थानान्तरण गर्ने निर्णय गरेको थियो । सोही निणर्य अनुसार निर्माण भइरहेको केन्द्रीय कारागार नुवाकोटमा ७ हजार कैदीबन्दी अट्ने क्षमताको हुनेछ । निर्माणाधीन केन्द्रीय कारागारमा खेल मैदान, अस्पताल, विद्यालय एवं क्याम्पस, पुस्तकालय, सीप प्रवद्र्धन केन्द्र, योगकेन्द्र र किरियापुत्री कक्ष रहने गरी निर्माण कार्य अघि बढिरहेको छ । -कारोबार दैनिकबाट