जनसम्पर्क समिती अमेरिका साधारण सभाको अपडेट

Hollywood Khabar March 01,2017 Comments

भर्जिनिया, अमेरिका, मार्च २, २०१७
नेपाली कांग्रेसको अमेरिकास्थित भातृ संस्था नेपाली जनसम्पर्क समिति, अमेरिकाको पहिलो वार्षिक साधारण सभाको आन्तरिक तयारी तीव्र रुपमा जारी छ।
समितिको पहिलो वार्षिक साधारण सभा आगामी अप्रिलको २२ तारिख भर्जिनियाको मनाससमा हुँदैछ। साधारण सभालाई व्यवस्थित र भव्य बनाउन केन्द्रीय उप-सभापति केशब बरालको संयोजकत्वमा गठित मूल तयारी समिति र स्थानीय व्यवस्थापन संयोजनको जिम्मेवारी पाएको भर्जिनिया च्याप्टरका सभापति रामशरण हुमागाईं नेतृत्वको समिति सक्रियतापूर्वक लागि परेको छ।
मूल तयारी समितिका संयोजक केशब बरालका अनुसार, अहिलेसम्म कार्यक्रमस्थल तय, होटल व्यवस्थापन, प्रमूख आतिथ्यताका लागि मातृपार्टी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई औपचारिक निमन्त्रणा हस्तान्तरण, स्थानीय जिम्मेवारी बाँडफाँडलगायतका तयारी पुरा भएको छ। समितिले होटल बुकिङ्ग कार्य केही दिनमा नै खुल्ने गरी तयारी गरिरहेको छ। डिपोजिट जम्मा गरिसकेका छौं,अब होटलले औपचारिक जानकारी गराईसके लगत्तै हामी होटल बुकिङ्ग समेत खुला गर्नेछौं'बरालले भने। 
देउवा साधारण सभा उद्घाटन गर्न आउने
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समितिको प्रथम वार्षिक साधारण सभा उद्घाटन गर्ने गरी समितिले तयारी जारी राखेको छ । यसका लागि समितिका सभापति आनन्द विष्टले पार्टी सभापति देउवासँग टेलिफोन कुराकानी गरी औपचारिक निमन्त्रणा समेत पठाई सकेको बुझिएको छ। समितिको तर्फबाट हाल नेपालमा रहनु भएका उप-सभापति धर्मराज श्रेष्ठ र केन्द्रीय सदस्य अमृत भट्टराईले सभापति देउवालाई भेटी समितिको औपचारिक निमन्त्रणा बुझाई सक्नु भएको छ। निमन्त्रणा स्वीकार गर्दै सभापति देउवाले आफू यथाशक्य प्रयास गरेर साधारण सभा उद्घाटन गर्न आउने बताउनु भएको उपसभापति श्रेष्ठलाई उद्धृत गर्दै सभापति विष्टले जानकारी दिनु भएको छ ।
सभापतिज्यूले आउने प्रयास गर्छु भन्नु भएको छ र साधारण सभाको तयारी राम्रोसँग गर्न निर्देशन समेत दिनु भएको छ भनेर उपसभापति श्रेष्ठले मलाई जानकारी दिनु भएको छ'सभापति विष्टले भन्नुभयो। पार्टी सभापतिसँगको भेटमा समितिका अन्य गतिविधिका बारे पनि साथीहरुले सभापतिज्यूलाई जानकारी गराउनु भएको छ,हामी आशावादी छौं सभापति देउवा साधारण सभा उद्घाटनका लागि अमेरिका आउनु हुनेछ,त्यही अनुसार हामी तयारी पनि गर्दैछौं' सभापति विष्टको भनाई छ।
अध्यक्षको अपील: संगठन निर्माणमा योगदान गर्न जुटौं
यसैबीच नेपाली जनसम्पर्क समिति, अमेरिकाका अध्यक्ष आनन्द विष्टले एक अपील जारी गर्दै आसन्न साधारण सभामा सहभागिताका लागि जनसम्पर्क समितिका सबै सदस्यलाई आव्हान गरेका छन्। सभापति विष्टले अपीलमा भनेका छन्। यो साधारणसभा नेपाली जनसम्पर्क समिति, अमेरिकाको इतिहासमा एउटा नयाँ अध्याय हुनेछ। साधारण सभाले समितिको भावी कार्यदिशा समेत तय गर्नेछ। समितिको विधान, सांगठनिक गतिविधि, स्वरुप र संरचनामा आवश्यक थपघट र परिमार्जन गर्ने लगायत समितिको अर्को अधिवेशनका लागि च्याप्टरहरुको अधिवेशनको मितिमा एकरुपता दिने, च्याप्टर गाइडलाइनलाई पास गर्ने,केन्द्रीय अधिवेशनको मिति तय गर्ने र संगठनका सबै विषयलाई सम्बोधन गर्ने एकमात्र थलो यो साधारण सभा हुनेछ।
विष्टले आफ्नो अपीलमा अगाडी भनेका छन्,- समितिलाई अमेरिकी कानुन अनुसार कसरी परिचालित गर्ने,अमेरिकाको नेपाली समुदायको हितका लागि समितिले कसरी सेवा प्रदायक काम गर्ने, मातृभुमि नेपालको लोकतन्त्र,मानव अधिकारको सम्वर्द्धन र प्रवर्द्धनमा हाम्रो योगदान के कस्तो रहने, मातृभूमिको आर्थिक विकासमा हाम्रो भूमिका र योगदान कस्तो हुन सक्ने, नेपाल र अमेरिकाबीचको जनस्तरको सम्बन्धमा समितिको योगदान कस्तो हुने,समितिलाई भावी दिनमा कुन दिशामा लैजाने जस्ता विषयहरु पनि यो साधारण सभाका छलफलका विषय हुनेछन्। यही साधारण सभाले नै समितिको भावी स्वरुप र संरचना तय गर्नेछ। त्यसैले, आउनुस् हामी सबै पहिलोपटक हुन लागेको समितिको यो वार्षिक साधारण सभामा सहभागी भएर संगठन निर्माणमा योगदान गर्न जुटौं। साधारण सभा संगठनमा क्रियाशील रहने सबैका लागि उत्तिकै महत्वपूर्ण छ। यो नै एकमात्र आधिकारिक थलो हो हाम्रा आन्तरिक विषयहरुमा छलफल र बहस गरी संगठनलाई कस्तो स्वरुप दिने भन्ने बारे निर्णय गर्न। तसर्थ हामी सबै जुटौं,हातेमालो गरौँ र नेपाली जनसम्पर्क समिति,अमेरिकाको संगठन निर्माणको यो थलोमा सहभागी बनौं।
अन्य तयारी
साधारण सभा सफल बनाउन केन्द्रीय सदस्य गोपाल विश्वकर्माको संयोजकत्वमा आर्थिक समिति समेत गठन गरिएको छ ।
केन्द्रीय समितिले आफुलाई संयोजक तोकी जिम्मेवारी दिए लगत्तै गत साता उपसभापति केशब बरालले मूल तयारी समितिका सदस्यहरुसँग पहिलो छलफल समेत गरिसक्नु भएको छ। मूल तयारी समितिमा संयोजक बराल र सदस्यहरुमा समितिका केन्द्रीय सल्लाहकारहरु विनोद मोक्तान, उमा शाह, आनन्द घिमिरे र निर्मला उप्रेती, केन्द्रीय सदस्यहरु गोपाल विश्वकर्मा, हरि शर्मा र गौतम दाहालसहित भर्जिनिया च्याप्टरका सभापति रामशरण हुमागाईं, मेरिल्याण्ड च्याप्टरका सभापति राजेन्द्र सेन्चुरी र पेन्सिलभेनिया च्याप्टरका सभापति डाक्टर केशब भण्डारी रहनु भएको छ ।
साधारण सभास्थलमा आयोजक र शुभेच्छुकहरु भेटघाट गर्दै
समितिको मिनी अधिवेशनका रुपमा समेत मानिएको यस साधारण सभालाई व्यवस्थित रुपमा सम्पन्न गर्नका लागि नेपाली जनसम्पर्क समितिका नेतृत्वकर्ता, स्थानीय आयोजक समितिका सदस्यहरु र सहयोगीहरुसँग अन्तरक्रिया र भेटघाट कार्यक्रम गर्न लागिएको छ। मूल समितिका संयोजक केशब बरालका अनुसार, आगामी आइतवार दिउँसो मनासासस्थित साधारण सभा हुने होटलमा नै यस्तो कार्यक्रम गर्ने तयारी भैरहेको छ । यसका लागि हामीले केन्द्रीय सभापति आनन्द विष्ट,महासचिव मुनेन्द्र नेम्वाङ्ग, संगठन विभागका प्रमूख वेद खरेलजी र यस क्षेत्रका अन्य पदाधिकारी र सदस्यहरुलाई सम्पर्क गरेका छौं र उहाँहरु आउने जानकारी दिनु भएको छ,हामी सबै जुटेर आसन्न साधारण सभा सफल बनाउन लागिपरेका छौं' बरालले जानकारी दिदैं भन्नुभयो।