नेगीका विस्थापितलाई खाद्यान्न सामाग्री वितरण गरिदै

घ्याङफेदीको विस्थापितलाई खाद्यान्न सामाग्री प्रदान

Hollywood Khabar September 05,2020 Comments

 
नृुवाकोट । दुप्चेश्वर गाउँपालिका वडा नम्बर १ घ्याङफेदीको नेगी स्थित पल्साङ ढुङ्गा डगमगिएर जोखिम बढेसँगै विस्थापित हुन पुगेका परिवारलाई राहत स्वरुप खाद्यान्न सामाग्री प्रदान गरिएको छ ।
 
पहिरोको उच्च जोखिममा रहेका ४७ परिवारलाई आइतवार खाद्यान्न सामाग्री प्रदान गरिएको हो । दुप्चेश्वर गाउँपालिकाको समन्वयमा नेपाली काङ्ग्रेसका महासमिति सदस्य एवं युवा नेता रमेशकुमार महतको पहलमा बोधिसत्व बिहारको सहयोगमा विस्थापित परिवारलाई राहत प्रदान गरिएको हो । गाउँपालिकाका उपाध्यक्ष अञ्जु आचार्यको अनुसार प्रतिपरिवार १ बोरा चामल, ५ किलो चिनी, ५ किलो दाल, ५ किलो आलु, ५ किलो गेडागुडी, ३ लिटर तेल, १ किलो नुन र ४ सय ग्राम मसला प्रदान गरिएको छ ।
 
राहत वितरण कार्यक्रममा पुग्नुभएका नेपाली काङ्ग्रेसका महासमिति सदस्य एवं युवा नेता रमेशकुमार महतले नेगी सहित आसपासका वस्तीको सुरक्षित स्थानमा स्थानान्तरणको लागि पहल गर्ने प्रतिवद्धता जनाउनुभएको छ । साथै उहाँले आगामी दिनमा पनि विस्थापित परिवारलाई निरन्तर रुपमा सहयोग गर्ने बताउनुभएको छ ।
 
यस्तै बोधिसत्व बिहारका प्रोजेक्ट म्यनेजर शान्त शर्माले विपद पूर्वतयारीको विषयमा गाउँपालिकाले चालेको कदम प्रशंसनीय रहेको बताउनुभएको छ । विहारको तर्फबाट विभिन्न ठाउँमा राहतको प्याकेज लिएर गएको मध्येमा दुप्चेश्वर गाउँपालिकाको टिमको क्रियाशिलता उदाहरणीय रहेको शर्माले बताउनुभएको छ ।
 
पल्साङ ढुङ्गा मुनि रहेको नेगीका २८ घर परिवार अस्थाई रुपमा घ्याङफेदी चौर, मिश्र भञ्ज्याङ, सल्लेरी डाडा र हाइड्रोपावरको चौरमा केही अघि देखि बस्न सुरु गरिसकेका छन् । ती स्थानमा बसोबास गर्न थालेका परिवारको लागि गाउँपालिकाको तर्फबाट खानेपानी, विजुली बत्ती र अस्थाई सौचालयको व्यवस्थापन गराउने प्रक्रिया समेत अघि बढिरहेको गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले बताउनुभएको छ ।
 
अस्थाई रुपमा बसोवास गरिरहेका नागरिकहरुलाई जीवन निर्वाहको क्रममा कुनै समस्या आइपरेको खण्डमा वडा कार्यालय, गाउँपालिकाको कार्यालय लगायत सम्वन्धित निकायमा जानकारी गराउन उपाध्यक्ष अञ्जु आचार्यले आग्रह गर्नु भएको छ । स्वास्थ्य नै सबै भन्दा ठूलो सम्पती रहेकोले स्वास्थ्यमा कुनै समस्या भएमा तुरुन्त स्वास्थ्यमा सस्थामा गई औषधोपचार गर्न आग्रह गर्दै उपाध्यक्ष आचार्यले त्यसको लागि सहजिकरण गर्न गाउँपालिका तयार रहेको समेत बताउनुभएको छ ।