साफ उपविजेता खेलाडीलाई जनही ५ लाख पुरस्कार दिने सरकारको निर्णय

साफ उपविजेता खेलाडीलाई जनही ५ लाख पुरस्कार दिने सरकारको निर्णय

Hollywood Khabar October 17,2021 Comments

साफ खेलेर फर्किएका नेपाली फुटबल टोलीका खेलाडीहरूलाई प्रति व्यक्ति पाँच लाख रुपैयाँ दिने मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले साफ उपविजेता बनेर नेपाल फर्किएको नेपाली फुटबल टोलीका खेलाडीहरूलाई प्रति व्यक्ति पाँच लाख रुपैयाँ दिने निर्णय गरेको हो । 

त्यस्तै बैठकले फुटबल टोलीको प्रशिक्षकहरूलाई प्रति व्यक्ति तीन लाख रुपैयाँ प्रोत्साहन रकम उपलब्ध गराउने भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए । मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा ग्लास्कोमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी वर्ल्ड लिडर समिटमा सहभागी हुने प्रतिनिधि मण्डल गठन गर्ने निर्णय समेत गरेको छ । 

यस्तै बैठकले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन नियमावली २०७८ लाई स्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता कार्कीले बताए । उनले मोहम्मद जयन्ती १४९६ को अवसरमा कात्तिक २ गते मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिइने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता कार्कीका अनुसार मन्त्रिपरिषद्को बैठकले लोक सेवा आयोग तथा बढुवा समितिको सिफारिस बमोजिम राजपत्राङ्कित प्रथम श्रेणीका विभिन्न पदमा नियुक्ति गर्ने निर्णयसमेत गरेको छ ।