एकीकृत समाजवादीको केन्द्रीय कमिटी र नेताहरूको कार्यविभाजन

एकीकृत समाजवादीमा ३३५ सदस्यीय केन्द्रीय कमिटी निर्माण

Hollywood Khabar October 17,2021 Comments

नेकपा (एकीकृत समाजवादी) तीन महिने संगठन विस्तार अभियान थालेको छ । सो पार्टीले आगामी तीन महिनाभित्र सवै प्रदेश, जिल्ला, संघीय तथा प्रदेश निर्वाचन क्षेत्र, महानगर, उपमहानगर, गाउँपालिका तथा वडा कमिटीहरू गठन गर्न मातहतका पार्टी कमिटीहरूलाई निर्देशन दिएको छ ।  साथै सो पार्टीले आफ्ना नेता कार्यकर्ताहरूलाई कम्युनिस्ट आन्दोलनमा हाबी भएको दक्षिणपन्थी अवसरवादी, विसर्जनवादी, व्यक्तिवादी, गुटवादी र सर्वसत्तावादी प्रवृत्तिको भण्डाफोर गर्न निर्देशन दिएको छ ।  

कम्युनिस्ट आन्दोलनमा हाबी भएको दक्षिणपन्थी अवसरवादी, विसर्जनवादी, व्यक्तिवादी, गुटवादी र सर्वसत्तावादी प्रवृत्तिको भण्डाफोर गर्ने’अध्यक्ष माधवकुमार नेपालले २३ बुँदे अन्तरपार्टी निर्देशन जारी गर्दै निर्देशन दिएका छन् ।  साथै सो पार्टीले पार्टीको केन्द्रीय सदस्य सङ्ख्या विस्तार गर्नुका साथै नेताहरूको कार्यविभाजन समेत गरेको छ । जसमा पार्टी अध्यक्ष माधवकुमार नेपालले पार्टीको समग्र नेतृत्व गर्ने र संसदीय दलको नेताको रूपमा काम गर्ने उल्लेख गरिएको छ । 

त्यस्तै झलनाथ खनाललाई सम्मानित नेताका रूपमा राख्दै विदेश विभाग प्रमुखको जिम्मेवारी दिइएको छ । नेताहरू मुकुन्द न्यौपाने र प्रदीप नेपाललाई क्रमशः उद्योग वाणिज्य विभाग इन्चार्ज र प्रतिष्ठानहरूको इन्चार्जको जिम्मेवारी दिएको छ । उपाध्यक्ष राजेन्द्र पाण्डेलाई राजकीय मामिला प्रमुख तथा उपाध्यक्षहरु क्रमश प्रमेश हमाललाई स्कुल विभाग,घनेन्द्र बस्नेत प्रदेश १ को इन्चार्ज, केदार न्यौपाने बागमती प्रदेश इन्चार्ज,केशवलाल श्रेष्ठ गण्डकी प्रदेश इन्चार्ज, धर्मनाथ प्रसाद साह प्रदेश २ इन्चार्ज र जयन्ती राईले महिला फाँट इन्चार्जको जिम्मेवारी पाएका छन् ।


त्यसैगरी महासचिव डा.बेदुराम भुसालले संगठन र राष्ट्रिय सभा दलको नेताको जिम्मेवारी पाएका छन् भने उपमहासचिव प्रकाश ज्वालाले संगठन विभाग उपप्रमुख र कर्णाली प्रदेश इन्चार्जको जिम्मेवारी पाएका छन् । गत असोज ५–७ मा बसेको पहिलो केन्द्रीय कमिटी बैठक र असोज २१ गते बसेको स्थायी कमिटी बैठकको निर्णयअनुसार पार्टीको केन्द्रीय कमिटीलाई पूर्णता दिँदै उनीहरूको कार्यविभाजन समेत गरेको हो । यसअघि १३५ सदस्यीय केन्द्रीय कमिटी रहेको एकीकृत समाजवादीले केन्द्रीय कमिटीलाई पूर्णता दिएसँगै ३ सय ३५ सदस्यीय बनेको छ ।