-अदालतले छोड्न आदेश दिएका ९ जना

उच्च अदालतले छोड्न आदेश दिएका ९ जना अदालत परिसरबाटै  पुनः पक्राउ 

Hollywood Khabar June 12,2019 Comments

३१ जेठ,पोखरा।प्रहरीले उच्च अदालतले छोड्न आदेश दिएका ९ जनालाई अदालत परिसरबाटै पुनः पक्राउ गरेको छ।अघिल्लो शनिबार कास्कीको घान्द्रुकबाट पक्राउ परेका नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका नेता तथा कार्यकर्तालाई विहिबार उच्च अदालत पोखराले  थुनामुक्त गर्ने आदेश दिएको ५ घण्टा नवित्दै अदालत परिसरबाटै प्रहरीले उनीहरुलाई पुनः पक्राउ गरेको छ । पक्राउ परेका मध्ये ९ जनालाई राज्य विरुद्धको कसुरमा जिल्ला अदालतले म्याद थपेपछि आरोपीका आफन्तले गैह्रकानुनी रुपमा पक्राउ गरेर थुनेको भन्दै बन्दी प्रत्यक्षिकरणको रिट हालेका थिए ।

रिटमाथी विहिबार निवेदकतर्फबाट रोहितराज बास्तोला, नारायणप्रसाद पौडेल, सन्तोष कोईराला, मिना रानाभाट, हिमलाल पराजुली र डिल्लीराम अधिकारीले निवेदकको पक्षमा र नरेन्द्र बहादुर चन्दले बहस गरेका थिए । बहसपछि आदेश जारी गर्दै अदालतले उच्च अदालतका रजिष्ट्रार जितेन्द्रबाबु थपलियाको रोहवरमा बिहिबार नै थुनामुक्त गर्न  आदेश दिएको थियो ।प्रहरीले पक्रिने थाहा पाएपछि उनीहरु नजिकै रहेको उच्च अदालत बार एशोसियनको भवनभित्र बसेका थिए । अदालतले फैसला नगर्दै अदालत परिसरभित्र दर्जनौँ सिभिल प्रहरी र अदालतको गेट बाहिर भ्यानसहित अन्य प्रहरीपनि तैनाथ राखि मध्यरातमा प्रहरीले ९ जनालाई नै पक्रेर डाँडाको नाक पुर्याएको हो।

पक्राउ पर्नेमा जंगबहादुर भण्डारी, मिलन राई, काजी गुरुङ, सन्तोष परियार, प्रकाश बास्तोला, आस्था नेपाली, सुजन सापकोटा, राजन साउद र गगन परियार छन् । शनिबार पक्राउ परेका मध्ये बाँकी ९ जनालाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक मुद्धामा म्याद थप गरिएको छ । वसन्त अर्याल, देवी गुरुङ, बलराम परियार, प्रतिमा भण्डारी, सुनिता परियार, प्रमोद सिंह, दीपेन्द्र बुढा, रविन पौडेल र दीपेन्द्र परियारलाई सार्वजनिक मुद्दामा म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।