-Dilli Prasad Multihun

अधर्म नै धर्म हो !

Hollywood Khabar July 12,2020 Comments

-डिल्लीप्रसाद मूलतिहुन/मोलुड्॰-५, ओखलढुंगा/७/१३/२०

अधर्म धर्म हो आज परोपकार पाप हो
यही सिद्धान्तमा लाग्ने सबैको फलिफाप भो
लामा हात गरे धर्म धर्मै हुन्छ कुटेपिटे
पाप लाग्छ दया गर्दा धर्म हुन्छ थिचेमिचे ।१।

हुन्छ चर्चा भएकै छ असत्यको जहाॅंतहाॅं
सेवाभाव हराएको बेस यो परिवेशमा
दुखी देख्दा दया गर्ने अधर्मी हुन् सबै चिन
आनन्द पापले दिन्छ धर्म खोज्ने गए दिन ।२।

भोकालाई दिए खान अवश्य पाप लाग्दछ
खोसेर उसकै खाए धर्मको बीज जाग्दछ
रोगीका घाउमा राम्रो ओखती गर्नु पाप हो
उल्टै घाउ गराएमा भनिन्छ पाप नाश भो ।३।

न्याय गर्दैन को गर्छ ? पाप लाग्छ त्यसो गरे
अन्यायले जितेमात्रै राम्रो समाज बन्छ रे
सधैं इमानमा बस्ने अधर्मीतिर पर्दछ
धर्मात्माले हिजोआज चिथोर्ने काम गर्दछ ।४।

ढाॅंट्यो, छल्यो भनेदेखि सोचेको फल पाउॅंछ
सत्य बाटो हिॅंडौॅं भन्ने पापी हो त्यो बिलाउॅंछ
धर्मको मार्गमा लाग्न काटौॅं मारौॅं सकेजति
इमान्दार भयो पापी, भोग्ला सजाय त्यो अति ।५।