-Dilli Prasad Multihun

अघाएन साॅंढे

Hollywood Khabar June 27,2020 Comments

-डिल्लीप्रसाद मूलतिहुन,मोलुड-५,ओखलढुंगा/६२८२०
 

अघाएन साॅंढे चरेको चऱ्यै छ
अझै त्यो उपद्रो गरेको गऱ्यै छ
अनेकौॅं नखाने कुरासम्म खायो
अहो ! चर्न खोज्दै अझै त्यो करायो ।१।

अगौटे, पछौटे निल्यो अन्नबाली
अझै त्यो डुलेकै छ जिब्रो निकाली
अलौटा मकै , जौ पस्यो चर्न धान
असन्तोष गर्दै अझै खोज्छ खान ।२।

अपुंगो निले झैं सबै निल्न जान्ने
अटेरी पटक्कै भनेको नमान्ने
अचम्मै छ छाडा , हदैसम्म चाम्रो
असाध्यै बिगाऱ्यो कतै छैन राम्रो ।३।

असन्तुष्ट बानी छ साह्रै सतायो
अहो ! सर्वनासै गऱ्यो दिक्क लाग्यो
असारे नदी झैं बग्यो आंसु हाम्रो
अनायास बस्ती बनायो नराम्रो ।४।

अत्याएर सोझा बसेको छ बास
अगुल्टो उचालौॅं दिने हैन घाॅंस
अपेक्षा गरे झैं नबन्दा सुबानी
अघोरै सतायो सुधारेन बानी ।५।