के नेपालमा हलिवुड र भेगास जस्ता शहर बनाउन सम्भव छ?

Hollywood Khabar March 13,2017 Comments

अग्नि चौलागाईं

कला क्षेत्रको स्वर्णिम सहरको रूपमा रहेको हलिवुड र विश्वको मनोरन्जनको राजधानीको उपनाम, रात्रि जीवन तथा विश्व जुवा घरको रूपमा परिचित लस भेगासको नाम विश्वका अधिकांश मानिसहरूले सुनेका छन्। धेरैले यसको भ्रमण गरेका छन् भने एक पटक घुम्ने वा पुग्ने चाहना सबैले राख्दछन ।

के छ त यी सहरहरूमा, जसले मानिसलाई लोभ्याउने गरेको छ, किन हामीले गर्न सकेनौ यस्तो बिकाश र के गर्दा हामि पनि फड्को मार्न सकौला त ?

पूर्वीभागमा सिनेमा बनाउन कठिन हुने अवस्थामा अमेरिकाको पश्चिम क्षेत्रमा सहज कानुनी आधार र बस्नको लागि राम्रों वातावरणको कारण सिनेमा उद्द्योगहरु द्रुतगतिमा बढेका थिए । हलिवुडको सेरोफेरोमा फिल्म बनाउने युनिभर्सल, प्यारामाउन्ट, सोनी जस्ता प्रख्यात स्टुडियोहरु लगायत फिल्म र गीत सङ्गीत सँग सम्बन्धित स्टुडियोहरु भरिपूर छन् । मुख्य सहरको नजिकै डाडामा “HOLLYWOOD” लेखिएको साइन राखिएको छ । यो साइनको फोटो लिन वा हेर्न हलिवुडको मुख्य चोक र ग्रिफित अब्जरभेटरी तथा केही व्यक्ति नजिकै डाडामा समेत गएर फोटो लिने गर्दछन् । हलिवुड बुलुभडको दुवै तर्फ कलाकारहरूको नाम लेखन गरिएको ताराहरू राखिएका छन् जसलाई “हलिवुड वाल्क अफ फेम” भनिन्छ । यी बाहेक रात्रि क्लब, म्युजियम, थिएटर यहाँका आकर्षण हुन् ।

हलिवुड ठाउँ स्वयम्ले भन्दा यहाँ बन्ने सिनेमाहरुको क्रेज, कलाकारहरूको ख्याति र गीत सङ्गीत सिनेमा उद्योगको उल्लेख्य उपस्थिति रहेको कारणले बढी चर्चामा रहेको छ । हलिवुड वाल्क अफ फेममा आफूलाई मन परेको कलाकारको नाम कता छ भनेर खोज्दै फोटो खिच्न खोज्ने र आफ्नो नजिकै वा विभिन्न स्टाइलमा हलिवुड साइनलाई पार्दै फोटो खिच्न खोजिन्छ । मानिसहरूको भिड सबै ठाउँमा हुने भए पनि कोडाक थिएटर वा हलिवुड-हाईल्याण्ड सेन्टर आसपासमा भिडभाड देख्न सकिन्छ । हलिवुड छेउमा रहेको युनिभर्सल स्टुडियोमा जुरासिक पार्क,टर्मिनेटर जस्ता राइडहरु, फिल्म कसरी बनाउने गरिन्छ भन्ने टुर समेत गराईन्छ, जस्को भ्रमण गर्दा सिनेमा कसरी बनाउने रहेछन् भनेर सामान्य जानकारी लिन सकिन्छ ।

लस एन्जलस क्षेत्रमा घुम्ने धेरै स्थान भएता पनि नेपाल र अमेरिकाको अन्य स्थानबाट साथीभाई आउँदा हलिवुड हेर्न जाउन कस्तो छ भनेर सबैले अनुरोध गरेकै हुन्छन् । कुनै स्थानमा नगए पनि हलिवुड एक पटक जाऊ भन्ने भावना सबैले देखाएबाट पनि यसमा कत्तिको क्रेज रहेको छ भनी बुझ्न सकिन्छ ।

हलिवुड कला क्षेत्रको लामो इतिहासको कारण प्रख्यात भएता पनि लस भेगास नीति नियममा गरिएको परिवर्तनको कारणले अहिलेको अवस्थामा आउन सफल भएको हो । अमेरिकाका अन्य राज्यमा विवाह गर्ने प्रावधान तथा सम्बन्ध विच्छेदको लागि समय लाग्ने व्यवस्था भएको समयमा यस राज्यले सहज कानुनी व्यवस्था लागु गर्ना साथ यसको विकाशमा तीव्रता आएको हो । अहिले पनि भेगास वैवाहिक बन्धनमा बाधिनेहरुको लागि प्रख्यात रहेको छ । यहाँ विवाह गर्ने चापेलहरु अधिकांश होटेलमा छन् भने बाहिरसमेत प्रशस्त पाउन सकिन्छ ।

विश्वमा रात्रि जीवन वा जुवाको सहरको नामले प्रख्यात लस भेगास मरुभूमिको बिचमा रहेर समेत सबैलाई लोभ्याउन सफल भएको छ । यसै सहरमा विश्वका दर्जन ठुला होटेल मध्य आधा भन्दा बढी(भेनिसियन पालाजो,एमजी एम ग्रान्ड, आरिया,वेन इन्कोर, मंदाला बे डीलानो, लक्सर एक्सक्यलिबर जस्ता होटेल) यहाँ नै छन् । यी बाहेक अन्य हजारौँ सङ्ख्यामा कोठा भएका होटेलहरु धेरै पाउन सकिन्छ ।  उत्तरी भागमा लस भेगास डाउन टाउन छ भने केही दशक पहिले सुरु भएर पनि प्रख्यात भएको लस भेगास स्ट्रिप डाउन टाउन भन्दा केही दक्षिणमा रहेको छ । जनसङ्ख्याको हिसाबले काठमाण्डौको भन्दा आधा भएको यस सहरमा पर्यटक नै व्यवसायका मुख्य आधार हुन ।

भेगासका हरेक होटेलमा नाइट क्लब, सो क्लब, जादुगरी, हास्य प्रदान लगायत केही न केही मनोरज्नात्मक कार्यक्रमहरू भइरहेका हुन्छन् । विभिन्न समयमा हुने प्रख्यात कलाकारको साङ्गीतिक प्रस्तुतिले समेत पर्यटकलाई यहाँ आकर्षित गरेको देखिन्छ ।

जब मानिसलाई एक पछि अर्को सुविधाहरू प्रदान गर्दै लस भेगास जाऊ भन्ने भावना जागृत भयो तब क्यासिनो व्यवसाय र ठुला ठुला व्यापारिक मेलाहरुको समेत आयोजना हुन थाले । यहाँ कुनै ठुला कम्पनीको शाखा भएर कार्यक्रम भएको जस्तो देखिँदैन कि आफ्ना कर्मचारीलाई लामो थकान पश्चात् मनोरंजनको साथमा कन्फेरेन्स पनि सम्पन्न गरौँ भने झैँ देखिन्छ । यहाँ हुने व्यापारिक मेलाहरुमा स्थानियहरुको भन्दा पनि आयोजक र भिजिटर सबै प्रायशः बाहिरबाट नै आएका हुन्छन् ।

हलिवुड र लस भेगास दुवै सहरमा आकर्षणका केन्द्रहरु सरकारीस्तरबाट भन्दा निजी स्तरबाट बनेका छन् । सरकारले बनाएको भनेको त सही नीति नियम मात्र हो । निजी क्षेत्रलाई आवश्यक पूर्वाधार र नीति नियम बनाएर दिनासाथ कुनै ठाउको स्वरूप सजिलै परिवर्तन हुन् सक्दछ ।

नेपालबाट आएका उच्च सरकारी अधिकारी देखि नेताहरू समेत लस एन्जलस र लस भेगास भ्रमण गरे पश्चात् नेपालमा समेत यस प्रकारले विकाश गर्न सम्भव छ, म नेपाल फर्केर केही योजना बनाएर लाग्छु भन्दै प्लेनमा पाइला राख्ना साथ बिर्सेर गएका छन् । बाहिरी रूपमा केही नदेखिने र मरुभूमिको बिचमा भएको यस्तो ठाउँमा विकाश गर्दै पर्यटकको रूपमा मानिस तान्न सफल भएका छन् भने प्रकृतिले सुन्दरता दिएको नेपाललाई किन परिवर्तन गर्न सम्भव छैन ।

केही समय पहिले नेपालमा फिल्म नगरी बनाउने योजना समेत भएको थियो तर यो बाटोमा नै हराएको झैँ भएको छ । यदि काठमाण्डौबाट यातायातको पहुचमा भएको स्थानमा फिल्म सिटि, सो स्थानमा अमेरिकामा भएको युनिभर्सल स्टुडियो, कलिवुड साइनहरु बनाउने हो भने विदेशी पर्यटक मात्र नभई आन्तरिकरुपमा पर्यटन पर्वर्धन गर्न सकिने देखिन्छ । पछिल्लो समयमा बढ्दै गएको आन्तरिक पर्यटन व्यवसायलाई ठोस पूर्वाधारको विकाश गर्दै वा निजी क्षेत्रलाई पूर्वाधारको विकाश गर्ने जिम्मा दिने हो भने पर्यटकको सङ्ख्या बढ्ने सँगै रोजगारीको अवस्था समेत सृजना गर्न सकिने छ ।

नेभादा राज्यको एउटा छेउमा भएको लस भेगसमा पर्यटकहरु मुख्यगरी लस एन्जलस, अमेरिकाका अन्य राज्य र विश्वभरबाट आउने गरेका छन् । यसलाई नमुनाको रूपमा लिँदै हामीले पनि भारतको नजिकै सिमानामा यस्तै क्यासिनो सहर नमुनाको रूपमा विकाश गर्दै जान सम्भव देखिन्छ । लुम्बिनीको नजिकै यस्तो सहर बनाउने हो भने लुम्बिनी दर्शन गर्न आउने पर्यटक र भारतीय समेतलाई आकर्षित गर्दै विकाशको आधारशिला खडा गर्न सकिन्छ । विशाल जनसख्या भएका छिमेकीहरुलाई उनीहरूको चाहना के मा छ सो मुताविकको आधारशिला बनाउदै आकर्षित गर्न सकिन्छ। नेपालको लागि विशाल जनसङ्ख्या भएका छिमेकी हुनु भनेको पनि एउटा सम्पति हो तर यस सम्पतिलाई कसरी प्रयोग गर्न सकिन्छ भनी सोच्ने र योजना बनाउने बेला आएको छ । जसरी हाम्रो पानी बगेर खेर गएको छ त्यसै गरी यो श्रोतको स्समेत हामीले प्रयोग गर्न सकिरहेका छैनौं । चिन,कोरिया, जापानबाट अमेरिकाको लस भेगासमा क्यासिनो खेल्न जान्छन भने किन उनीहरूको ढोकामा नै यस्तो सुविधाको विकाश नगरीदिने ।

योजनास्थल छनौट गर्दा हवाई यातायात, बस, ट्रेन, मनोरंजन स्थल, धार्मिकस्थल, पार्क इत्यादिको पायक पर्ने ठाउँ पार्दै गर्ने हो भने पर्यटकलाई दिईने एक सुविधाले अर्कोलाई सांग्लोको रूपमा जेले झैँ गरी पर्यटकलाई आकर्षित गर्न सकिन्छ । नेपालमा धेरै स्थान छन् जहाँ सहजै धेरै भन्दा धेरै पर्यटक आकर्षित गर्न सकिन्छ । नेपालमा धेरै ठाउँ छन जहा केहि घन्टामा नै जल क्रिडाको रुपमा बिकाश गर्ने ठाउँ, हिमाली दृश्यावलोकन गर्ने स्थान, हाइकिंग, र्याफ्टिंग जस्ता सुविधामा पुग्न सक्ने छन तर यसको सही सदुपयोग गर्न सकिएको छैन ।

मानिसहरूको आय स्तर बढ्ने क्रम सँगै विदेशमा सपिंग गर्न जाने परम्परा देखिएको छ । सम्भव भए सम्म किन एउटा खुल्ला करमुक्त बजार क्षेत्रको विकाश नगर्ने ? जहाँ सबै कम्पनीले स्वतन्त्र रूपमा सामान ल्याउने र बिक्रिवितरण गर्ने व्यवस्था मिलाउने । स्वतन्त्र बजारमा सस्तोमा सामान उपलब्ध हुने भएमा सपिंग गर्ने मानिस आउँदा करबापतमा केही फाइदाजनक नदेखिएता पनि रोजगारीको वृद्धि र उनीहरूले अन्य कार्यमा गर्ने खर्चबाट सोझै करबापत प्राप्त गर्ने रकम भन्दा बढी आर्जन गर्न सकिन्छ । अन्य सुविधाको साथमा स्पेसल क्षेत्रको विकाश गर्ने हो भने मनोरंजन गर्न पनि सकिने र जस्को कभर सपिंगमा गरिने खर्चले धान्नसक्ने भएमा हामीले मित्ररास्ट्रमा भएको ठुलो जनसङ्ख्याको फाइदा लिन सक्ने अवस्था रहन्छ ।   

सरकारले सबै काम आफूले गर्नु पर्छ भन्ने छैन र यो सम्भव पनि छैन तर योजना बनाएर निजी क्षेत्रलाई समावेश गर्नु उसको दायित्व हो । कुनै ठाउँमा नमुना सहरको खाका तयार पारी सबैलाई सहभागिता गराउदै बुट मोडलमा पूर्वाधार बनाउन दिने गरी सरकार आउने हो भने देशको मुहार फेर्ने कार्यमा यो सहायक सिद्ध हुने थियो । प्रवासी नेपालीहरूलाई समेत सरकारले विभिन्न योजनाहरुमा हातेमालो गर्न दिने हो भने नेपालको मुहार फेर्नमा धेरै समय लाग्ने छैन ।

विश्वको आधा भन्दा बढी जनसङ्ख्या भएको क्षेत्र र उबर्दो अर्थतन्त्र बोकेका दुई देशको बिचमा रहेको मुलुकले उनीहरूमा रहेका श्रोतको परिचालन आफ्नो हितमा अधिकतमरुपमा प्रयोग गर्न सकिन्छ भनी दीर्घकालीन योजना सहित आउने हो भने नेपालमा समेत हलिवुड र लस भेगास जस्ता स्थानहरूको विकाश गर्दै देशको मुहार फेर्न अवश्य सक्ने देखिन्छ ।

(लेखक अग्नि चौलागाईं नेपाल अमेरिका पत्रकार संघ, नेजाका सचिव हुनुहुन्छ।)