Hollywoodkhabar advertisement

आगो:विश्वास र नियति

-Tirtharaj Adhikari
0
shares

-तीर्थराज अधिकारी, लप्सीबोट, गोरखा; हाल:सरस्वतीनगर, काठमाडौँ-६/१०/१५/२०

ऊ आगो फुकेर आफैँभित्र
अरू जल्ने विश्वास बोकिरहेको छ
उसलाई आफैँ जल्ने क्रमको
प्रतीक्षामा रहेको पनि होस छैन
ऊ भएका आँखा पनि चिम्लिरहेको छ
आगाको त कतै कुनै आँखा नै हुँदैन ।

उसलाई अनौठो भ्रम छ - दीर्घजीवनको
बचेका मुटुका प्रत्येक चालहरू
अकर्ममा बिच्छ्याएर
पयो बाटिएका भाषाका डोरीहरूले
सत्यको गला कस्दै
काठ र बाँसजस्ता
गोडाहरूमा ठडिएर
ऊ वीरता अलापिरहेको छ !

जो यो मायावी जालमा लठ्ठिएलान्
नियति - आँसुको थोपामात्र हो
विष रोपेर
अमृतका लहराहरू
कहाँ झाँगिन्छन् र ?

सत्यलाई रातको पर्दाले
केही समय ढाक्न सक्छ
आगाका फूलहरू
सृष्टिका बीज हुँदैनन् ।

चिसोमा कालो हुन्छ - कोइला
तातोमा रातो हुन्छ - कोइला
रस रित्याउने आगो फुकिरहे
फुक्नेको सास
बिस्तारै मन्द हुन्छ
फुक्नेको सास
बिस्तारै बन्द हुन्छ !!