सन्तोष दहाल/ललितपूर/४/९/१९
चाहेजस्तै सुखी जीवन सायद कसैले जिउन सक्दैनन् । दुख, पीडा, सङ्घर्ष, झमेला, हण्डर नपाएको व्यक्तिले वास्तविक जिन्दगी बुझ्न पनि सक्दैन। यस्तै दुख, पीडा र हण्डरबाट नै मानिसले केही पाठ सिकेर भविष्यको सही गन्तव्य पहिल्याउन सक्दछ । अन्यथा सुखै सुख मात्र पाएको व्यक्ति त मात्तिएर भविष्य निर्धारणको सही मार्ग पहिल्याउन पनि सक्दैन ।
यस्तै दुख र पीडा सहेर सङ्घर्ष गर्दै बाँकी जीवनको लागि सही बाटो निर्धारण गरेर फिक्का सुखको जीवन जिईरहेकी महिला हुन् अनिता घिमिरे।
सुनसरी माईती भएकी अनिता विवाह गरेर ललितपुरको विकट पहाडी क्षेत्र मधेको भट्टेडाँडा आइपुगिन । उनी नयाँ जीवन जिउन कर्मघर आउँदा श्रीमानका पूर्व पत्नीतर्फबाट एक छोरी पनि थिइन। श्रीमानकको पुर्व पत्नी आफैंले ९ महिनासम्म गर्भमा बोकेर जन्माएकी ६ वर्षीय छोरीलाई छोडेर बेपत्ता भएकी थिइन्। जसको हालसम्म पनि सास र लासको अत्तो-पत्तो छैन।
अनितातर्फबाट एक छोरा जन्मिए। श्रीमान् व्यवसायी उनका पहिला पत्नीका छोरीलाई पनि आमाको स्थानकै माया दिएर अनिताले हुर्काइ रहेकी थिईन। जीवन सुखसंगै चलिरहेको थियो। यद्यपि त्यो सुख क्षणभरको निमित्त मात्र सीमित रहयो। श्रीमान् एक्कासी बिरामी भए। अनिताले विभिन्न ठाउँमा लगेर उपचार गराइन। तर केही समयमै उनको श्रीमान् हरिप्रसाद चौंरेल दुई छोराछोरी अनितालाई नै जिम्मा लगाएर संसारबाट बिदा भए। उनको सिन्दुर पुछियो, भाग्य खोसियो अनि भविष्य अन्धकारको भूमरीमा रुमलियो ।
हरिप्रसादको मृत्यु हुँदा छोरा ८ वर्षका मात्र थिए। अहिले उनी बितेको ४ वर्ष भईसकेको छ। श्रीमान् गुमाउनुपर्दाको पीडामा पनि अनिताले घरपरिवारका अन्य सदस्यबाट केही माया हौसला र साथ सहयोग पाउन सकिनन्। एकल महिला भएपछी परिवार र समाजले पनि उनलाई हेर्ने नजर राम्रो हुन सकेन। मनस्थिति यतिसम्म गिराउन खोजियो कि श्रीमान् गुमाएपछि महिला अशुभ र अलच्छीनी हुन्छे र सार्वजनिक स्थल तथा शुभ कार्यहरुमा उसलाई सरिक गराउन पनि मिल्दैन भन्ने भान गराइयो।
भावुक हुँदै उनले पीडा पोखिन्, एकल महिला भने शब्द अलि मन रूने शब्द हो। शुभकार्यमा हामीले छोयो भने त्यो कार्य शुभ हुँदैन भन्ने शब्द पनि कति पटक सुनेको छु। त्यहि भएर म त्यस्तो ठाउँतिर अलि पर नै बस्छु।
भावव्हिवल हुँदै उनले प्रश्न गरिन्, के एकल हुनु रहर हो र ? यो समाज नै अझै पनि हाम्रो सोच र चलन उल्टो छ। श्रीमती मरे पछि २ दिनमै अब त्यसको बिजोक भयो अर्को केटी विवाह गर्ने भन्दै केटी खोज्न अघि सर्छन। अनि श्रीमान् बिते भने त्यो महिलाको जिम्मेवारी बच्चा हुर्काउने देखि लिएर घर व्यवहार अनि कोहिसँग बोलेको देखेपछि गलत दृष्टिकोणले हेरिदिने गर्छन। उल्टै, यसको नियत ठिक छैन भन्ने मानसिकता अझै पनि छ।
यद्यपि ३३ वर्षकै कलिलो उमेरमा बिधवा हुनु परे तापनि अनिताले अर्को नयाँ जीवनको सुरुवात बारेक कहिल्यै सोचिनन । आफ्नो छोरा र आफैंले जन्म दिएकी छोरीसरह गरेर हुर्काएकी दुवै सन्तानको जिम्मेवारीबाट पन्छिने मनसाय उनमा किमार्थ आएन।
उनले हिम्मत हारिनन। त्यही हिम्मतको प्राप्तिस्वरूप उनी अहिले विभिन्न ठाउँमा सेक्युरिटी गार्डहरु सप्लाई गर्ने सत्कार सेक्युरिटी सर्भिस प्रालि सन्चालन गरेर जीवन अगाडी बढाईरहेकी छिन् ।
उनले हाल ५० भन्दा बढी सुरक्षा गार्डहरुलाई प्रत्यक्ष रोजगारी दिइरहेकी छिन्। उनका कम्पनीका गार्डहरु देशभरका विभिन्न १३ वटा मालपोत कार्यालय, ललितपूर महानगरपालिका लगायत विभिन्न कार्यालय र संघसंस्थामा सेवारत छन्।
सत्कार सेक्युरिटीजबाट उत्पादित सुरक्षागार्डबाट पाइने सुरक्षित र भरपर्दो सेवाबाट सेवाग्राही समेत खुशी हुने गरेका अनिता सुनाउँछिन्। अनिताले खास यो पेशा आफ्ना दिवंगत पतिको विरासतको रुपमा हाँकिरहेकी छिन्।
सिफारिस
व्यासका अध्येता न्यौपानेको अशून्यम् लोकार्पण
झापाको बिर्तामोडमा चैत्र १२ गते टुबोर्ग होलि हङ्गामा हुने
बागलुङ सेवा समाज र बलेवा समाज अमेरिकाको संयुक्त आयोजना, न्यूयोर्कमा चै...
कम्युनिष्टको आदेशले फसेका गृहमन्त्री लामिछाने संचार क्षेत्रको बिरोधले...