दिपक कुमार बिष्ट

अपराधको दुनियाँमा इमेल फिसिङ ∶ ठगी गर्ने नयाँ तरिका

Hollywood Khabar November 11,2019 Comments

इमेल फिसिङ भन्नाले दुईजना व्यवसायी वा आफन्तबीच इमेलमा भएको कुराकानी अपरिचित व्यक्तिले बीचमा बसेर गोप्य निगरानी गर्ने र व्यवसायी वा आफन्तबीच इमेलमार्फत रकमको कारोबार हुन थालेपछि मेल आइडी, बैंकको खाता नम्बर र देशसमेत इमेलमार्फत परिवर्तन गरेर रकम ठगी गर्नु हो।महानगरिय अपराध महाशाखा अन्तर्गत साइबर शाखाले उपलब्ध गराएको तथ्याङ्क अनुसार नेपालबाट विदेशमा हुने कारोबारमा बढी ‘इमेल फिसिङ’ हुने गरेको देखिएको छ।‘विदेशबाट सामान आयात गरेर इमेल मार्फत रकम भुक्तानी गर्दा, ट्रेकिङ, ट्राभल्स, टुर्स कम्पनीको बढी ‘इमेल फिसिङ’ हुने गरेको छ’, पाईएको छ।

सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै नयाँ तरिकाबाट साइबर अपराध हुने गरेको विभिन्न घटना परिघटनाहरुले देखाईरहेको छ।सामाजिक सञ्जालको प्रयोग बढेसँगै फेसबुक, ट्वीटर, भाइवर, गुगलजस्ता सञ्जालमा नयाँ खाता खोलेर मानिसले पैसा लुट्ने र अर्को व्यक्तिको हैसियत सिध्याउने घटना बढेर गएको हो।पछिल्लो समय ‘इमेल फिसिङ’ मार्फत करोडौँ रुपैयाँ ठगी हुने गरेको कुरा महानगरिय अपराध महाशाखा अन्तर्गत साइबर शाखाले उपलब्ध गराएको तथ्याङ्कबाट देखिन्छ।त्यतिमात्र होईन प्रतिष्ठित व्यक्तिको फेसबुक, ट्वीटर ह्याक गरेर गोप्य सूचना लिएर रकमको बार्गेनिङ गर्ने, अर्काको नाममा फेसबुक तथा ट्वीटर खोलेर गोप्य सूचना लिने र दुःख दिने घटनाहरु पनि बढ्दो छ। ‘इमेल फिसिङ’बाट ठगी भएका घटनाहरुका सम्बन्धमा महानगरीय अपराध महाशाखामा मासिक १० देखि १५ उजुरी पर्ने गरेको देखिन्छ।महाशाखामा चालू आर्थिक वर्षको पछिल्लो तीन महिनामा साइबर अपराधसम्बन्धी ४५२ उजुरी दर्ता भएका छन् । सामाजिक सञ्जाल फेसबुक,ट्वीटरमा चिठ्ठा प¥यो भनेर एक करोडसम्म ठगी गरेको भेटिएका छन्।

‘विदेशमा बसेर सामान पठाइदिन्छु पैसा पठाइदिनुहोस् भनेर समेत ठगी भएको छ’, उनी भन्छन्।युवावर्ग बढी संख्यामा साइबर अपराधमा लागेका छन्।जसमध्ये १० वर्षदेखि २० वर्ष उमेर समूहका २२ दशमलव ०५ प्रतिशत, २० देखि ३० वर्ष समूहका ३९ दशमलव ९२ प्रतिशत, ३० देखि ४० वर्ष उमेर समूहका २९ दशमलव ९१ प्रतिशत र ४० देखि ६० वर्ष उमेर समूहका ७ दशमलव ९८ प्रतिशत व्यक्ति साइबर अपराधमा लागेका छन्।‘सामाजिक सञ्जालमा निःशुल्क डाउनलोड गर्नु वा हेर्नु भनेको हुन्छ र अनावश्यक कुरा हेर्दा वा डाउनलोड गर्दा साइबर अपराध बढी हुने गरेको पाईएको छ’।साइबर कानुनका बारेमा विद्यालय, कलेज तथा क्याम्पसमा शिक्षा दिनु अत्यावश्क भईसकेको छ।साइबर अपराधको ३५ दिन भित्र सत्यतथ्य सूचना अदालतमा दर्ता गरि सक्नुपर्ने प्रावधान रहेको छ। अहिले साइबर अपराधलाई विद्युतीय कारोबार ऐन अन्तर्गत कारवाही गर्दै आएकोले बिभिन्न समस्यहरु आउने गरेको कुरा अपराध महाशाखाको साइबर अपराधले भन्ने गरेको छ। साईबर अपराधबाट पिडीतका कारण मानिस घरबार विहीन हुने, पढाइ बिग्रने, आत्महत्या बढ्ने गरेको देखिन्छ। विद्युतीय कारोबार ऐन अन्तर्गत साइबर अपराध गर्नेलाई पाँच वर्ष सम्म जेल वा एक लाख वा दुवै सजाय हुने प्रावधान छ।

गएको आवमा साइबर अपराधमा ४५२ उजुरी दर्ता भएकोमा ११ जना विरुद्ध मात्र मुद्दा चलाएको थियो।सामाजिक सञ्जालमा छ जना,ह्याकिङ गर्ने दुई जना र जथाभावी एसएमएस गर्ने तीनजना विरुद्ध मुद्दा दर्ता भएको थियो।यस्तै आव ०७३/०७४ मा ११९७ उजुरी दर्ता भएकोमा २६ जना विरुद्ध , आव ०७४/०७५ मा १४८२ उजुरी दर्ता भएकोमा ६८ जना विरुद्ध तथा आव ०७५/०७६ मा १९३८ उजुरी दर्ता भएकोमा ६७ जना विरुद्ध मुद्दा दर्ता भएका थिए।

लेखक कानुन व्यवसाय क्षेत्रका अधिवक्ता र प्रतिष्ठित व्यक्तित्व हुनुहुन्छ ।