Hollywoodkhabar advertisement

कहिलेकाहीं म लेख्दा लेख्दै अड्कन्छु, अर्कोको पछि लाग्दा अर्काकै घर पुगिन्छ

-Suchana Timalsina
0
shares

सुचना तिमल्सिना, ललितपुर/१०/११/२०

कहिलेकाहीं म लेख्दा लेख्दै अड्कन्छु। नयाँ विचार भनेर मख्ख पर्यो, कतै सुने जस्तो लाग्छ। कसैले भने जस्तो लाग्छ, काहीं पढे जस्तो लाग्छ। हो, मसँग दिमाग छ, जसले रेकर्ड गर्छ अनि मसँग स्मृति छ, जसले रेकर्ड भर्सनमा लैजान्छ। कहिले काहीँ आफैलाई हेरेर फाल्ने विचार भनेर लेख्छु, कता कता नयाँ लाग्छ।

कहिलेकाहीं सफल लेखकलाई चोरीको आरोप लाग्छ। भर्खरै मैले पढेको एउटा लेखमा चर्चित लेखकहरुको मिल्दोजुल्दो कहानी र किताबहरुबारे समिक्षा गरिएको थियो। तर म कता कता सहमत हुनै सकिनँ। विचार त तरंग हो, त्यो तरंग जो कोहिले पाउन सक्छ, भेट्टाउन सक्छ।

हुन सक्छ उही समयमा फरक मानिसले त्यो समात्छन्, हुन सक्छ फरक समयमा फरक व्यक्तिहरु त्यो विचार, त्यो भावना त्यो तरङ्गमा पुग्छन। त्यो भावनाको सार तत्व एउटा नै हुन्छ। हुन् सक्छ फरक तरिकाले लेखिएको होस्। तर अक्सर समिक्षकहरु उस्तै भयो भनेर आरोपित गरिदिन्छन।

उपनिषद र गीताको सार छ-जति पनि भावना छ, जति पनि तरंग छ, जति पनि सिद्धान्त छ, जति पनि फिलोसोफी छ। त्यो कसैको होइन, न कि पुरानो पुस्ताको, न कि हाम्रो पुस्ताको न कि आउने वालाको, न कि कुनै व्यक्तिको, न कि कुनै समुदायको। त्यो प्रकृतिको हो। त्यसैले सदैब प्रकृतिको साथमा रहन्छ। कोहि व्यक्तिले भेट्टाउछन्। कसैले भेट्टाएको पढ्छन, कसैले भेट्टाएको सुन्छन। कसैले चाल नै पाउदैनन। भेट्टाउने मानिस भ्रममा परेर आफ्नो ठान्नु र समीक्षकले तुलना गरेर न्याय गरें ठान्नु उस्तै हुन जान्छ जस्तो लाग्छ।

अपराध त त्यतिबेला मात्र लाग्छ जतिबेला हुबहु लेखन, भावना, कहानी जस्ताको तस्तै सारिन्छ। नत्र एकाध मिल्ने भावनाको तरंग र सारतत्व खोजेर चोरी भनेर कराउनुको कुनै तुक हुन नपर्ने। फेरी बुझेका मानिसले सार्दैन, चोरी गर्दैन, पक्कै पनि पढ्छ, गुन्छ। त्यसमै आधारित भएर अरु खोजी गर्छ। जसले बुझ्दैन उसले सार्छ र उही तड्पन्छ।

अर्कोको पछि लाग्दा अर्काको घर पुगिन्छ। अर्काको घरमा कोहि चिनेको हुँदैन। ऊ आतिन्छ, डराउँछ, झन्झट भेट्छ, दोषारोपण खेप्छ, उही तड्पन्छ। सार्ने बानी पछि, फेरी सार्न मन लाग्छ। ऊ आफ्नै लागी मूर्ख हो। जुन दिन मूर्खता भेट्नेछ ऊ सुध्रनेछ, नत्र तड्पी तड्पी बस्नेछ।

हाम्रो दिमागले फरक फरक तरंगहरु भेट्छ, जम्मा गर्छ, हामी त्यहि समातेर सत्य र यथार्थ मोल्छौ। प्रकृतिको केहि टुक्रा भाग लिएर हामी राम्रो र नराम्रोको मोल मोल्छौ। एउटा लेखकलाई गिराउछौ। एउटा लेखकलाई उचाल्छौ, प्रकृति विद भन्छन्-प्रकृतिमा चाहिने र नचाहिने कुरा भनेर पहिला नै छुट्टाछुट्टै छँदै छैन। एक कठ्ठामा छ, हाम्रो इन्द्रियले, हाम्रो अहमले विभाजित देखाउछ। भ्रमले सत्य देख्न सक्दैन अनि हामी भ्रममा पर्छौं, सत्य देख्न सत्यतामा पुग्नुपर्छ। हुन सक्छ यहि भ्रम नै हाम्रो वादविवाद हो। हाम्रो अन्योलता हो, हाम्रो सम्बन्ध हो अनि हाम्रो दु:ख हो।