Hollywoodkhabar advertisement

अर्थमन्त्रीको जागिरेले अर्थतन्त्र बिगारे, काँग्रेसका आचार्य र नेकपाका अधिकारी गणनामा पर्छन

-Gopal Sanjel

गोपाल संजेल/ललतिपुर/५/८/२०

हुन त अर्थतन्त्रबारे म केही बोल्ने हैसियत राख्ने मान्छे होइन। न म विज्ञ न ज्ञाता नै हुँ। तर पनि एउटा सानो अर्थतन्त्र चलाएको छोटो अनुभ भने छ। उसै पनि एउटा नागरिक भनेको शक्तिशाली हुन्छ। त्यसो भएता पनि म जस्ता सामान्य अर्थतन्त्रको उपभोक्तका नाताले भनेका कुरा चाहिँ सुनुवाइ होलान् भन्ने कुरामा विश्वस्त हुने ठाउँ न विगतमा थियो न अहिले नै छ। उसै पनि म जस्ता बबुरा नेपालमा मात्र होइन नेपाल बाहिर पनि करौडौँ छन्। अर्थको जागिरे देखि अर्थमन्त्री नै गन्ने हो भने पनि एउटा लामै अनुसन्धान गर्नुपर्ला। तर पनि यहाँ संसदको बजेट अधिवेशनका संघारमा केही भन्ने धृष्टता गरेँ।

नेपाली काँग्रेसका नेता तथा तत्कालीन अर्थमन्त्री महेश आचार्यले संसदमा बजेट प्रस्तुत गर्दा पञ्चायत कालका अर्थमन्त्री डा प्रकाशचन्द्र लोहनीले चिच्याइ-चिच्याइ विरोध गरेको सम्झन्छु। त्यसपछि त्यो बिरोध नसेलाउँदै विद्वान अर्थशास्त्री डा लोहनी पनि त्रिशंकु सरकारका अर्थमन्त्री भए। उनले प्रस्तुत गरेको बजेटप्रति अर्का विद्वान तथा नेपाली काँग्रेसका नेता अर्थशास्त्री डा रामशरण महत त्यसैगरी चिच्याउन पुगे संसदमा।

तर अजिवको कुरा सबभन्दा धेरै पटक अर्थमन्त्री बनेर बजेट प्रस्तुत गर्ने अवसर पाएका भाग्यमानी अर्थमन्त्री डा महत नै हुन्। अर्थतन्त्रको व्याख्या गर्न उनीजति अब्बल अरु कमै होलान्। तर पनि उनीबाट यो चाहिँ उल्लेख्य योगदान हो भन्न सकिने केही पाउन सकिन्नँ। कर्मकाण्ड त धाने तर सिन्को भाँचेनन्। न देशलाई स्थिर अर्थतन्त्र दिन सके न सामान्य नागरिकले अनुभूत गर्ने उपलब्धी नै केही दिन सके, उनि पनि कर्मकाण्ड गरे गए। अझै भनौं, अर्थमन्त्रीको जागिर मात्रै खाए। बरु अर्थमन्त्रीको जागिरका सिलसिलामा डा महतले राज्यका ठूला उद्योगहरु अन्धाधुन्द निजीकरण गरेका नमेटिने दाग बोकेका छन्।

राजनैतिक रुपमा तुलना गरेर हेर्दा नेपाली काँग्रेसका अर्थमन्त्रीहरुमा महेश आचार्यका बजेटमा केही जनमुखी र संस्थागत अवधारण थिए। तर विडम्बना उनले लामो समय अर्थमन्त्रालय संहाल्न पाएनन। छोटो समयमा नै उनि चर्चित भए तर पछि उनलाई डा महतकै विद्वताले ओझेलमा पारिदियो। अवसर दिएनन या पाएनन्।

अर्का विद्वान मानिने डा बाबुराम भट्टाराई पनि छोटो समय अर्थमन्त्री भए। उग्र क्रान्तिकारी जोशमा अर्थमन्त्रालय पसेका डा भट्टराईले केही उल्लेख्य काम त गर्न भ्याएनन् तर सम्झनामा रहने केही एकाद काम गरे। मितव्ययीता, करका दायरा फराकिला र केही नयाँ आयाम दिने कोसिस गरे। पछि उनी प्रधानमन्त्री हुँदा त्यसका केही मूर्तरुप देख्न पाइयो युवा स्वरोजगार, सडक विस्तार, राष्ट्रिय गौरवका आयोजना आदि। त्यसबाट खासै ठूलो उपलब्धि भएन। उनकै भाषामा भन्नुपर्दा आर्थिक छलाङ मरेन।

यहाँनेर भन्ने पर्ने र संझने पर्ने एउटा कुरा भने छ। अर्थमन्त्रीका रुपमा आज नागरिकले सधैँ सम्झीरहने पात्र भने नेपाल कम्यूनिष्ट पार्टी तत्कालिन एमालेका भरतमोहन अधिकारी नै हुन्। उनले यति सरल र सहज रुपमा अर्थतन्त्रलाई आम नागरिकबिच पुर्याए त्यति अब्बल अरु कोही अर्थमन्त्री हुनै सकेनन्। दुईवटा सामान्य कुरा मात्र हुन् अधिकारीका बजेटका मुख्य जोड। पहिलो कलयाणकारी कार्यक्रम दोश्रो स्थानीय तहलाई बजेटसहितको अख्तियारी। यो नै नेपाली अर्थतन्त्रमा आइसब्रेक नै भयो। अहिले सम्म पनि सबै अर्थमन्त्रीले त्यसैलाई छाँट-काँट मात्र गरेर बौद्धिक जागिर खाएका छन्।

विडन्वना भनौ या संयोग भनौ यतिबेला उनै लोकप्रिय अर्थमन्त्री भरतमोहन अधिकारीका चेला, कार्यकर्ता तर प्रखर विद्वान राजकीय मामिलमा अवसर नै अवसर पाएर पुरिएका डा युवराज खतिवडा अर्थमन्त्रीको कुर्सीमा विराजमान छन्। निर्वाचन नलडेका, कोटको खल्तीबाट मनोनितमा परेका पनि हुन् उनि। राष्ट्रिय योजना आयोगका पटक-पटक माननीय सदस्य, योजना आयोगकै उपाध्यक्ष र राष्ट्रबैंक गभर्नर भइसकेका खतिवडा अर्थमन्त्री हुँदा धेरैले अर्थतन्त्रमा निकै सुधार हुने, थिति बस्ने, मजबुती जग हाल्ने आशा गरेका थिए। दुई तिहाइ सरकारका अर्थमन्त्री त्यो पनि विज्ञ, विद्वान कहलिएका व्यक्ति नियुक्त हुनु ज्यादै राम्रो मानिनु स्वाभाविकै थियो। जब बजेट प्रस्तुत गरे, नयाँपन केही दिन सकेनन्। तै पनि कार्यान्वयन पर्खेर बसियो झन् घोर निराश हुनुपर्यो।

निष्कर्षमा यति भन्न कर लाग्छ कि यिनी पनि उनै डा महतकै लाइनमा उभिए। सिन्को नभाँच्ने, अर्थमन्त्रीको जागिर खाने। भरतमोहन अधिकारीको भन्दा अझ उन्नतस्तरले बजेट प्रस्तुत गर्न र कार्यान्वयनमा खरो उत्रिन सक्ने ल्याकत हुँदाहुँदै उनको पदचाप पनि पछ्याउन सक्दैनौ भने तिमीलाई धिक्कार्छन् दुनियाँले। तिम्रा मतदाता त छैनन् तर यसो भनौं आमनागरिकहरुले। बजेट तर्जुमाको पूर्वसन्ध्यामा कम्तीमा पनि तिम्रा नेता स्व भरतमोहन अधिकारीलाई सम्झ, उनका बजेट भाषण तीन पटक पढ। मनमोहन अधिकारीलाई सय पटक सलाम गर। अनि मात्रै बजेट बक्तव्य लेख्न बस। हामी आम नागरिकले जेठ १५ गतेको तिम्रो बजेट भाषण सुनेर तेस्रो पटक निराश हुन नपरोस्।

ADVERTISEMENT-----