-Tirtharaj Adhikari

असहमति

Hollywood Khabar August 31,2020 Comments

-तीर्थराज अधिकारी, लप्सीबोट; गोरखा, हाल:सरस्वतीनगर, काठमाडौॅं, सेप्टेम्बर १, २०२०

तिम्राझैं भ्रमको खेती गर्दै
म हिॅंड्न सक्दिनॅं
दम्भले मुठ्ठी उठाउॅंदै
हड्डीका हबेलीमाथि मुस्कुराउन सक्दिनॅं
फूल पार्ने कुरा गर्न सक्दिनॅं
रगत लत्पत्तिएका हातहरूले परेवा समाउॅंदै
शान्तिको गीत गाउन सक्दिनॅं ।

वेदनाले म त छिटै पग्लिन्छु
तिमीले झैं लासहरूका संख्या गन्दै
पराक्रमी “जीवनवृत्त” लेख्न सक्दिनॅं ।

बलि र अझ नरबलि दिने राजाहरूलाई
तिमी उदार बलिराजाझैं गुरु मान्छौ
म मेरो माटामा उम्रिएका कोमल फूलहरू
तिनका पाउमा चढाउन सक्दिनॅं ।

कलम उठाउन सक्छु
बन्दुक उठाउन सक्दिनॅं
चकजस्तै घोटिने म
कालोपाटीलाई कालो भन्दै लुछ्न सक्दिनॅं ।

अहॅं, आंखा घोच्न सक्दिनॅं
म किताब र कापी च्यात्न सक्दिनॅं
मठ-मन्दिरका पाला ढाल्न सक्दिनॅं
बम-गोलाहरू बोक्न सक्दिनॅं ।

म आंसुलाई पानीझैं
सस्तो ठान्न सक्दिनॅं
म रगतका तालहरूमा
पौडी खेल्न सक्दिनॅं ।

तिमीले मानव र मानवबस्तीलाई
भेडाका बथान र गोठहरूमा हेरेझैं
म कदापि हेर्न सक्दिनॅं ।

तिमी चार पाउले दौडिरहेका छौ
म दुई पाउले हिॅंडिरहेको छु
तिम्रो र मेरो
यात्राको प्रकृति नै फरक छ ।

म तिमीसित
काँधमा काँध मिलाउँदै
कदापि हिॅंड्न सक्दिनॅं
एउटै गन्तव्य त झनै असम्भव !

मेरा दुई पाउ नै काफी छन्
जमिन टेक्न मलाई
चार पाउको म कतै
आशा नै गर्दिनॅं ।