-Chet Nath Kanel

जो बाइडेन र कमला ह्यारिसलाई बधाईको शब्द पुष्पमाला !!

Hollywood Khabar November 07,2020 Comments

-चेतनाथ कणेल-हरित, शङखमूल, काठमाडौं/११/८/२०

बागमती किनारमा
न्यानो सूर्यलाई साक्षी राखेर
यत्तिबेला,
पोटोम्याक किनारको वासिङ्गटन डीसी सम्झिरहेछु
र,
ह्वाइट–हाउसमा पदार्पण गर्न लागेका
जो बाइडेन र कमला ह्यारिसलाई
बधाईका धेरै धेरै शब्दपुष्प बर्साउँदैछु
बधाईका असंख्य शब्दपुष्पमाला पहि¥याउँदैछु
बधाई छ जो बाइडेन !
बधाई छ कमला ह्यारिस !

राजनीतिको रीत/ जनताको प्रीत
भन्छन्–
सोचेजस्तो हुँदैन राजनीतिको राग
खोजेजस्तो हुँदैन जनताको प्रभाग
अलिकति कुराले पनि कुँडिन्छ जनमन
अलिकति स्वार्थले पनि भाँचिन्छ जनमन
थाहा भयो,
अमेरिकाले परिवर्तन चाहेको रहेछ
नेतृत्वमा नयाँपन ताकेको रहेछ
हामीले पनि मनमनमा सोचेकै थियौं
हामीले पनि मनमनमा खोजेकै थियौं
सोचेजस्तै भयो,
विजयको ‘रातो टीका’ लगाएर
तिमीहरू आएका छौ
जनताको मनमा अपार उत्साह लिएर
जनताको भावनामा असीम आकांक्षा बोकेर
ह्वाइट–हाउसको ढोकामा आएका छौ
वाह नयाँँ राष्ट्रपति
वाह नयाँ उपराष्ट्रपति !
बधाई छ जो,
बधाई छ कमला !!

भन्लान् कोही– तात्तो न छारो .....
भन्लान् कोही– कौवालाई बेल पाक्यो......
होइन,
त्यसो होइन,
नेपाललाई धेरै सरोकार छ ह्वाइट–हाउसको
नेपालीलाई धेरै चासो छ ह्वाइट–हाउसको
तिमीले हेर्ने चाइनिज चस्मा
तिमीले हेर्ने इन्डियन चस्मा
र,
तिमीले हेर्ने एसिया–प्यासिफिक दूर्बिनको
असाध्यै सरोकार छ नेपालीलाई
जता ढल्के पनि तिम्रो चस्मा
जता कोल्टिए पनि तिम्रो दूर्बिन
सन्तुलित हेराइ परोस् यो अनुपम सगरमाथा भूमिमा
निष्पक्ष दृष्टि परोस् यो अद्वितीय बुद्धभूमिमा
र,
आशा छ जो,
आशा छ कमला–
यो चार वर्षमा
तिम्रो एउटा मैत्री भ्रमण नेपाललाई चाहिएको छ
लामो इतिहास ‘ब्रेक’ गर्दै,
तिम्रो एउटा ऐतिहासिक भ्रमण नेपाललाई चाहिएको छ
तिम्रो प्रेमपूर्ण मुस्कान लुम्बिनीलाई चाहिएको छ
र, मायादेवी मन्दिर र अशोक स्तम्भसँग
गँठिलो मितेरी लगाउँदै
तिम्रो 'शुभशान्ति विश्वसन्देश' संसारले नै खोजेको छ
कोरोनापछिको यो संसार
विश्वले साँच्चै 'फरक' खोजेको छ !!