तस्बिर साभार वेब

भाद्र २७ मा इन्द्रजात्रा:विदेशी पाहुना ईन्द्रजात्रा अवलोकन गर्न आउने

Hollywood Khabar August 19,2019 Comments

४ भाद्र काठमाण्डौं।काठमाडौं महानगरपालिकासँग भगिनी सम्बन्ध स्थापित भएका ६ वटा देशका १३ नगरका पाहुना इन्द्रजात्रा अवलोकन गर्न आउने भएका छन् ।महानगरको अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालयले सोमबार मेयर विद्यासुन्दर शाक्यलाई गराएको जानकारीअनुसार १३ नगरका पाँच मेयरसहित ४८ पाहुना आउने तय भएको छ । सचिवालयले भगिनी सम्बन्ध स्थापित भएका नगरका प्रमुखलाई सात महिनादेखि निमन्त्रणा पठाउन थालेको थियो । 

अहिलेसम्म चीनको ल्हासाका मेयर गुहेओ गुहेओ, बंगलादेशको ढाका साउथ सिटी कर्पोरेसनका मेयर मोहम्मद सहिद खोकन, भुटानको थिम्पु नगरका मेयर किन्ले दोर्जे, भारत इस्ट दिल्ली म्युनिसिपल कर्पोरेसनका मेयर अञ्जु कमलकान्त र नर्थ दिल्ली म्युनिसिपलबाट मेयर सरदार अभतार सिंहको नेतृत्वमा जात्रा अवलोकन टोली आउने पत्र प्राप्त भएको महानगरले जनाएको छ।त्यस्तै, चीनबाट सियान, छेन्दु, सेन्जेन, नान्जिन र लान्चाउ नगर, जापानको मात्सुमोतो नगर, संयुक्त राज्य अमेरिकाका फेडेरिकबर्ग र बोल्डर नगरबाट उच्च अधिकारीको नेतृत्वमा जात्रा अवलोकन टोली आउने भएको छ ।

‘हामीले भगिनी सम्बन्ध स्थापना गरेका नगरसँग हाम्रा नागरिकसँग सम्बन्ध बढाउन, आपसी सांस्कृतिक पक्षको आदान–प्रदान गर्न र नेपाल भ्रमण वर्ष २०२० को प्रवद्र्धन गर्न यो महत्वपूर्ण अवसर हुनेछ,’ सचिवालयको ब्रिफिङ सुनेपछि शाक्यले भने, ‘यसपटक, कुनै सहरसँग औपचारिक सम्झौता हुने कुनै एजेन्डा छैन । काठमाडौं आउने पाहुना पर्यटकजस्तै हुन्, उनीहरूले काठमाडौंको सांस्कृतिक र ऐतिहासिक गरिमा सन्देशका रूपमा आफ्नो ठाउँमा लिएर जानेछन् ।’ 

अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालयका प्रमुख महेश काफ्लेका अनुसार जात्रा अवलोकन गर्न आउने पाहुनालाई मुख्यतया, इन्द्रजात्राका मूर्त  र अमूर्त पक्षको अवलोकन तथा जानकारी गराइनेछ । त्यससँगै वसन्तपुरलगायत काठमाडौंका भित्री सहरी क्षेत्र, स्वयम्भू र बौद्ध, ललितपुरको पाटन, भक्तपुरको दरबार स्क्वायर, काठमाडौंको चन्द्रागिरिलगायत स्थानको अवलोकन गराइनेछ । अवलोकन टोली २६ भदौमा काठमाडौं आइपुग्नेछन् भने ३० भदौमा स्वदेश फर्किनेछन् ।