सोनी शर्मा 

आऊ भानु ! फेरी यौटा काण्ड लेखौं-सन्दर्भ भानु जयन्ति

Hollywood Khabar July 11,2018 Comments

एकदिन तिम्रो योगदान सम्झेर
३ सय ६४ दिन कुरा काट्छन्  यहाँ 
तिम्रा भाषा लिपिलाई कुरीकुरी भन्दै 
जानी नजानी इंग्लिस् छाँटछन् यहाँ 
त्यसैले भानु आऊ फेरी नयाँ काण्ड लेखौं । 
 
तिम्रो बालकाण्डमा
दाजुभाईको प्रेम ,यौवन र पराक्रम अनि  
राम सीताको विवाहको वर्णन थियो 
ऐले हेर त भानु! 
दाजुभाइको काटाकाट् मारामार 
अदालतमा हेर त श्रीमान् र श्रीमतीको प्रेम 
त्यसैले भानु आऊ फेरी नयाँ काण्ड लेखौं । 
 
तिम्रो अयोध्याकाण्डमा
रामको वनवासमा भरतको भातृप्रेम थियो 
दाजुको खराउलाई चुम्ने भाइ थिए 
ऐले हेरत भानु!
भाइ भाइबीच यौटा भाइले अर्कोलाई 
कसरि उठिबास लगाउँ भन्ने जुक्ति खोज्दै छन् 
त्यसैले भानु आऊ फेरी नयाँ काण्ड लेखौं । 
 
तिम्रो अरण्यकाण्डमा 
एक्कै बचनमा राम वनबास गएको बर्णन थियो 
रावणद्वारा सीता हरण गरेको वर्णन थियो 
अहिले हेरत भानु !
मातापिता सन्तानका लागी धर्तीका बोझ भएका छन् 
भित्ते पात्रोमा व्रिद्दाश्रममा पठाउने मिति हेर्दैछन्  
हज्जारौ राम खाडीमा बेल्चा उठाउँदा 
नेपालमा सिता हरण गर्ने रावणको ताँती 
त्यसैले भानु आऊ फेरी नयाँ काण्ड लेखौं । 
 
तिम्रो किष्किन्धाकाण्डमा  
राम लक्ष्मणले हनुमानभेटे 
रामले बालीलाइ वाण हाने 
शुग्रिब राजा घोषित भए 
अहिले हेरत भानु !
सहि गलत छुट्टयाउन नसक्ने हनुमानका लाइन 
दोषी पुजिंछन् यहाँ मारिन्छन् निर्दोष बालीहरु  
हरेक प्रदेशमा हेरत भानु छोटे राजाका  लाइनहरु  
त्यसैले भानु आऊ फेरी नयाँ काण्ड लेखौं । 
 
तिम्रो सुन्दरकाण्डमा 
हनुमानको लङ्का यात्रा र  सीता माईसँगको भेटथियो 
ऐलेका हनुमानलाई हेरत भानु भ्रस्टाचारको  यात्रा 
हजारौ सिताहरुको चीरहरण बलात्कार र हत्याहरु 
त्यसैले भानु आऊ फेरी नयाँ काण्ड लेखौं । 

तिम्रो युद्धकाण्डमा 
वानर र लङ्का सेनाको युद्द अनि 
राम लक्ष्मणको पराक्रम थियो 
ऐले हेरत भानु! 
वानरहरुकै भुडी भर्ने चर्को युद्द छ
सिमा मिचिदै छन् ,अस्तित्व बेचिदैछन् 
ऐलेका राम लक्ष्मणको सम्पती प्रेम हेर त 
सन्धि सम्झौताका नाममा देशै बैना दिई सके
त्यसैले भानु आऊ फेरी नयाँ काण्ड लेखौं । 
 
 तिम्रो उत्तरकाण्डमा 
सीताजीको अग्नि परीक्षा,रामको मृत्युवरन थियो 
ऐले हेरत भानु !
हज्जारौं सीताले नमरुञ्जेल अग्नि परीक्षा दिईरहेका छन् 
चरित्रको  नाउँमा दाइजो अनि बोक्सी र छोरा नपाएको नाउँमा  
न्यायको लागि अनशनमै मृत्यु वरण गर्नेको देश भएको छ 
त्यसैले भानु आऊ फेरी नयाँ काण्ड लेखौं । 
 
-२०५ औं भानु जयन्तिको अवसरमा सम्पूर्णमा शुभकामना।