-भानुभक्त र हाम्रो पहिचान

भानुभक्त र हाम्रो पहिचान

Hollywood Khabar July 12,2020 Comments

सुरेन सापकोटा,न्युयोर्क/७/१३/२०

असार २९, अर्थात भानु जयन्ती, नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको २०७ औं जन्म दिवस्। भानुभक्त आदिकवि मात्र नभै भाषाद्वारा नेपाली राष्ट्रिय एकता सुदृढ गराउने महत्वपूर्ण व्यक्तिको नाम पनि हो। आज नेपाली राष्ट्रियता नेपालको भुगोलभन्दा पर संसारभर पनि व्यापक रुपमा फैलिएको छ।

आफ्नो जिवनकालमा संस्कृत ग्रन्थहरुलाई नेपालीमा उल्था गरे बापत आफ्नैहरुबाट समेत धेरै खप्कि खानुपरेको थियो भानुभक्तले। त्यसैगरी बिबिध भाषाभाषी भएको हाम्रो समाजमा एक भाषालाई मात्रै महत्व दिईएको भनेर यदाकदा गुनासाहरु पनि नसुनिएको होईन। तर आजको समयमा आईपुग्दा भानुभक्तलाई आदिकवि मान्ने विषयमा संसारभरिका नेपालीहरुमा कुनै दुईमत देखिंदैन।

जसरी पृथ्वीनारायण शाहले भूगोलद्वारा नेपालको एकीकरण गरे त्यसैगरी भानुभक्तले नेपाली भाषाद्वारा भानु (सूर्य) जस्तै व्यापक भएर संसारभर फैलिएको नेपाली भाषा संस्कृति र राष्ट्रियतालाई एकसूत्रमा ल्याए। बिबिध भाषा र परम्परामा रहेर विस्वमा फैलिएका हामी संपुर्ण नेपालीको समष्टीगत पहिचान नै आज नेपाली पहिचान हुन पुग्यो।

नेपालमा मात्र नभएर ईन्डिया, म्यानमार, बंगलादेश, भुटान लगायतका देशमा वहाँको कृतित्व र ब्यक्तित्वको संझना गरिन्छ। ईन्डियाका बिभिन्न राज्य र शहरहरुमा आदिकवि भानुभक्तको प्रख्याती र प्रभाव आजसम्म छँदैछ। अरुणाचल प्रदेश, गुहाटी लगायत असमका कतिपय स्थान, पश्चिम बंगालको कोलकाता, सिलिगुडी, कालिम्पोङ, दार्जिलिङ, नक्शलबारी, जलपाईगुडी, कर्साङ लगायतका सबै क्षेत्रमा आदिकविको भब्य शालिकहरु निर्माण गरिएका छन् भने बर्षेनी बिबिध कार्यक्रम समेत हुने गरेका छन्।

ईन्डियाको एक मात्र नेपाली भाषी बाहुल्य राज्य सिक्किममा त प्रमुख सरकारी र प्रशासनिक भाषाको रुपमा नेपाली भाषा नै प्रयोगमा आउँने गर्दछ। सिक्किमेलीहरु नेपाली पहिचानमा गर्व गर्दछन् । बिबिध भाषाभाषी र परम्परा रहेको सिक्किम राज्यमा सबैको प्रतिनिधि पहिचान नै गोर्खाली वा नेपाली पहिचान बन्न पुगेको छ। त्यहाँ पनि भानुभक्तको योगदानलाई असाध्य महत्वका साथ हेरिन्छ ।

यी क्षेत्र बिगतदेखि नेपाली मुलका बासिन्दाको क्षेत्र पनि हो। समयक्रमसँगै बसाईं सराईले कतिपय स्थानमा नेपाली भाषीहरु अल्मतमा पर्नु स्वाभाविकै हो। हाल भौगोलिक रुपमा ईन्डियामा पर्ने भए पनि यो क्षेत्रका नेपाली मुलका दिदिबैनी दाजुभाइ नेपाली भाषा संष्कृति र नेपालीप्रति असाध्य माया र समर्पणको भाव राख्दछन्। उनिहरुको समष्टि पहिचान नै नेपाली हो।

आज जुन जुन देसमा नेपाली पुगेका छन् तिनले आफ्नो भाषा संष्कृति परम्परा र गौरवगाथा सँग सँगै लिएर गएका छन् । आफ्नो पहिचान कायम गर्दै नेपाली भएकोमा गर्वभान्वित महशुस गर्दछन। अमेरिका, क्यानाडा, अष्ट्रेलिया, वेलायत, रसिया लगायतका देशमा नेपालीहरुले सनातन परम्परा झल्कने हिसाबले मठमंदिर, चैत्य आदि निर्माण गरेका छन भने बेला बखत बिबिध धार्मिक, साहित्यिक, सांस्कृतिक कार्यक्रमहरु आयोजना गर्ने गर्दछन् । त्यसैगरी युरोपमा समेत बिबिध नेपाली कार्यक्रमहरु बाक्लै हुने गरेका छन्।

त्यसैगरी रोजगारीका सिलसिलामा पुगेका मध्यपुर्वका देसहरु, खाडी मुलुक साथै अफ्रिकन देसहरुमा समेत नेपालीहरु एकिकृत पहिचान बनाउँदै गएको पाईन्छ । यस प्रकार नेपाली विश्वको जुन कुनामा रहे पनि नेपाली नै भएर बाँचेका छन्।

मान्छेका राजनैतिक आर्थिक अधिकार कुनै पनि राज्यले छिन्न सक्ला तर आफ्नो भाषा, धर्म, संस्कृति र परम्परा न कुनै राज्यले छिन्न सक्छ न कुनै तानासाहले। किनकि भाषा, संस्कृति, धर्म र परम्परा कुनै पनि राज्यले दिएको अधिकार होईन बल्कि मानिस जन्मदै सँगै लिएर आएको जन्मजात अधिकार हो।

यसरी आफ्नो देसको भुगोल र भुगोल पारि विश्वभर छरिएका नेपालीहरुलाई नेपाली भएर बाँच्न प्रेरणा दिने स्रोत नै भानुभक्त हुन् भन्दा अत्युक्ति नहोला। हामी सबैको पहिचान स्थापित गर्न महत्वपुर्ण योगदान दिने उनै भानुलाई धेरै धेरै सम्झना।