-कृष्ण अधिकारी, लमजुङ, हाल-काठमाडौं/९/१९/२०
धेरै पुर्खाले अमूल्य रगत बगाए
थुप्रै आमाको कोख रित्तियो
कतिको वैंशमै निधार पखालियो
धेरैले अनाथ बन्नुप¥यो
तिनैको रगत, आँशु, सिन्दुर र वात्सल्यस्वरुप
आज मेरा हातमा
एक थान कागजको
ठेली थमाइएको छ ।
थाहा छैन
त्यसमा के लेखिएको छ
भोको मेरो पेटले
देख्दैन त्यसमा एक मुठी च्युरा
न टोक्न मिल्ने
न पेट भरिने ।
नाङ्गो मेरो आँगमा
ढाक्दैन एक अँगुल छाला
न ढाक्न मिल्ने
न छोप्न मिल्ने ।
बाढीपहिराले आश्रयविहीन मेरा लागि
दिँदैन ओत लाग्ने एक इन्च ठाउँ
न ओढ्न मिल्ने
न ओत लाग्न मिल्ने ।
त्यो कागजको ठेली
केबल मेरा लागि
बोझ सिवाय केही रहेन ।
लाग्थ्यो पहिले–
त्यही कागजको ठेली नहुँदा
मेरो पेटमा अन्न नपरेको हो
मेरो आँगमा लुगा नअडिएको हो
मेरा टहरो नभएको हो ।
तर आज बुझ्दैछु–
त्यही ठेली
कसैका लागि चौरासी ब्यन्जन हो
कसैका लागि बहुमूल्य बस्त्र अलङ्कार हो
भव्य र आलिशान महल हो ।
भो दोष कसैलाई दिन्न,
मेरो भाग्य नै उस्तो हो
म जन्मनुु नै भूल हो
आफैँले पठाएको मान्छेले कसो नहेर्ला र !
भनी सोच्नु नै मेरो अपराध हो ।
-Krishna Adhikari
सिफारिस
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...