तस्बिर साभार वेब

विपदका कारण विस्थापित सबै नागरिकलाई ६ महिना भित्र पुनःस्थापित गरिसक्न सरकारलाई राज्य व्यवस्था तथा सुशासन समितिको निर्देशन

Hollywood Khabar September 17,2020 Comments

२ असोज काठमाडौं । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिले विपद्जन्य घटनाका कारण विस्थापित भएका सबै नागरिकलाई ६ महिना भित्रमा पुनःस्थापित गरिसक्न सरकारलाई निर्देशन दिएको छ । आज बसेको समितिको बैठकले भौगर्भिक अध्ययन गरी भूउपयोग नीतिअनुसार उनीहरुको पुनर्वासको व्यवस्था मिलाउन गृहमन्त्रीमार्फत सरकारलाई निर्देशन दिएको हो । समितिले तत्काल अस्थायी आवास तथा खाद्यसामग्रीको उचित व्यवस्था मिलाउन समेत भनेको छ । समितिका सभापति शशी श्रेष्ठले सकेसम्म एकीकृत वस्ती निर्माण गरी पुनःस्थापित गर्न र विपद्को क्षति न्युनिकरणका लागि आवश्यक तयारी गर्न सरकारलाई निर्देशन दिएको जानकारी दिए ।

यसअघि समितिले दिएको निर्देशन कडाइका साथ पालना गर्न पनि भनेको छ । यसअघि दुई वटा बैठकले विपद्सम्बन्धि विभिन्न निर्णय गर्दै समितिले सरकारलाई निर्दशन दिइसकेको छ । गृहमन्त्री रामबहादुर थापाको उपस्थिति भएको बैठकले राज्यका सबै निकायको समन्वयमा नागरिकका लागि चाहिने आवश्यक वस्तु र सेवा सहज रुपमा उपलव्ध गराउन समेत निर्देशन गरेको छ । विपद्बाट प्रभावित क्षेत्रमा रोगव्याधि फैलिन नदिनका लागि सरसफाइलगायतका कार्यक्रम सञ्चालन गर्न तथा पिडितको आवश्यक औषधोपचारको व्यवस्था गर्न समेत समितिले सरकारलाई भनेको छ । पहिरो पूर्व सूचना प्रणालीलाई व्यवस्थित बनाउँदै क्षति न्यूनिकरणका सवालमा गम्भीर हुन समेत समितिले सरकारलाई आग्रह गरेको छ । समितिले मुलुकभर भइरहेका बलात्कार, हत्या, हिंसाजस्ता जघन्य अपराध रोक्नका लागि आवश्यक कदम चाल्दै पीडितलाई न्याय प्रदान गर्नसमेत निर्देशन दिएको छ ।