-न्यू योर्कमा नेपाल प्रहरीका प्रवक्ता डिआईजी विश्वराज पोख्रेलसँग भेटघाट

न्यू योर्कमा नेपाल प्रहरीका प्रवक्ता डिआईजी विश्वराज पोख्रेलसँग भेटघाट

Hollywood Khabar September 09,2019 Comments

अमेरिका भ्रमणमा रहनु भएका नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक (डिआईजी) विश्वराज पोख्रेलको न्यू योर्क शहरमा स्वागत र भेटघाट समारोह सम्पन्न भएकोछ।

समारोहमा उपस्थित नेपाली प्रतिनिधिहरूले प्रश्नोत्तर सत्रमा सोधेको शान्ति सुरक्षा सम्बन्धी गम्भीर प्रश्नहरूको सबिस्तार र सहज जवाफ प्रहरी नायब महानिरीक्षक पोख्रेलले दिनु भएकोछ।

प्रहरी र नागरिक समाजलाई फरक कित्तामा राखेर हेर्नु हुँदैन भन्दै नेपाल प्रहरीका प्रवक्ता डिआईजी पोख्रेलले देशमा शान्ति सुरक्षा कायम गर्न प्रहरी र नागरिक समुदायको सहकार्य अपरिहार्य हुने बताउनु भएकोछ। डिआईजी पोख्रेलले आफूले अमेरिकाको भ्रमण, अवलोकन र औपचारिक प्रशिक्षणबाट धेरै कुरा सिकेको र त्यो नेपालमा फर्केर लागु गर्ने प्रण गर्नु भयो।

प्रहरीले भ्रष्टाचार गर्ने आफ्नै बहालवाला प्रहरी नायब महानिरीक्षकसम्मको उच्च पदको अफिसरलाई गिरफ़्तार गरेको र तल्लो तहको स्टाफलाई रू. २०० घुस लिएकै आधारमा जागिरबाट बर्खास्त गरेको भन्दै कुनै पनि अपराध र भ्रष्टाचार गरी कानून उल्लंघन गर्नेलाई जिरो टलरेण्ट नीति अन्तर्गत कार्यवाही गर्दै आएको उल्लेख गर्नु भयो।

प्रहरी नायब महानिरीक्षकपोख्रेलको टोलीका नेपाल प्रहरीको तीन एसपीहरू र बन बिभागका ५ जना प्रतिनिधि मण्डल अमेरिकी सरकारको बन्यजन्तु संरक्षण सम्बन्धि एक महिने तालिम लिन आएको हो।