बोटको अठोट

0
shares

by Krishna KC | Updated: 02 Jul 2020

668 views
-Tirtahraj Adhikari

-तीर्थराज अधिकारी/लप्सीबोट, गोरखा, हाल सरस्वतीनगर, काठमाडौँ/७/२/२०

जरा धरा जे-जति टेक्न पाएँ
आधार मानी तन यो सजाएँ
अठोट अग्लो शिरमा उठाई
जित्नै छ बाधासितको लडाइँ ।
(१)
हुरी चली वल्लव वस्त्र तानोस्
आकाश गर्जी जति वज्र हानोस्
कडा—कडा शीत र ताप आओस्
दाह्रा गढी वल्कल नै उतारोस् ।
(२)
मुना-मुना फूल र पात झाँकी
बहार झन् सुन्दर याम बोकी
नचाउँदै भृङ्ग, पतङ्लाई
हेरूँ म मौरी रसको घुमाइ ।
(३)
टिपेर मेरा फल क्वै अघाऊन्
चुसेर मेरा रस क्वै रसाऊन्
कतै कसैमा प्रतिवाद छैन
यो मौन मेरो व्रत रोकिँदैन ।
(४)
झरी परे झम्झम, ओत दिन्छु
आऊन् जति क्लान्त म काख लिन्छु
छैनन् कतै रात र प्रात भिन्न
सत्कर्मको कर्म कतै नुहुन्न ।
(५)
म बोटको जीवन नै उदार
सहन्छु बाधा जति हुन् प्रहार
म रित्तिँदै भर्छु असङ्ख्यलाई
चोखो छ मेरो करको कमाइ ।
(६)
गर्दै गरूँ अर्पण, नित्य दान
चुमेर माटो रसको महान
जन्मी बढी यै थलमा समाधि
लिँदै म जाऊँ पर मेघमाथि ।
(७)