-Krishna Adhikari

व्यङ्ग्य कविता:कोरोना प्रेम

Hollywood Khabar November 15,2020 Comments

कृष्ण अधिकारी, काठमाडौं, ११/१५/२०

 

प्रिय कोरोना

तिमी आयौ र पो म छु

म छु र पो तिमी आएकी छौ

हाम्रो प्रेम यसैगरी झाँगिरहोस्

इष्र्या गर्नेहरु जलिरहून्

म तिमीलाई यसरी नै मायाले कसिरहने छु

तिमी सधैँ कमिसनको अँगालोमा बेरिई नै रहू

छिमेकीले खोप ल्याएर तिम्रो निर्मूल गर्न खोज्दैछन्

तर तिमी ढुक्क भए हुन्छ

म कदापि खोप ल्याउन दिन्नँ

कथं ल्याउन परे ओम्नीलाई भनौंला

र नक्कली बाँडेर दुनियाँलाई भ्रमित पारौंला ।

 

मान्छेलाई भुलाउन गाह्रो छैन प्रिये

उस्तै परे फेरि लकडाउन गरौँला

अनि हामी मस्तले रमाउँला !

हिजो तिमीसँग डराउनेहरु

विस्तारै तिम्रो मायामा फस्दैछन्

चिउँडोमा मास्क भिरेर

भीडभाडमा तिमीलाई नै खोज्दैछन्

अब तिमी लुकेर होइन

खुल्लम्–खुल्ला आए हुन्छ प्रिये

कम्तीमा दुई वर्ष यतै बस

सत्ताको पारिलो घाममा

दुई वर्ष तिम्रै काखमा मस्त निदाउन देऊ

तिम्रो प्रेमले ममा झन जवानी चढ्दैछ

तिम्रो उपस्थितिले मेरो समृद्धि र खुसी बढ्दैछ !