- खोरमा परेको चितुवा

६ जना बालबालिका खाने चितुवालाई काठको खोरमा थुन्ने सम्मानित 

Hollywood Khabar November 16,2019 Comments

१ मङ्सिर,तनहुँ।चितुवाको आक्रमणबाट ६ जना बालबालिकाको मृत्यु भएपछि परम्परागत शैलीमा काठको खोर निर्माणगरि तीनवटा चितुवा नियन्त्रणमा लिन सहयोग पुर्याउने व्यक्तिलाइ सम्मान गरिएको छ।तनहुँको भानु नगरपालिकाका विभिन्न वडामा बालबालिकालाई आक्रमण गर्ने चितुवा नियन्त्रणका लागि परम्परागत काठको खोर बनाउने  ४ जनालाई नगरपालिका र डिभिजन वन कार्यालयले नगद र सम्मान पत्रले सम्मान गरेको हो।भानु नगर पालिका वडा नं २ फुस्रेटारका हरिभक्त ढकाललाइ  १० हजार र वडा नं ३ का मनबहादुर रानालाई पाँच हजार तथा प्रमाणपत्रले सम्मान गरिएको छ ।

त्यस्तै खोर बनाउन ढकाललाई सहयोग गर्ने वडा नं २ का रसबहादुर कुमाल र रानालाई सहयोग गर्ने वडा नं ३ का हिराबहादुर कुमाललाई जनही दुई हजार ५०० रुपैयाँ तथा प्रमाणपत्रले सम्मान गरिएको हो । उनीहरुलाई तनहुँका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित,भानुका नगर प्रमुख उदयराज गौली, डिभिजन वन कार्यालयका तनहुँका डिभिजनल  प्रमुख केदार बराल लगायतले सम्मान गरेका हुन्।

तेसैगरी काठको खोर निर्माणका लागि सहयोग पुर्‍याउने देउराली सामुदायिक वन, कालिका सामुदायिक वन, मिनेश्वरी सामुदायिक वन, भिमसेनथुम्की सामुदायिक वन र मजुवा ओख्ले सामुदायिक वनलाई पनि प्रति खोर पाँच/पाँच हजार रुपैयाँ र मजुवा ओख्ले सामुदायिक वनलाई १० हजार रुपैयाँसहित सम्मान गरिएको छ ।चितुवा नियन्त्रणका लागि अपनाइएका सबै उपायमध्ये परम्परागत काठको खोर सबैभन्दा बढी प्रभावकारी देखिएपछि पाँचवटा सामुदायिक वनमा ६ वटा परम्परागत काठका खोर राखिएको डिभिजन वन प्रमुख बरालले बताए।अन्य सामुदायिक वनमा समेत परम्परागत काठको खोर निर्माण शुरु गरिएको छ।