निर्वाचनको समयमा निकुञ्जमा सुरक्षा सतर्कता उच्च बनाईंदै:सुकदेव चापागाई

Hollywood Khabar May 09,2017 Comments

सुकदेव चापागाईं/चितवन

चितवन राष्ट्रिय निकुञ्जमा निर्वाचनको समयलाई मध्यनजर गरी चोरी शिकारीका घटनाहरु हुन नदिन थप सुरक्षा सतर्कता अपनाईएको छ।गैंडा लगायतका वन्यजन्तुको तस्करी बढ्न सक्ने आशंकाले सेनाको विशेष टोलीले सुरक्षा सतर्कता अपनाएको हो। 

निर्वाचनको समयमा सुरक्षा खतरा बढ्ने र अघिल्लो महिना मात्रै गैंडाको मृत्यु भएको कारणले गर्दा निकुञ्जमा सुरक्षा सतर्कता थप मजबुत बनाईएको छ। अनधिकृत रुपमा जंगल प्रवेशमा कडाई, व्यापक पैदल गस्ती, मोबाइल गस्ती र विभिन्न स्थानहरुमा चेकिङ पोईन्टहरु खडा गरी शंकास्पद व्यक्तिहलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्ने काम गरिएको निकुञ्जका सुचना अधिकारी नुरेन्द्र अर्यालले बताउनुभयो। निर्वाचनको समयमा चोरी सिकारीहरुले मौका नपाउन भनेर स्थानीय समुदायसँग मिलेर संयुक्त गस्ती सुरु गरिएको नेपाली सेनाले जनाएको छ। समुदायमा आधारित चोरी सिकारी नियन्त्रण युवा जागरण अभियानका सदस्यहरुलाई पनि थप सक्रिय बनाईएको छ। 

नेपाली सेनाले सुरक्षा बढाएका कारण पछिल्लो समय एक सिंगे गैंडाको चोरी शिकारी लगभग शुन्य अवस्थामा पुगेको छ । कुनै समय वर्षमा करिब २० वटा जति एक सिंगे गैंडालाई तस्करहरुले मार्ने गर्दथे । तर अहिले यो संख्या करिब शुन्य जस्तै भएको छ। 

गत तीन वर्षको अवधिलाई हेर्ने हो भने चितवन निकुञ्जमा एक वटा मात्रै गैंडा मरेको तथ्यांक छ। त्यो पनि गत चैत २५ गते तस्करहरुले राति असिना पानी परेको बेला मारेका थिए । निकुञ्जको सिंगो सुरक्षाको जिम्मेवारी सेनाले लिने गर्दछ। सेनाले २०६७ देखि २०७० सालसम्म जिरो पोचिङ अर्थात् गैंडाको शुन्य शिकारको अवधारणा ल्याएको थियो। यो दुई वर्षको अवधिमा एक वटा गैंडा म¥यो । २०६७ सालदेखि २०७४ सम्म ७ वर्षको अवधिमा आईपुग्दा ३ वटा मात्रै गैंडाहरु मारिएको निकुञ्ज प्रशासनले जानकारी दिएको छ। 

त्यस्तै २०७१ वैशाख २० गतेदेखि निकुञ्जको सुरक्षाको जिम्मेवारी सम्हाल्न आईपुगेको नेपाली सेनाको श्रीजंग गणले विशेष अपे्रशन चलाएका कारण यो अवधिमा एक वटा मात्र गैडा मरेको तथ्यांक छ । जब की सात वर्षअघि तस्करहरुले वर्षेनी २० वटा जति गैडाहरु मार्दथे। श्रीजंग जणले निकुञ्जको सुरक्षाको जिम्मेवारी लिएको करिब तीन वर्ष पुग्नै लाग्दा गत चैत २५ गते चितवनको जगतपुरमा तस्करहरुले मौकाको फाइदा उठाई एउटा गैडा मारे। 

विभिन्न प्रविधिहरुको प्रयोग गरी व्यापक रुपमा जनशक्तिहरुको परिचालन, सुरक्षाफौजको व्यापक अपरेशनका बाबजुद पनि गत चैत्र २५ गते राति करिब १० बजे एक सिंगे गैंडालाई चोरी शिकारीहरुले मारी खाग काटेर लैजान सफल भएका थिए । सुरक्षा अधिकारीका अनुसार यस घटनाबाट के कुरा पुष्टी हुन्छ भने, गैंडा चोरी शिकारीका घटनाहरु निर्मुल भएका छैनन् है भन्ने नै हो । ती अधिकारीले भने, “हामीले सुरक्षा दिंदा दिंदै दाउ कुरेर बसेका शिकारीहरुले झुक्याएर गैंडा मारी भागेका हुन्छन् । यसको मतलब शिकारी बलियो भयो तर सुरक्षाकर्मी कमजोर भयो भन्ने कुरा पटक्कै होईन । कुनै समय यति धेरै गैडा मारिन्थ्यो तर हामी आएपछि लगभग गैडा मारिने संख्या करिब करिब शुन्य जस्तै भएको छ।”

उक्त गणले एक हजार ७१ दिनसम्म विभिन्न अप्रेसन संचालन गरी चोरी सिकारीहरुको प्रयास विफल पारेको थियो । गैंडा मारिने क्रम विस्तारै रोकिंदै गएको भएपनि बेला बेला मौका छोपेर तस्करहरु सल्बलाउने गर्दछन्।विश्व सम्पदा सूचीमा सुचीकृत भएको चितवन राष्ट्रिय निकुञ्ज एक सिंगे गैंडाका कारण प्रख्यात मानिन्छ। २०७१ सालसम्म यस निकुञ्जमा करिब ६ सय ४५ वटा गैंडाहरु रहेको तथ्यांक छ। २०७१ देखि २०७४ सम्म आईपुग्दा यो अवधिमा दुई वटा मात्र गैंडा मरेको निकुञ्ज प्रशासनको भनाई छ। 

गैंडा बचाउने कार्यमा नेपाली सेना र निकुञ्ज प्रशासनको मुख्य भूमिका रहेको बताईन्छ । “हामीले शुन्य शिकार अवधारणाको कार्यक्रम ल्याएपछि यो बीचमा तस्करहरु त्यति धेरै सल्बलाउन पाएनन्, निकुञ्ज प्रशासनका एक अधिकारीले भने, गैडा बचाउने कार्यमा सेनाले विशेष भूमिका खेल्यो।” ती अधिकारीका अनुसार हाल चितवन राष्ट्रिय निकुञ्जभित्र ५० भन्दा बढि सुरक्षा पोष्टहरुबाट विशेष फौज समेत तयार गरी सुरक्षा दिने काम भईरहेको छ। 

माघदेखि जेठसम्मको अवधि भनेको गैंडा बचाउनका लागि निकै चुनौतिपूर्ण मानिन्छ। श्रीजंग गणका एक अधिकारीले भने, “माघदेखि जेठ महिनासम्म जंगलमा हरियो पातहरु सुक्दै जाने, खोलानाला सुक्ने र सुख्खायाम भएकाले जंगलभित्रबाट गैडाहरु बाहिर निस्कन्छन् र तस्करहरुले दाउ हेरेर बस्छन् । त्यसैले यो समयमा सुरक्षा थे्रट निकै हुन्छ तर हामी निकै चनाखो भएर बस्छौं ।”

चितवन निकुञ्ज बफर जोन क्षेत्रसहित १६ सय ८२ वर्ग किलोमिटर क्षेत्रफलसम्म फैलिएको छ। यो निकुञ्ज चितवन, मकवानपुर, पर्सा र नवलपरासी गरी चार वटा जिल्लामा फैलिएको छ। एक सिंगे गैंडाका कारण निकुञ्जको महत्व अझ धेरै छ। तर मौका छोपी बेला बेला तस्करहरुबाट हुने थ्रेटका कारण गैंडा जोगाउन निकै चुनौति रहेको सेनाका अधिकारीहरु बताउँछन् । निकुञ्जका सूचना अधिकृतले बताए अनुसार निकुञ्ज, नेपाली सेना र स्थानीय समुदायको सहकार्यले नै गैडाहरु मारिने क्रम रोकिएको हो। 

उनी भन्छन्, “हाम्रो एकल प्रयासले मात्र नभई सेना, निकुञ्ज प्रशासन र स्थानीय समुदायको ठूलो मेहनतले गैंडाको चोरी शिकारी नियन्त्रण हुन सकेको छ। गैंडा मारिने क्रम रोकिएको भने छैन तर हिजोको तुलनामा निकै कम भएको छ । हाम्रो मुख्य काम गैंडा बचाउनु थियो जुन हामीले तीन वर्षको अवधिमा करिब शुन्य जस्तै बनाएका छौं।” 

सुरक्षा व्यवस्था राम्रो भएको कारण निकुञ्ज भन्दा बाहिर गएको गैंडालाई रौतहटबाट उद्दार गरी दुई पटकसम्म निकुञ्जमा लगिएको हो । चोरी सिकारका घटना हुन नदिनको लागि नेपाली सेनाले थप स्पेशल फोर्स परिचालन समेत गर्ने गरेको छ। 

सुरक्षा अधिकारी भन्छन्, “गैंडा बचाउन र सिंगो निकुञ्जको संरक्षण गर्न हामीले निकुञ्ज प्रशासनसँग मिलेर स्थानीय समुदाय माझ जनचेतना कार्यक्रमहरु ग¥यौं, चोरी शिकारी नियन्त्रण अभियान चलायौं र रातभर गस्ती ग¥यौं। जसका कारण गैंडा मारिने क्रम निकै घटेको छ तर ढुक्क भएर बस्ने स्थिति भने छैन ।”

गत चैत २५ गते जगतपुरमा एउटा गैंडा मरेपछि केही व्यक्ति तथा मिडियाले नेपाली सेना र निकुञ्ज प्रशासन भन्दा तस्करहरु बढी बलिया भन्ने समाचारहरु प्रकाशित गरेकोमा सुरक्षा अधिकारीहरु गुनासो गर्छन्। एकाध घटनाका कारण मुलुकको सिंगो सुरक्षा प्रशासन माथि नै चुनौति दिने गरी यसरी मिडियामा समाचारहरु आउनु र चार दशकभन्दा बढी समय प्रकृति संरक्षणमा बिताईसकेको नेपाली सेना जस्तो सशक्त संस्थाले सुरक्षा दिन सकेन भनेर बाहिर नकारात्मक प्रचार गरिनु पक्कै पनि दुखदायी भएको अधिकारीहरुको भनाई छ।  

नेपाली सेनाले प्रयोग गरिरहेको रियल टाईम पेट्रोल मोनिटरिङ सिस्टम भन्ने सफ्टवेयरका कारण सुरक्षा व्यवस्था मजबुत हुँदै गईरहेको छ । यो प्रविधि भनेको यस्तो ट्रयाकिङ पद्दति हो, जसबाट कुन सुरक्षा टिम कहाँ छ भन्ने कुरा निकुञ्ज प्रशासन र सेनाको अपरेशन रुमबाट लाईभ हेर्न सकिन्छ । यसैका कारण कुनैपनि फौजले डिउटीमा नगईकन डिउटी गरेको थिएँ भनेर झुटो बोल्न सक्दैन ।सेनाले बनाएको यो सफ्टवेयरको मद्दतले समेत वन्यजन्तुको संरक्षणमा सफलता मिलिरहेको सुरक्षा अधिकारीहरु बताउँछन्। 

अफ्रिकामा हरेक वर्ष १ हजारभन्दा बढी गैंडा तस्करहरुको निशानामा पर्ने गरेको तथ्यांक छ। छिमेकी मुलुक भारतमा यही वर्ष २० वटा भन्दा बढी गैंडाहरु तस्करहरुले मारिसकेको तथ्यांक छ। संकटकालको समयमा नेपालमा एकै वर्ष ३० वटा भन्दा बढी गैंडाहरु मारिएको थियो । तर अहिले नेपाली सेनाले प्रकृत्ति संरक्षण कार्यलाई आफ्नो प्रमुख जिम्मेवारीको रुपमा लिएपछि व्यापक सुराकी परिचालन, रातको समयमा समेत सैनिक गतिविधिहरु सञ्चालन र बफर जोनका स्थानीय समुदायका व्यक्तिहरुसँग नियमित अन्तक्र्रिया गरिएको कारण एक सिंगे गैंडा लगायत अन्य वन्यजन्तुको संरक्षणमा उल्लेख्य सफलता मिलेको सैनिक अधिकारीहरुको दाबी छ।