-गैरआवासीय नेपाली नागरिकताको प्रावधान

NRNA:गैरआवासीय नेपाली नागरिकताको ऐनमा सुझाव संकलन

Hollywood Khabar October 31,2019 Comments

गैरआवासीय नेपाली सम्बन्धि ऐनमा सुझाव संकलन सम्बन्धमा

आदरणीय गैरआवासीय नेपाली दाजुभाई तथा दिदी बहिनीहरु,

गैरआवासीय नेपाली संघको नवौँ अन्तर्राष्ट्रिय महाधिवेशनबाट निर्वाचित कार्यसमितिले संघका अध्यक्ष कुमार पन्तको नेतृत्वमा संघसँग सरोकार भएका विभिन्न मन्त्रालय, बोर्ड र आयोगका पदाधिकारीहरुसँग प्रत्यक्ष भेट गरी गैरआवासीय नेपालीहरुसँग सम्बन्धित विषयहरुमा छलफल गरेको यहाँहरुलाई अवगत नै छ ।

नेपालको संविधान २०७२ ले व्यवस्था गरे अनुसार गैरआवासीय नेपाली नागरिकताको प्रावधान भएको नागरिकता विधेयक संसदबाट छिट्टै टुङ्गो लाग्नेछ भन्नेमा हामी विश्वस्त छौँ। यसै बिचमा गैरआवासीय नेपालीसँग जोडिएको अर्को महत्वपूर्ण ऐन-गैरआवासीय नेपाली सम्बन्धि ऐन २०६४ तथा नियामावली २०६६ लाई प्रतिस्थापन गर्ने सम्बन्धमा हाल नेपाल कानून आयोगमा काम भइरहेको छ। आयोगका पदाधिकारीहरुसँग संघका अध्यक्ष लगायतको टोलीले भेट्ने क्रममा संघबाट औपचारिक धारणा सहितको सुझाव पेश गर्न अनुरोध भएको छ ।

तसर्थ, गैरआवासीय नेपालीहरुसँग जोडिएका विभिन्न विषयहरुमा (गैरआवासीय नेपाली परिचयपत्र, नेपाल प्रवेश गर्ने भिसा, आर्थिक लगानी, अंशवण्डा, सम्पत्तिको अधिकार, दोश्रो पुस्ताका गैरआवासीय नेपालीसँग जोडिएका अन्य विषय) यहाँहरुले के-कस्ता व्यवहारिक, प्रशासनिक अथवा कानूनी झन्झट व्यहोर्नु परेको छ, त्यसको जानकारी लिखित रुपमा ८ नोभेम्बर, २०१९ सम्म गराइदिनु हुन विनम्र अनुरोध गर्दछौँ। सुझाव संकलन गर्न सहयोग गरिदिनु हुन अन्तर्रा्ष्ट्रिय समन्वय परिषद् (आइसीसी) एवं राष्ट्रिय समन्वय परिषद (एनसीसी) पदाधिकारी तथा सदस्यहरुलाई विशेष अनुरोध गर्दछौँ ।

मुलतः निम्न विषयहरुमा सरकारलाई ठोस सुझाव दिनका लागि हामीले गृहकार्य सुरु गरेका छौँ र यस सम्बन्धमा विज्ञहरुसँग परामर्श समेत थालेका छौँ । त्यसैमा आधारित भएर आफ्ना सुझावहरु दिनुहुन अनुरोध गर्दछौँ ।

 

१. नेपालको संविधान २०७२ को धारा १४ मा उल्लेख भएको गैरआवासीय नेपाली नागरिकको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको परिभाषा सम्बन्धमा ।

२. विदेशी मुलुकको नागरिकता प्राप्त गैरआवासीय नेपालीहरुको चल–अचल सम्पतिको भोगचलन, बिक्री वितरण र सुरक्षा सम्बन्धमा ।

३. गैरआवसीय नेपालीहरुको लगानीमा देखिएका कानूनी तथा प्रशासनिक कठिनाइ सम्बन्धमा ।

४. गैरआवासीय नेपालीहरुलाई राष्ट्रिय परिचयपत्र (National Identity Card) का व्यवस्था सम्बन्धमा ।

५. गैरआवासीय नेपाली परिचयपत्र (NRN Card) का सम्बन्धमा ।

६. विदेशी मुलुकको नागरिकता प्राप्त गैरआवासीय नेपाली वा उनीहरुका परिवारका सदस्यलाई दिइने भिसा सम्बन्धमा ।

७. विदेशमा बस्ने नेपाली नागरिकहरुले विदेशी भूमिबाट मतदान गर्न पाउने व्यवस्था सम्बन्धमा ।

८. विश्वव्यापी मान्यता अनुसार एक वर्षमा १८३ दिन नेपालबाहिर बस्ने तथा विद्याथीहरुलाई समेट्ने गरी गैरआवासीय नेपालीहरुको परिभाषा गर्ने सम्बन्धमा ।

९. तीन पुस्ता पछिका गैरआवासीय नेपालीहरुका सन्ततिहरुलाई गैरआवासीय नेपालीको परिभाषाभित्र समेट्ने सम्बन्धमा ।

१०. विदेशी नागरिकसँग विवाह गर्ने नेपाली महिला, पुरुष वा उनीहरुका सन्ततिको नागरिकता वा परिचयपत्र दिइने सम्बन्धमा ।

११. गैरआवासीय नेपाली नागरिकका सम्वन्धमा देवानी संहितामा जोडिएका अन्य विषयहरु सम्बन्धमा।

भवदीय,

डा. हेम राज शर्मा

महासचिव, गैरआवासीय नेपाली संघ