अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पुर्व प्रमुख आयुक्त सुर्यनाथ उपाध्याय-तस्बिर साभार वेब

कमिशन मागेको अडियो सार्वजनिक भएपछि छानबिन गर्न अख्तियारले उजुरी कुर्नु पर्दैन−सुर्यनाथ उपाध्याय

Hollywood Khabar February 19,2020 Comments

८ फागुन काठमाडौं।अख्तियार दुरुपयोग अनुसन्धान अयोगका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले कमिशन मागेको अडियो सार्वजनिक भएपछि छानबिन अघि बढाउन अख्तियारले उजुरी कुर्नु नपर्ने बताएका छन्।उपाध्यायले भने, 'कमिशन डिलको अडियो सार्वजनिक भइसकेपछि मन्त्रीजीले छानबिनका लागि आफूलाई खुला राख्नुपर्छ र सघाउनुपर्छ ।' उपाध्यायले अनुसन्धान निकायले पनि यस्तो विषय सार्वजनिक भएपछि तत्काल छानबिन अघि बढाउनुपर्ने बताए ।

उनले भने, 'अब अनुसन्धान निकायले पनि आफ्नो प्रक्रिया तत्काल अघि बढाउनुपर्छ । नत्र प्रमाण लोप हुने खतरा हुन्छ ।'उजुरी नपरे पनि अख्तियारले यस्ता विषयको छानबिनमा ढिलाइ गर्न नहुने बताउँदै उनले भने, 'यसरी सार्वजनिक रुपमा विषय आइसकेपछि उजुरी पर्नु पर्दैन। सार्वजनिक रुपमा आएका विषयलाई नै आधार मानेर छानबिन अघि बढाउनसक्छ अख्तियारले। अडियो नै आइसक्यो, अब अख्तियारले उजुरी कुर्नु पर्दैन।'उनले सार्वजनिक भएको अडियोको प्रमाणीकरण गर्नुपर्ने बताए । उपाध्यायको भनाइ छ, 'जुन अडियो बाहिर आएको छ,  त्यसलाई प्रमाणीकरण गरेर विस्तृत अनुसन्धान हुनुपर्छ।' पूर्व प्रमुख आयुक्त उपाध्यायले कमिशनको डिल गर्ने एजेन्ट विजय मिश्रलाई पनि मतियारका रुपमा छानबिनमा ल्याउनुपर्ने बताए। 

सेक्युरिटी प्रेस खरिद प्रकरणमा सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले कमशिन मागेको अडियो सार्वजनिक भएपछि यसबारेमा संसदीय समिति र अनुसन्धान निकायहरुले पनि चासो लिएका छन् । ७० करोडको कमिशन अडियो बिहीबार नै सार्वजनिक भएको हो।