कांग्रेसमा हरेक वडाबाट समावेशी समूहको सहभागिता अनिवार्य

कांग्रेसमा हरेक वडाबाट समावेशी समूहको सहभागिता अनिवार्य

Hollywood Khabar September 02,2021 Comments

नेपाली कांग्रेसले छ हजार सात सय ४३ वटै वडाबाट समावेशी समूहको प्रतिनिधित्व अनिवार्य गरेको छ । निर्वाचन निर्देशिकामा संविधान र पार्टीको विधानको भावनाविपरीत कतिपय वडा र जिल्लाबाट समावेशी समूहको सहभागिता शून्य बनेको भन्दै विभिन्न भातृ संस्था र नेताहरुले विरोध गरेपछि कांग्रेसले निर्देशिकामा संशोधन गरेको हो ।

बिहीबार साँझ बालुवाटारमा प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसहित नेताहरु प्रकाशसरण महत, मिनेन्द्र रिजाल, जीवन परियार लगायतको सहभागितामा भएको छलफलले हरेक वडाबाट समावेशी समूहतर्फ कम्तिमा एक जनाको सहभागिता अनिवार्य गर्ने गरी निर्देशिकामा संशोधन गरेको छ ।


अब छ हजार सात सय ४३ वटै वडाबाट सम्बन्धित समावेशी समूहका क्रियाशील सदस्य भएको अवस्थामा कम्तिमा एक जना क्षेत्रीय प्रतिनिधि र कार्यसमितिमा एक जनाको प्रतिनिधित्व अनिवार्य हुनेछ । कांग्रेसको विधानले महिला, दलित, आदिवासी जनजाति, खसआर्य, मधेशी, मुस्लिम, थारु, अल्पसंख्यक वा अपांगता भएका व्यक्तिलाई समावेशी समूहमा राखेको छ ।