-कोञ्ज्योसोम पालिकामा महिलालाई नि:शुल्क सेनिटरी प्याड, क्वारेन्टाइनमा डिसहोम र टिभी

कोञ्ज्योसोम पालिकामा महिलालाई नि:शुल्क सेनिटरी प्याड, क्वारेन्टाइनमा डिसहोम र टिभी

Hollywood Khabar June 26,2020 Comments

सन्तोष दहाल,ललितपुर/६/२७/२०

ललितपुर जिल्लाको कोञ्ज्योसोम गाउँपालिकाले आफ्नो गाउँपालिका भित्रका १२ देखि ५० वर्ष सम्मका प्रजनन उमेर समूहका महिलाहरुलाई नि:शुल्क रुपमा सेनिटरी प्याड उपलब्ध गराउने भएको छ।

३ दिन सम्म चलेको गाउँ सभाबाट पारित गरिएको आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममा उल्लेख भएबमोजिम उक्त सेनिटरी प्याड उपलाब्द्ध गराईने गाउँपालिका प्रमुख गोपीलाल सिंतानले जानकारी दिएका छन्।

जनताको समस्या अध्यक्षबाट हुन्छ समाधान, निर्धक्क राखौं हुन्न कुनै व्यवधान भन्ने जनताका लागि गरिएको सार्वजनिक सुनुवाईको नाराबमोजिम नीति कार्यक्रम तथा आगामी आर्थिक वर्षको बजेटमा जनतामैत्री विभिन्न कार्यक्रमहरु अगाडी सारिएको उनले बताए।

यसैगरी विश्वव्यापी कोरोना महामारीको सावधानीका लागि गाउँपालिकाले पाँचै वडाहरुमा निर्माण गरिएको क्वारेन्टाइनमा बस्ने व्यक्तिहरुलाई समय कटाउन र मनोरन्जनका लागि गाउँपालिकाले सबै क्वारेन्टाइनमा डिसहोम र टिभीको व्यवस्था गरेको अध्यक्ष सिंतानले दर्पण दैनिकलाई बताए।

गाउँपालिकाले वडा नं १ चौघरेमा १० बेड र अन्य चार वडाहरुमा ५/५ बेडको सफा र सुविधासम्पन्न बेड निर्माण गरेको छ। क्वारेन्टाइनमा विभिन्न खाडी तथा अन्य राष्ट्रबाट फर्केका ८ जना हाल क्वारेन्टाइनमा रहेका छन्।