बीनीता गुरुङ्ग

संविधान दिवस र यसको कार्यान्वयन सम्बन्धि केहि भन्न मन लागेका कुरा!

Hollywood Khabar September 20,2019 Comments

हामी अहिले संविधान सभाले निर्माण गरेको संविधान जारी भएको (असोज ३, २०७२) हिजो मात्र चौथो वर्ष २०७६ असोज ३ गते मनाएका छौं । वि.सं. २००७ मार्फत विधानसभा निर्वाचनको विषयले नेपालमा चर्चा पाएपनि करिब ६५ वर्षपछि संविधानसभाबाट नयाँ संविधान निर्माण भई लागू भएको खुशीयालीमा चौथो वर्ष २०७६ असोज ३ गते संविधान दिवस मनायौं। संविधानमा भएका अनेकन असन्तुष्टी र असहमतिका बाबजुद पनि नेपालको संविधान अहिले कार्यान्वयनको चरणमा छ ।संविधान मुलुकको मूल कानुन हो, जसका आधारमा सरकार एवं राज्यका प्रमुख अंगहरू सञ्चालन हुने गर्छन् । संविधानमा राज्यका प्रमुख अंगहरूबीच शक्तिको बाँडफाँड, नागरिकका हक तथा अधिकार, सरकार र जनताबीचको सम्बन्ध निर्धारण गरिएको हुन्छ । 

कुनै पनि राजनीतिक वा सामाजिक परिवर्तनपछि लेखिएका संविधान आफैँमा पूर्ण दस्तावेज बन्न नसकेपनि संविधान जन्माउन वा निर्माण गर्न जति कठिन हुन्छ, त्योभन्दा बढी कठिन त्यसलाई जोगाउन र कार्यान्वयन गराउनुमा हुन्छ । त्यसैले संविधान कसले दियो, के–कस्ता विधि र प्रक्रिया अवलम्बन गरियो भन्ने जस्ता प्रश्नमा अलमल नगरी त्यसभित्र अन्तनिर्हित विषयवस्तुलाई हेरी कार्यान्वयनको दिशामा अगाडि बढ्नु अहिलेको आवश्यकता हो । जन्मसँगै पहिलो पटक संशोधन भइसकेको नेपालको संविधान, २०७२ जारी भएको २०७६ असोज ३ गते चार वर्ष पुरा भएको छ । तर, संविधानसभाबाट नयाँ संविधान जारी भएको चार वर्ष बितिसक्दा पनि हामी र हाम्रो संवैधानिक अवस्था कहाँ र कस्तो रूपमा रहेको छ भन्ने कुरालाई यसै भन्न सक्ने अवस्थामा छैनौं।

नेपालको संवैधानिक विकासक्रमलाई हेर्दा वि. सं. २००४ ‘नेपालको संविधान’, २०७२ सम्म आइपुग्दा सातवटा संविधान निर्माण भएका छन् । संविधानलाई आत्मसात गर्न र आम नागरिक कसैले अपनत्व नलिँदा नेपालका विगतमा जारी भएका संविधानहरू टिक्न सकेनन्।राजनीतिक दलका नेताहरू भाषणमा संविधान कार्यान्वयनमा देखिए पनि भित्री ध्यान सरकार,सेवा सुविधा,सरुवा बढुवा बाहेक अरू कुनै कुरामा  ध्यान नदिदा दुई तिहाईको सरकार हुदा नि निरीह र निशतेज देखिन्छ ।अनि कसरी चल्न र टिक्न सक्छ संविधान  बिस्तारै प्रश्न चिन्हहरु खडा हुदैछन? यस्ता गतिविधिहरूबाट संविधान अस्तित्वमा रहेपनि स्थापित संस्थाहरू संविधान बाहिर गई बाटो बिराउने अवस्था सिर्जना हुनगई संविधानवादको मृत्यु हुन सक्छ भन्ने कुरालाई राजनैतिक व्यक्तित्वहरुले नसोचेको मात्र नभई ९० प्रतिशत सभासद्को हस्ताक्षरमा बहुमतले घोषणा गरिएको संविधान भएकै कारणले कतै संविधान दिवस हर्षोलासपूर्वक मनाईरहे भने कतै असन्तुष्ट पक्षहरुले कालो दिवसका रुपमा पनि मनाए।

संविधानले भविष्यको आवश्यकता र चाहनालाई प्रतिविम्बित गर्छ।यस संविधानका केही व्यवस्थाप्रति विवाद,गुनासो र असहमति नभएको होइन,तर कुनैपनि संविधान आफैंमा पूर्ण र सर्वसहमति मूलक हुन सक्दैन।नयाँ संविधानले नेपालको एकात्मक शासन–व्यवस्थालाई संघात्मक व्यवस्थामा परिवर्तन गर्दै सात प्रदेशमा विभक्त गर्ने व्यवस्था गरेर अभ्यासमा समेत ल्याईसकेको छ।तिन तहको सरकार र एकात्मक न्यायप्रणालीलाई अंगालेको यो संविधान आफैमा अलग पहिचानयुक्त छ भन्दा अत्युक्ति नहोला । स्थानीय निकाय, प्रदेश र केन्द्रबीचको सम्बन्ध र समन्वयमा उठेका प्रश्नचिन्हले मुलुकमा अहिले प्राविधिक समस्याहरू धेरै देखा परेका छन् । तर, देशको शासन–व्यवस्था सञ्चालन गर्ने लिखित र सैद्धान्तिक दस्तावेज भनेको संविधान हो, जसका प्रत्येक धाराले नागरिकका अधिकारहरूलाई संस्थागत गराउँछ । सरकारलाई स्थायित्व दिनु, संस्थागत संरचनालाई पूर्णता दिई प्रभावकारी कार्य गर्ने वातावरण तयार गर्नु, निर्वाचन सम्पन्न गरी संघीयतालाई संस्थागत गर्ने, संविधान कार्यान्वयन गर्ने आवश्यक पर्ने ऐन–नियमहरु क्रमश निर्माण गर्दै संविधान कार्यान्वयनको मार्गमा द्रुततर गतिमा अग्रसर भएको जो कोहि आम नागरिकले महसुस गर्न सक्छ । 

तथापि संविधान दिवस मनाईरहदा मनमा केहि कुरा भने नखट्केका होईनन्।संविधान प्रदत्त हक र अधिकारहरु आम नागरिकले सहज र सरल रुपमा उपभोग गर्न पाएको खोइ ? कसलाई के भन्नु ?संबिधान आयो तर संबिधान किताबमा मात्र सिमित भा'को हो कि भने जस्तो भान भएको छ ।संबिधान भनेको के हो? संघीय लोकतन्त्र भनेको के हो? साथै कानुन के हो? भन्ने बारेमा हामीले हाम्रा भोलिका कर्णधारहरु लगायत आम नेपाली नागरिकलाई बुझाउनै सकिरहेका छैनौ भन्ने हिजो भएका सबै कार्यक्रमहरुले प्रष्ट्याईरहेका थिए।

कतै मैन बत्ती बलिरहेका थिए कतै नारा जुरुस त कतै झण्डा बोकेर र्याली।तर ती भन्दा पृथक रुपमा बुढानिलकण्ठ वार्ड नं.३ ले आफ्नो नगरपालिका र वडा भित्रका विध्यालयका भाइ बहिनी साथै शिक्षक साथीहरुलाई संविधान सम्बन्धि जानकारी र ज्ञान बाँढ्ने उद्देश्यले बुढानिलकण्ठ वार्ड न ३,लगायत बुढानिलकण्ठ शैक्षिक मंच साथै ग्लोबल एडोभोकेसी नेपाल समेतको सहकार्यमा संविधान र यसका बिशेषताहरु नाम दिएर गोष्ठी गरेर एक उदाहरणीय कार्य गरेर सरकार लाई नै एक बलियो सन्देश दिएको कार्यले प्रफुलित बनायो।झण्डा बोकेर अनि दिप प्रज्वलन गर्नु भन्दा भविश्यका कर्णधार भाइ बहिनीलाई एकै ठाउमा राखेर संबिधानको बारेमा जानकारी दिन लगाउनु नै वास्तवमा संविधान दिवस मनाएको सार्थकता पुष्टी भईरहेको थियो ।

के यही हों त संबिधान ?कति निर्दोष जनता हरु अझैपनि न्याय पाएका छैनन्। कति निमुखाहरु कानुनको दायराभित्र फसेका छन्।चाहे १% होस् या १००% अपराधी त अपराधी नै हो तर यदि केलाउने नै हो भनेपनि कोहि पनि शुद्ध दुधले नुहाएका कोहि छैनन होला।तर पनि जहाँ गयो त्यही पिडा छ।मानब अधिकारका कुराहरु आउछन्। खोइ कहाँ छ मानब अधिकार? प्रमुख अतिथि पूर्व प्रधानमन्त्री माधब कुमार नेपालले कार्यक्रममा बोल्दै भन्नुभयो। 

हामीलाई कर तिर भनेको छ कर तिर्छौ पनि तर एनसेलले कर चाहि किन तिर्नु नपर्ने रे? सहभागीहरुको आक्रोसले एउटा सन्देह र प्रश्नचिन्ह खडा गरिदए झै लाग्थ्यो  संविधान कार्यान्वयनका बिषयमा । हामी सबै नेपालका नागरिक हौ र हामीलाई यस बारेमा बुझ्न जान्न आवश्यक र जरुरी छ। संविधाको चुरो कुरो र सारमा संविधान र यसको महत्व यसका गुण अवगुणका बारेमा  जानेर संविधान दिवस मनाएको बल्ल सार्थक हुन्छ । ग्लोबल एड्भोकेसी नेपाल र शैक्षिक मञ्चको सहकार्यमा बुढानिलकण्ठ नगरपालिका वडा नं ३ ले गरेको त्यो कार्यक्रमले सायद यहि सन्देश दिन खोजे झै लाग्थ्यो ।